काेराेना कहर

महामारीमा स्थानीय सरकार: न क्वारेन्टिन, न आइसाेलेशन

साङ्केतिक तस्बिर

वीरगञ्ज – कोरोना स‌क्रमणको हट स्पट बनेको पर्सामा अहिलेसम्म स्थानीय तहहरुले क्वारेन्टिन तथा आइसोलेशन सेन्टर निर्माण गरेका छैनन्।

दिन प्रति दिन जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढे पनि यहाँका स्थानीय तहहरुले रोकथाम तथा नियन्त्रणमा चासो नदेखाएका हुन्।

जिल्लामा रहेको १४ वटा स्थानीय तह मध्ये अहिलेसम्म जम्मा ३ वटा स्थानीय तहले मात्रै आफ्नै पालिकामा आइसोलेशन सेन्टर निर्माण गरेका छन्।

हालसम्म वीरगञ्ज महानगरपालिका, सखुवा प्रसौनी गाउँपालिका र छिपहरमाई गाउँपालिकाले मात्रै आइसोलेशन निर्माण गरेका छन् ।

सखुवा प्रसौनीमा १० बेडको आइसोलेशन निर्माण गरिएको गाउँपालिकाका प्रमुख पदीप जैसवालले जानकारी दिए।

‘सखुवा प्रसौनी गाउँपालिकाले आफ्नै साधन स्रोतबाट अहिले १० बेडको आइसोलशन तयार गरेको छ, १५ बेड थप्ने तयारी गरेका छौँ, ‘जैसवालले भने, ‘नागरिकलाई जोगाउन लागिपरेका छौँ।’

उनले प्रदेश सरकारबाट कुनै सहयोग प्राप्त नभएको गुनासो गरे।

छिपहरमाई गाउँपालिकामा पनि ८ बेडको आइसोलेशन सेन्टर निर्माण गरिसकिएको गाउँपालिका प्रमुख मनोज गुप्ताले जानकारी दिए।

कुनै पनि स्थानीय बासिन्दालाई ज्वरो, खोकी वा कोरोना भाइरस संक्रमणको लक्षण देखा परे गाउँपालिकाले निर्माण गरेको आइसोलेशनमा राखिने उनले बताए।

यसैगरि जिल्लामा सबै भन्दा बढी कोरोना संक्रमित फेला परेको वीरगञ्ज महानगरपालिकाले पनि २ सय बेडको आइसोलेशन निर्माण गरिरहेको छ ।

संक्रमितहरुको उपचारको लागि आइसोलेशन सेन्टर निर्माण कार्य तीव्र रुपमा भइरहेको महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

उक्त आइसोलेशनमा संक्रमितहरुको लागि निःशुल्क खाना तथा बस्न र औषधिसमेत वितरण गरिने सरावगीले बताए ।

वीरगञ्ज महानगरपालिका शुक्रबारबाट २०० बेडको अस्थायी कोभिड अस्पताल स्थापना गरी सञ्चालन गर्ने पनि उनले बताए।

११ स्थानीय तहहरुले आइसोलेशन बनाएनन

संक्रमितहरुको संख्या बढे पनि जिल्लामा रहेका अन्य ११ वटा स्थानीय तहहरुले आफनै पालिकामा आइसोलेशन वा क्वारेन्टिन निर्माण नगर्दा अधिकांश संक्रमितहरु घरमै होम आइसोलेशनमा बस्नुपर्ने बाध्यता रहेको छ ।

अहिले जिल्लामा करिब १४ सय भन्दा बढी संक्रमितहरु घरमै छन्।

जनताको स्वास्थ्य सुरक्षाको लागि पालिकामै आइसोलेशन सेन्टर स्थापना गर्नु अहिलेको मुख्य आवश्यकता रहेको पोखरिया नगरपालिकाकी उपप्रमुख सल्मा खातुनले बताइन्।

तर यसमा कसैले चासो नदेखाएको उनको गुनासो छ।

‘कोरोनाको महामारी छ, अहिले आफ्नै स्थानीय तहमा आइसोलेशन बनाउनु पर्ने हो’, उनले भनिन्, ‘ तर मेरो कुरा नगरपालिकामा कसैले सुनेको छैन।’

बैशाख २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्