सिरहामा काेराेना संक्रमणको जोखिम बढ्योः तयारी सुस्त

सिरहा – दोस्रो लहरका कोभिड १९ संक्रमण तीव्र फैलिरहँदा सिरहाका स्थानीय तहको तयारी सुस्त छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले स्थानीय तहलाई कोरोना महामारीविरुद्ध तयारी अवस्थामा रहन पटक–पटक आग्रह गरे पनि स्थानीय तहको तयारी प्रभावकारी हुन सकेको छैन।

कतिपय स्थानीय तहको तयारी एकदमै सुस्त छ भने कतिपयले कुनै तयारीसमेत नगरेको पाइएको छ।

प्रदेश २ सरकारले केही दिनअघि प्रत्येक स्थानीय तहलाई क्वारेन्टिन र आइसोलेसन व्यवस्थापन गर्न निर्देशन दिए पनि अझै कार्यान्वयन गर्न सकेको छैन।

कोरोनाको पहिलो लहरमा जोडतोडसाथ क्वारेन्टिन, आइशोलेसन लगायतको तयारीमा जुटेका स्थानीय तहले दोस्रो लहर तीव्र बनिरहँदा नियन्त्रण, रोकथाममा क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा उदासीन रहेको देखिएको छ।

अघिल्लोे वर्ष लकडाउन प्रभावितलाई राहत वितरणसँगै भारतसहित अन्य मुलुकबाट आएकाहरूलाई क्वारेन्टिनमा ल्याउने, संक्रमितलाई आइसोलेसनसम्म पु¥याउने, कन्ट्र्याक्ट ट्रेसिङमा सक्रिय जिल्लाका जनप्रतिनिधिले यतिबेला दोस्रो लहर तीव्र बनिरहँदा तोकेका छैनन्।
संक्रमण दर अघिल्लो कोरोनाको पहिलोभन्दा दोस्रो लहर तीव्र छ।

दोस्रो लहर चलिरहँदा जिल्लामा सक्रिय संक्रमित १२९ पुगेको छ भने चार जनाको संक्रमणकै कारण मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। अहिले दैनिक ४० जना भन्दा बढी नयाँ संक्रमित थपिँदै गएका छन्।

जिल्लाका स्थानीय तहले अहिलेसम्म न क्वारेन्टिन व्यवस्थापन गर्न सकेको छ न त आइसोलेसन र अक्सिजन सिलिन्डरकै व्यवस्था छ।
जिल्लाका स्थानीय तहमा ५–५ शय्याको कोरोना अस्पताल छन्।

त्यसबाहेक थप आइसोलेसन बनाउनेतर्फ अधिकांश स्थानीय तहले अझै ध्यान दिन नसकेको पत्रकार शुभनारायण कामतीको भनाइ छ।
‘ऐन कानुनले स्थानीय तहलाई स्वायत बनाएर जिम्मेवारी थपिएको छ’, उनले भने, ‘जिम्मेवारी स्थानीय तहलाई दिएको छ, त्यसअनुसार जनप्रतिनिधिले काम गर्न सकिरहेका छैनन्।’ जनता संकटमा परेकाले जनप्रतिनिधि सक्रिय हुनुपर्ने उनको सुझाव छ।

भारतीय सीमा क्षेत्रमा भइरहेको आवतजावतलाई रोक्न र भारततर्फबाट आउनेलाई कुन ठाउँमा राख्ने विषयमा स्थानीय तहको कुनै चासो देखिँदैन।
‘दैनिक उपभोग्य सामान लिन भारतीय बजार जाने क्रम अझै रोकिएको छैन’, वरियारपट्टी बजारका शम्भु यादवले भने, ‘भारतीय बजारबाट फर्किनेहरूलाई न होल्डिङ सेन्टर बनाएर राखिने गरिएको छ न त कुनै स्वास्थ्य जाँच नै गरिन्छ।’

बिना जाँच घर फर्किंदा संक्रमण अझ भयावह हुने अवस्था देखिएको उनको कथन छ।

सीमा क्षेत्रमा ओहोर दोहोर गर्नेलाई जाँच गर्दा पोजेटिभ पाइएकाहरूलाई राख्ने ठाउँ नै नरहेकाले बिना पीसीआर जाँचपछि घर फर्काउने गरिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी बताउँछन्।

खुला सिमानाका कारण खुलेआम भारतीय सीमा क्षेत्रमा हुने आवतजावत रोक्ने प्रयास गरे पनि जनप्रतिनिधिले साथ नदिँदा समस्या भइरहेको सशस्त्र प्रहरीको भनाइ छ।

‘अघिल्लो कोरोनाकालमा भारतीय सीमाक्षेत्रबाट हुने आवतजावत रोक्नेदेखि आएकाहरूलाई क्वारेन्टिन बनाएर राख्न जनप्रतिनिधिहरूले अग्रसरता देखाएका थिए’, सशस्त्र प्रहरी बेस क्याम्प बरियारपट्टीका प्रहरी निरीक्षक रुद्र बुढाथोकीले भने, ‘तर यसपालि खासै जनप्रतिनिधिको त्यस्तो सक्रियता देखिँदैन।’ जनप्रतिनिधि सक्रिय नहुँदा जोखिम बढ्दै गएको उनको भनाइ छ।

खासगरी जिल्लामा भारतीय सीमासँग जोडिएका प्रमुख ४ वटा नाका छन्। मुख्य नाका माड्रसँगै ठाडी, बरियारपट्टी र झाँझपट्टी नाका छन्।
ती सबै नाकामा हेल्थ डेस्क स्थापना गर्नुबाहेक स्थानीय तहले खासै कुनै तयारी नगरेको स्थानीयको गुनासो छ।

अघिल्लो कोरोना कालको जस्तो अहिले परिस्थिति आइनसकेकाले क्वारेन्टिन र आइसोलेसन नबनाएको सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवले बताए। ‘सीमानाका सिल गरिएकाले भारतबाट नेपाल आउनेको संख्या न्यून मात्रै छ’, उनले भने, ‘त्यसैले क्वारेन्टिनको अहिलेसम्म आवश्यकता परेको छैन, कसैलाई पनि आइसोलेसनमा राख्नुपर्ने स्थिति आएको छैन।’

क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्ने विषयमा छलफल भइरहेको उनले बताए।

गाउँपालिकाभित्र कोरोना संक्रमण पुष्टि भए तत्काल कन्ट्याक्ट ट्रेसिङ गर्न केही थान आरडिटी किट खरिद गरेर राखेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए।

सदरमुकामसमेत रहेको सिरहा नगरपालिकाले संक्रमण बढ्दै जाँदा क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनसँगै कन्ट्याक्ट ट्रेसिङको योजना बनाएर अघि बढिरहेको छ।

उनले भने, ‘जिल्लामा रहेको कोभिड अस्पतालमा आइसोलेसन बेड थप्ने र आईसीयू तथा भेन्टिलेटरको व्यस्था कसरी मिलाउने विषयमा नियमित छलफल भइरहेको छ, हामीले गर्नुपर्ने अन्य पूर्व तयारीको काम गरिरहेका छौं।’ सदरमुकामसमेत भएकाले गर्नुपर्ने दायित्व आफूहरूलाई बढी तर त्यसअनुसारको अन्य स्थानीय तहबाट सहयोग नपाएको उनको दुखेसो थियो।

अन्य स्थानीय तहभन्दा कोरोना रोकथाम र नियन्त्रणको पूर्व तयारीमा अगाडि देखिएको सिरहाको बरियारपट्टी गाउँपालिकाले क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनका लागि चाहिने सामान खरिद गरिसकेको जनाएको छ।

‘यसअघि अघिल्लो कोरोनाकालमा रहेको ठाउँमै क्वारेन्टिन र आइसोलेसन राख्ने निर्णय गरिसकेका छौं’, गाउँपालिका अध्यक्ष सन्तोष मेहताले भने, ‘त्यसअनुसार चाहिने खाट, झुललगायत सामान खरिद गरिसकेको र छिट्टै क्वारेन्टिन र आइसोलेसन बेड तयार पार्छांै।’

तत्कालका लागि ५ अक्सिजन सिलिन्डरसमेत खरिद गरेर गाउँपालिकामा रहेको ५ शय्याको कोभिड अस्पताललाई उपलब्ध गराएको गाउँपालिका अध्यक्ष महेताले जानकारी दिए। उनका अनुसार कन्ट्याक्ट्र ट्रेसिङका लागि चाहिने किट ४ सय थान गाउँपालिकासँग सुरक्षित छ।

जिल्लामै सबैभन्दा बढी कोरोना संक्रमित रहेका गोलबजार नगरपालिकाले पनि क्वारेन्टिन र आइसोलेसन बनाउन नसक्दा संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन्।

नगर क्षेत्रमा संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले २५ शय्याको कोभिड अस्पताल बनाउन थालिएको नगरप्रमुख देवनाथ साहको भनाइ छ।

‘संक्रमण दर बढ्दै गएपछि हामीले तत्कालका लागि २५ शय्याको कोभिड अस्पताल नै बनाउन जुटेका छौं,’ उनले भने, ‘१५ दिनभित्र उक्त अस्पताल निर्माण हुन्छ।’ नगरपालिकाले होम आइसोलेसनमा बसेका नगर क्षेत्रका ५२ संक्रमितलाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्दै आएको उनले जानकारी दिए।

बढ्दो कोरोना कहरलाई ध्यानमा राखी बजेट अभावको बाबजुद तत्कालका लागि जिल्ला अस्पतालको मातहतमा रहने गरी हाल सिरहामा २६ शय्याको कोभिड १९ अस्पताल तयार पारिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए।

सो अस्पतालमा अक्सिजन प्लान्टसहित ५ शय्याको आईसीयू र २ शय्याको भेन्टिलेटर बेड तयारी अवस्था राखिएको छ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालिए पनि प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा थप आइसोलेसन शय्या थप्नेलगायत अपेक्षाकृत रुपमा पूर्वतयारीको काम गर्न नसकिरहेको उनले बताए।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले विभिन्न शीर्षकमा प्रदेश सरकारसँग ४७ लाख माग गर्ने निर्णय गरी पठाए पनि हालसम्म बजेट प्राप्त नहुँदा समस्या भएको प्रजिअ कँणेलको भनाइ छ।

डिसिसिएमसीले जोखिम न्यूनीकरणका लागि २० लाख, सीआईसीटी मोविलाइजेसन शीर्षकमा १० लाख, अत्यावश्यक औषधि खरिद गर्न २० लाख र एम्बुलेन्स तथा शव वाहन परिचालन गर्न ७ लाख प्रदेश सरकारसँग माग गरेको जनाएको छ।

स्थानीय तहलाई आवश्यक पर्ने औषधि, जनशक्ति, सामग्री र स्वास्थ्य उपकरणको पर्याप्त बन्दोबस्त मिलाउनसमेत निर्देशन दिएको उनले बताए। दोस्रो लहरको संक्रमणका कारण जिल्लामा १७४ जना संक्रमित छन् भने चार जनाको मृत्यु भइसकेको छ।

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्