काठमाडौँ- बिहीबार रातीदेखि नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदै छ।

अब अन्तर्राष्ट्रिय हवाई उडान कहिले खुल्छ निश्चित छैन। त्यसअघि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार स्वदेश फर्कने र विदेश जानेको चाप बाक्लो देखिन्थ्यो।

वैदेशिक रोजगारीमा छुट्टीमा आएका  र नयाँ जानेहरु,  अस्ट्रेलिया,अमेरिकालगायत देशमा बस्ने र आफन्तलाई भेट्न जानेहरु धेरै देखिन्थे‍। नेपालमा बसिरहेका विदेशीहरुको संख्या पनि उस्तै थियो।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि मन्त्रि परिषद्को गत सोमबार बसेको बैठकले अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउने निर्णय गरेको थियो। भारतसँग मात्र सातामा दुईवटा उडान हुनेछन्। आन्तरिक उडानहरु केही दिनअघि नै बन्द भइसकेको छ।

यसअघि कोरोना महामारीको पहिलो लहरका बेला लागु गरिएको देशब्यापी लकडाउनका बेला पनि अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडानहरु बन्द गरिएका थिए।

आकस्मिकरुपमा गरिएको निर्णय तत्कालै लागु गरिँदा नेपालमा विदेशी र विदेशमा नेपाली ठुलो संख्यामा अलपत्र परेका थिए। नेपालमा अलपत्र परेकालाई चार्टर्ड उडानमार्फत लगिएपनि बाहिर रहेकालाई नेपाल ल्याउन लामो समय लागेको थियो।

यसपटक सरकारले केही दिन अघि नै निर्णय गरेकाले एयरलाइन्सहरुले उडान संख्या बढाएर पनि यात्रु ओसारप्रसार गरेका छन्। नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार बिहीबार २५ वटा विमान यात्रु लिएर नेपाल आउँदैछन् भने २६ वटा विमान नेपालबाट यात्रु लिएर जाँदैछन्। यसअघि बुधबार २१ वटा विमान (उडान) यात्रु लिएर नेपाल आएका थिए।

त्यसअघि दैनिक १२/१५ वटा संख्यामा विमानहरु नेपाल आउने गरेका थिए। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले मध्यपूर्व उडान गर्ने कम्पनीहरुले उडान संख्या थपेको बताए।

विमानस्थलमा बिहिबार भेटिएका केही यात्रुले बिहीबारपछि उडान बन्द गरिएका कारण बढी पैसा तिरेर टिकट अगाडि सारिएको बताइरहेका थिए।

अध्यागमन विभागको तथ्यांकअनुसार हवाई मार्ग भएर बुधबार २ हजार २ सय ९० जना विदेश गएका छन् भने ३ हजार ८ सय ८४ जना नेपाल भित्रिएका छन्। त्यसैगरी, मंगलबार  १ हजार ४ सय ४० जना विदेश गएका छन् भने ३ हजार १ सय ८३ जना नेपाल आएका थिए।

अन्तर्राष्ट्रिय उडान स्थगित भएपनि चार्टर्ड उडान भने हुन सक्ने सरकारले जनाएको छ।

 

तस्विरहरु : वर्षा शाह