युरोपियन च्याम्पियन्स लिग : भोको म्यानचेस्टर सिटीमा प्रशिक्षक गार्डिओलाले रचेको कथा

सिजन २०११/१२, प्रशिक्षक पेप गार्डिओलाका लागि सुखद रहेन। गार्डिओलाले विश्व फुटबलमा यस्तो छाप छाडेका थिए की उनले सम्हालेको क्लबले कुनै न कुनै ठुलो प्रतियोगिताको उपाधि जित्छ।  यो अपेक्षा गार्डिओलाकै कारण बढेको थियो।

आफ्नो प्रिमियर क्लब प्रशिक्षणको पहिलो वर्षमै गार्डिओलाले घरेलु लिग र युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए, बार्सिलोनाका लागि। त्यति मात्र होइन, त्यसपछिका दुई वर्षमा पनि बार्सिलोना लगातार घरेलु लिग च्याम्पियन बन्यो।  थप एकपटक युरोपियन च्याम्पियन पनि भयो। त्यसबीचमा बार्सिलोना एकपटक कोपा डेल रे, २ पटक स्पेनिस सुपर कप, एकपटक युरोपियन सुपर कप र एकपटक क्लब विश्वकप विजेता बनेको थियो।

३८/३९ वर्षे  प्रशिक्षकका लागि यो गर्विलो इतिहाँस थियो। विश्वभरका अन्य क्लबहरु पनि गार्डिओलाको यो सफलताबाट लोभिनु अस्वभाविक थिएन। सन् २०११/१२ सिजन, बार्सिलोना घरेलु लिगमा दोस्रो भयो भने च्याम्पियन्स लिगमा सेमिफाइनलबाटै बाहिरियो। कोपा डेल रे, क्लब विश्वकप, स्पेनिस सुपर कप र युरोपियन सुपर कप जितेपनि त्यस सिजनपछि गार्डिओला बार्सिलोना बस्न चाएनन्।  उनको पहिचान बनिसकेको थियो- घरेलु लिग र युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताउने प्रशिक्षक। जिज्ञासा स्वभाविक थियो- अब गार्डिओला कुन क्लबमा जालान् ?

गार्डिओलाले बार्सिलोना छाडेको वर्ष इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मन-पीएसजीले खास गरेका थिए। इङ्लिस घरेलु लिग प्रिमियर लिगका रुपमा सुरु भएयता म्यान सिटीले पहिलोपटक उपाधि जितेको थियो, त्यस वर्ष। त्यसअघि उसले इङ्लिस लिग अन्तिमपटक सन् १९६८ मा जितेको थियो। अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि लगातार उपाधिबिहिन  बनिरहेको  अवस्थामा प्रिमियर लिगको उपाधि म्यान सिटीका लागि ऐतिहाँसिक खुसीको क्षण थियो।

उता फ्रेन्च लिगमा लगातार उतारचढाव ब्यहोरिरहेको पीएसजी त्यो सिजन उपविजेता बनेको थियो। यो किनपनि उल्लेखनीय थियो भने त्यस सिजन कतार स्पोर्टस इन्भेस्टमेन्टले पीएसजीको स्वामित्व लिएको थियो, घरेलु र युरोपियन च्याम्पियन बन्ने लक्ष्यसहित। त्यसअघि अन्तिमपटक सन् १९९४ मा घरेलु लिगको उपाधि जितेको पीएसजी त्यसबीचमा केही सिजन रेलिगेसनबाट बच्न नै संघर्ष गर्नुपर्ने अवस्थामा देखा परेको थियो। कतार स्पोर्ट्स इन्भेस्टमेन्ट फ्रेन्च क्लबलाई युरोपियन च्याम्पियन बनाउनेस्तरमा भित्रिएको थियो।

एक सिजन आराम गरेर सन् २०१३ मा गार्डिओला बायर्न म्युनिख भित्रिए। अघिल्लो सिजन बायर्नले युरोपियन च्याम्पियन्स लिग जितेकाले गार्डिओलामाथी दबाब थियो, उपाधि रक्षा गर्ने। घरेलु लिगमा बायर्न निर्विकल्पजस्तै थियो। बायर्न चाहन्थ्यो- युरोपियन च्याम्पियन्स लिगमा पकड बलियो बनाउने। ‘ट्रयाक रेकर्ड’का हिसाबले गार्डिओलामाथी अपेक्षा अस्वभाविक थिएन। तर स्थिती सोचेजस्तो रहेन। लगातार तीन सिजन बायर्न घरेलु लिग विजेता मात्र बन्यो, युरोपियन च्याम्पियन्स लिगमा भने फाइनल पनि पुग्न सकेन। क्लबको अपेक्षा पुरा गर्न नसकेपछि गार्डिओला सन् २०१६ मा बायर्न म्युनिखबाट बाहिरिए।

उता इङ्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडको ‘ह्याङ’बाट बाहिर आइसकेको थियो। तर नयाँ शक्तिका रुपमा म्यान सिटी हावी हुँदै थियो। पहिलोपटक घरेलु लिगको उपाधि जितेयता म्यान सिटी हरेक सिजन उपाधि दावेदार बन्न थालेको थियो। प्रिमियर लिगमा सन् २०१२/१३ सिजन उपविजेता बनेको म्यान सिटी लगत्तै अर्को वर्ष भने विजेता बनेको थियो। त्यसपछिका दुई सिजन घरेलु लिग म्यान सिटीका लागि स्मरणीय रहन सकेन।

तर च्याम्पियन्स लिगको सन् २०१५/१६ सिजन म्यान सिटी सेमिफाइनसम्म पुगेपछि क्लबको अपेक्षा नयाँस्तरमा बढेको थियो। नयाँ सिजनका लागि म्यान सिटीले खाली रहेका गार्डिओलालाई भित्र्यायो। फेरी पनि स्गार्डिओलामाथी अपेक्षा थियो- युरोपियन च्याम्पियन बनाउने। पहिलो सिजन स्मरणीय रहन सकेन, घरेलु लिगमा तेस्रो भयो भने च्याम्पियन्स लिगामा नकआउट चरणबाटै बाहिरियो।

तर सन् २०१७/१८ सिजन म्यान सिटीले घरेलु लिगको उपाधि जित्यो, लिग कप पनि जित्यो भने च्याम्पियन्स लिगमा क्वार्टरफाइनलसम्म पुग्यो। सन् २०१८/१९ सिजन पनि म्यान सिटी घरेलु लिग विजेता बन्यो, एफए कप, लिग कप र कम्युनिटी सिल्ड पनि जित्यो। च्याम्पियन्स लिगमा फेरी क्वार्टरफाइनल पुगेर बाहिरियो। गत सिजन म्यान सिटी घरेलु लिगमा दोस्रो भयो। एफए कप र कम्युनिटी सिल्डको उपाधि जितेको म्यान सिटी च्याम्पियन्स लिगमा फेरी एकपटक क्वार्टरफाइनलमै सिमित बन्यो। एफए कपमा सेमिफाइनलबाटै बाहिरियो।

यतिबेला म्यान सिटी आफुले खेल्ने हरेक प्रतियोगिताको उपाधिका लागि दावी गर्दै छ। यो सिजन म्यान सिटीले घरेलु लिगको उपाधि लगभग पक्का गरिसकेको छ। एफए कप पनि जितिसकेको छ। तर योभन्दा बढी, युरोपियन च्याम्पियन्स लिगको फाइनल पुगेको छ, इतिहाँसमै पहिलोपल्ट। बार्सिलोना छाडेयता प्रशिक्षक गार्डिओला पनि पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेका छन्।

युरोपियन क्लब फुटबल च्याम्पियन बन्ने पीएसजीको सपना चकनाचुर बनाउँदै म्यान सिटी फाइनल पुगेको छ। सन् २०१२ यता केवल एक सिजन मात्र घरेलु लिगको उपाधि जित्न नसकेको पीएसजी यसपटक, लगातार दोस्रो सिजन, युरोपियन च्याम्पियन्स लिगको फाइनल पुग्ने प्रयाशमा थियो। गत सिजन उपाधि जित्ने पीएसजीको सपनालाई बायर्न म्युनिखले विफल बनाएको थियो।

क्बलले खेल्ने प्राय सबै प्रतियोगिताको उपाधि जितिरहेका हिसाबले गार्डिओला यतिबेला ‘ट्रयाक’मा देखिन्छन्। बार्सिलोनालाई चार सिजनमा १३ उपाधि जिताएको गार्डिओला आफ्ना तीनै पुराना सफलतातिर फर्कने छाँट देखिदै छ। त्यसका लागि कम्तिमा उनले युरोपियन च्याम्पियन्स लिग जित्नुपर्छ।

बैशाख २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्