कोभिड–१९ विरुद्धका खोपको पेटेन्ट राइटमा छुट दिनु पर्ने पक्षमा उभियो अमेरिका

अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पती सम्बन्धी सुरक्षालाई छुट दिनु पर्ने पक्षमा आफू रहेको बताएको छ ।

विश्व व्यापार संगठन (डब्लुटिओ) ले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि बौद्धिक सम्पती सम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाएको हो । त्यसमा आफ्नो समर्थन रहेको अमेरिकाले बताएको हो ।

भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियोन थालिएको हो । यसले विश्वभर खोपको उत्पादन बढाउन सहयोग पुग्ने उनीहरुको भनाई छ ।
तर औषधि उत्पादकहरुले भने यसबाट सोचिए जस्तो प्रभाव पर्नेमा शंका रहेको बताएका छन् ।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइले ‘असाधारण समयमा असाधारण उपायहरुको’ माग हुने बताएकी छन् । तर खोपलाई लिएर सर्वमान्य निर्णयमा पुग्न डब्लुटिओ सदस्यहरुलाई समय लाग्ने सक्ने उनले बताएकी छन् ।

भारत र दक्षिण अफ्रिकाले गएको ६ महिनादेखि खोपको पेटेन्ट राइट पाखा लगाएर सबैलाई उत्पादन अधिकार दिनु पर्ने माग गरिरहेका झण्डै ६० देशको नेतृत्व गरिरहेका छन् डब्लुटिओ भित्र । डोनाल्ड ट्रम्पको शासन कालमा अमेरिकाले त्यसको विरोध गरेको थियो । यस्तै बेलायत र युरोपियन युनियन पनि विरोधमा थिए ।

तर अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि उनी अघिका ट्रम्पले भन्दा फरक मार्ग लिएका छन् । चुनावी अभियानकै क्रममा कोरोना भाइरसविरुद्धको खोपको पेटेन्ट राइटमा छुट दिनु पर्ने बताएका बाइडेनले बुधबार त्यसलाई पुनः दोहोर्‍याएका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले यसलाई कोरोना भाइरसविरुद्धको युद्धमा स्मरणीय क्षण भनेका छन् ।

खोपको पेटेन्ट अधिकारमा छुट दिईँदा त्यसको उत्पादन विश्वका विभिन्न देशमा गर्न सकिने र यसले गरिब देशहरुमा खोप सस्तोमा उपलब्ध गराउन सकिने पक्षधरहरुको भनाई छ ।

पेटेन्ट राइट सुरक्षित रहँदा खोपको ‘कम्पोजिसन’ विकास गर्ने संस्था वा देशलाई मात्रै थाहा हुन्छ । यस्तोमा खोपको उत्पादन सीमित कम्पनी वा देशले मात्रै गर्न पाउँछन् ।

तर पेटेन्ट राइटमा छुट दिएर खोपको कम्पोजिशन अरुलाई पनि उपलब्ध गराउँदा आवश्यकता अनुसार उत्पादन गर्न सकिने र महामारीलाई चाँडो नियन्त्रणमा लिन सकिने धेरै विकासशील देशहरुको भनाई छ ।

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्