कोरोना प्रभावितलाई राहत प्याकेज ल्याउन कांग्रेसको माग

गोपालमान श्रेष्ठ। तस्बिर: देशसञ्चार

काठमाडौँ – नेपाली कांग्रेसको संगठन विभागले कोरोना प्रभावितहरुका लागि राहत प्याकेट ल्याउन माग गरेको छ।

विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोनाका कारण नागरिकको अवस्था दयनीय भएकाले तत्कालै राहत प्याकेज ल्याउन माग गरेका हुन्।

नेता श्रेष्ठले भनेका छन्, ‘कोभिड १९ महामारीका नियन्त्रण गर्न लगाइएको लकडाउनको कारण सम्पुर्ण व्यापार, व्यवसाय बन्दको अवस्थामा छन्। लकडाउनका कारण रोजगार गुमाएको आम नागरिक, श्रमिक र साना व्यवसायीहरुले भोग्नुपरेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन… हार्दिक आव्हान गर्दछु।’

संगठन विभागले स्वास्थ्य पुर्वाधार र स्वास्थ्य सामग्रीको अभावमा भोग्नुपरेको कठिनाइलाई ख्याल गर्दै सबै प्रकारका सार्वजनिक र सामुदायिक स्थल, सभाहल, रंगशालालाई क्वारेन्टाइन, आइसोलेसन केन्द्र बनाउन सुझाव दिएको छ।

श्रेष्ठले सरकार नागरिकको जीवन रक्षाका लागि भन्दा पनि सत्ताको झिनाझपटमा लागेको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘पिसीआर परिक्षण गरिएका करिब ४७ प्रतिशतमा कोरोनाको सक्रमण पुष्टि भएको पाइएबाट पनि कोभिड १९को महामारीको असर व्यापक र सघन हुने प्रस्ट छ। तर सरकार यस महामारी विरुद्धको लडाइलाई प्रभावकारी बनाउनुको साटो सत्ताको झिनाझपट मै अलमलिएको देखिन्छ।’

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्