काठमाडाैँ – नेपालमा कोरोना संक्रमणको दर बढेसँगै अस्पताल भर्ना हुने बिरामीको संख्या पनि निरन्तर बढिरहेको छ। संक्रमित बिरामीको चाप बढेपछि अस्पतालहरुमा शय्या अभावको समस्या पनि उत्पन्न हुन थालेको छ।

शय्या अभावको समस्या समाधानका लागि विभिन्न अस्पतालहरुमा कोरोना संक्रमित बिरामीहरुका लागि छुट्टै कोभिड वार्ड स्थापना गर्ने क्रम पनि बढिरहेको छ। यसैबीच काठमाडौँको वीर अस्पतालमा पनि कोभिड वार्ड सञ्चालनको तयारी भइरहेको छ।

वीर अस्पताको नयाँ भवनमा कोभिड वार्ड सञ्चालनका लागि आवश्यक काम भइरहेको हाे। नयाँ भवनमा आइसोलेशन सेन्टर स्थापना गर्न हामी नेपाल युथ अर्गनाइजेसनले सहयोग गरेको छ।

आइसोलेशन सेन्टर स्थापनाका लागि जनशत्ति अपुग भएको थाहा पाएपछि आफूहरुले सहयोग गरेको अर्गनाइजेसनमा आवद्ध युवा सुदन गुरुङले बताए।

उनले भने, ‘अस्पतालमा जनशक्ति अपुग भएको खबर पाएपछि हामीले आइसोलेशन सेन्टर स्थापनाको काममा सहयोग गरेका हौँ।’

उनका अनुसार ३०/३५ जना युवाहरुले सरसफाइ गर्नुका साथै सामानहरु ओसार पसार गर्ने तथा बेड मिलाउने काम गरेका थिए।