कोरोना संक्रमितको उपचारपछि दुई दिनमै डिस्चार्ज

दाङ–लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी ४४ वर्षीय पुरुषलाई कोभिड–१९ को संक्रमण पुष्टि भयो। होम आइशोलेसनमा बस्दा स्वासप्रश्वास प्रक्रियामा समस्या भयो। अक्सिजन दिएर बिरामी भर्ना गर्नुपर्ने भयो।

त्यसपछि लमही स्थित एचडियू कोभिड अस्पतालमा भर्ना गरियो। निमोनियाका कारण छातीमा संक्रमण भएको पत्ता लागेपछि उपचार थालियो। दुई दिन कोभिड अस्पतालमा औषधि चढाएर अक्सिजन दिइयो । जसले गर्दा शरीरमा अक्सिजनको मात्रा पूरा भयो।

छातीमा देखिएको संक्रमण पनि कम हुँदै गएपछि डिस्चार्ज गरेर घर पठाइएको कोभिड अस्पताल लमहीका प्रमुख पुष्प भुसालले जानकारी दिए।

‘समयमा अक्सिजन र औषधि पाउने हो भने छातीमा हुने थप संक्रमण रोक्न सकिन्छ’, उनले भने, ‘यहाँ भर्ना भएको दुई दिनमा रिकभर भएर डिस्चार्ज गर्ने अवस्थामा हामी पुग्यौँ।’

अक्सिजन दिनुपर्ने संक्रमित भर्ना


लमहीमा २५ बेडको कोरोना अस्पतालको सेवा सुरु भएपछि अक्सिजन दिएर उपचार गर्नुपर्ने बिरामी भर्ना गर्ने गरिएको छ। लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको संयुक्त लगानीमा एचडियू अस्पताल स्थापना गरिएको हो। जटिल प्रकारका संक्रमितलाई यहाँ भर्ना गर्ने गरिएको छ। पहिलो चरणमा १२ बेडबाट उपचार थालिएको छ।

अन्य बेड थपिँदै छ। कोरोना अस्पतालमा बेड नहुँदा संक्रमितको उपचार प्रभावित भएको थियो। बेड कुरेर बस्दा संक्रमितको ज्यान जोखिममा थियो। कोभिड अस्पताल तयार भएको र होम आइशोलेसनमा बस्न नसक्ने अक्सिजन दिएर उपचार गर्नुपर्ने संक्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए।

‘कोभिडको संक्रमण भयाभह अवस्थामा नपुगोस भन्ने चाहन्छौँ। स्वास्थ्य मापदण्डको पालनासँगै जटिल प्रकारका संक्रमितको उपचारलाई सँग सँगै लगेका छौँ’, उनले भने, ‘कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौँ। आवश्यकता अनुसार यसको क्षमता बढाउँदै लैजान्छौँ।’

आइशोलेसन पनि तयार


कोरोना संक्रमित भएको तर, होम आइशोलेसन बस्न नसक्नेहरुका लागी छुट्टै आइशोलेसन तयार पारिएको छ। देउखुरी बहुमुखी क्याम्पसको भवनलाई आइशोलेसनको रुपमा प्रयोगमा ल्याइएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए।

‘एउटा कोठा भाडामा लिएर बस्नुभएका, घर परिवारमा अन्य दिर्घरोगी भएकाहरुको हकमा, गरिब विपन्न परिवारका व्यक्तिलाई होम आइशोलेसन बस्न असजिलो भएको खण्डमा हामीले उहाँहरुको सुविधाको लागि आइशोलेसन सञ्चालमा ल्याएका हौँ’, केसीले भने, ‘हामी सबै तयारीकासाथ यो महामारीको विरुद्धमा डटेर लागेका छौँ।’

 

बैशाख २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्