व्यावसायिक सोच विकास भएनः व्यवसायी बतास

काठमाडौँ – उद्योगी आनन्द बतासले नेपाल राजनीतिक परिवर्तन अनुसार व्यावसायिक वातावरण बन्न नसकेको अनुभव सुनाएका छन्।

देशमा राजनीतिक चेतना र अधिकारको विषयमा निकै अगाडि बढे पनि व्यवसायिक वातावरण भने बन्न नसकेको बताएका हुन्।

पूर्वमन्त्री दिवंगत रवीन्द्र अधिकारीको ५२औँ जन्मदिनको उपलक्ष्यमा आयोजित भर्चुअल कार्यक्रममा उनले विकासको सन्दर्भमा ‘आउट अफ द बक्स’ मानसिकता विकास गर्नुपर्ने बेला भएको धारणा व्यक्त गरे।

नेपालमा पछिल्ला वर्षमा व्यवसायिक र दीर्घकालीन काम भन्दा पनि सस्तो लोकप्रियताको होड चलिरहेको व्यवसायी बतासको भनाइ छ। उनले भने, ‘समाजको बौद्धिक विकास, सकारात्मक सोचको विकासमा हराउँदै गएको छ।’

पर्यटन, ऊर्जा, कृषि, जडीबुटी वा अन्य विषयमा पर्याप्त बहस कुराकानी भए पनि वास्तविक अवस्थामा भने अझै बन्न नसकेको उनको भनाइ छ। जलविद्युत् क्षेत्रमा पनि व्यवसायीले अझै सुरक्षित महसुस गर्न नसकेको बतासले उल्लेख गरे।

निजी क्षेत्रको लगानीबाट ७५० मेगावाट राष्ट्रिय ग्रीडमा जोडिसकेको र आउँदो दुई वर्षभित्रमा १५ सय मेगावाट राष्ट्रिय ग्रीडमा जोडिने उनको भनाइ छ।

बतासले भने, ‘देशको विकासमा निजी लगानीकर्ताले गरेको योगदान हो भन्ने कुरामा पछि पर्न हुँदैन। तर, दुर्भाग्य जलविद्युत्मा लगानी गर्नु भनेको सायदै माओवादीको १२ वर्षे द्वन्द्वभन्दा सजिलो छैन।’

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्