भरतमोहन अधिकारी फाउण्डेशनले ज्येष्ठ नागरिक पढाउने

स्व. भरत मोहन अधिकारी

काठमाडौँ – भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्वर्गीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको ८६ औं जन्म जयन्तीका अवसरमा आयोजित भर्चुअल कार्यक्रम मार्फत शैक्षिक कार्यक्रम घोषणा गरिएको हो ।

फाउण्डेशनका तर्फबाट भरतमोहनकी पुत्री लीमा अधिकारीले ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक कार्यक्रम’ घोषणा गरिन् । उनले निरक्षरताका कारण विभिन्न अवसरबाट बञ्चित ज्येष्ठ नागिरकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइन् ।

एक वर्षे शैक्षिक कार्यक्रम मार्फत निरक्षर ज्येष्ठ नागरिकालई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाइने अधिकारीले बताइन् ।

पहिलो चरणमा ललितपुरको बुङ्मतीमा ज्येष्ठ नागिरकका लागि आधारभूत शैक्षिक कार्यक्रम सुरु गरिनेछ । तत्काल प्रदेश तीन र क्रमशः सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आधारभूत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखिएको उनले बताइन् ।

 

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्