बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई संक्रमितको मृत्यु

विराटनगर – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ घण्टाको अन्तरालमा दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

प्रतिष्ठानका सह प्रवक्ता चुरामणि पोखरेलका अनुसार बिहीबार दिउँसो १ बजेर ३८ मिनेटमा धरान उपमहानगरपालिका–३ की ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

उच्च रक्तचापसँगै स्तन क्यान्सरको समस्याबाट पीडित महिलामा वैशाख २१ गते मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।

यद्यपि, उनलाई कोरोना पुष्टि भएको ३ दिनपछि बिहीबार प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारका लागि भर्ना गरिएको सहप्रवक्ता पोखरेलले जानकारी दिए।

यसअघि, बिहान सवा ११ बजे उपचाररत २९ वर्षीय पुरुषको मृत्यु भएको थियो।

सहप्रवक्ता पोखरेलका अनुसार प्रदेश २ सिरहा गोलबजार ६ का पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

सोही दिन विराटनगरको नोबेल शिक्षण अस्पतालबाट रिफर गरिएका बिरामीलाई वैशाख १२ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्