विराटनगर – जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञालाई जेठ १ गते राति १२ बजेसम्मका लागि निरन्तरता दिएको छ।

विराटनगरस्थित प्रशासन कार्यालयमा बिहीबार सम्पन्न डिसिसिएमसीको बैठकले जिल्लाको आंशिक क्षेत्रमा लागेको निषेधाज्ञालाई पूर्णता दिँदै जिल्लाभर लागू गर्ने निर्णय गरेको छ।

यसअघि वैशाख १७ देखि २४ गते राति १२ बजेसम्म विराटनगर महानगरपालिका, जहदा र बूढीगंगा गाउँपालिकाका पूरै वडा, कटहरी गाउँपालिकाको आंशिक वडामा निषेधाज्ञा लागू गरिएको थियो। बैठकले कोभिड १९ को दोस्रो लहरलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न प्रत्येक स्थानीय तहले १५ शय्या वा सोभन्दा बढी शैय्या भएको १ अस्पताल, आइसोलेसनको व्यवस्थापन गर्ने निर्णय गरेको छ।

जहाँ एक चिकित्सक, नर्स, स्वास्थ्यकर्मीको टोलीसहित एन्टिजेन परीक्षण र अक्सिजनको व्यवस्था गर्नुपर्नेछ।

त्यसैगरी, बैठकले जिल्लामा आइसोलेसन केन्द्रको आवश्यक्ता महसुस गर्दै त्यसको निर्माणका लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि गरेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए।

प्रजिअ निरौलाले संक्रमित परिक्षणका क्रममा पीसीआर रिपोर्टमा आवश्यक पर्ने अटोमेटिक आरएनए एक्स्ट्राक्सन किट, एन्टिजेन किट, अन्य स्वास्थ्य सामग्री केन्द्र र प्रदेश सरकारमा माग गर्ने निर्णय भएको जनाए।

त्यसैगरी, कोभिड १९ को पुरानो भवनमा रहेको शय्या सञ्चालनका लागि सांसद विकास कोषबाट कोभिड अस्पताल निर्माणका लागि महानगरपालिकाबाट उपलब्ध ३५ लाख रुपैयाँबाट निर्माण अघि बढाउने बैठकले निर्णय गरेको छ।

 

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्