अक्सिजन नहुँदा उपचारमा समस्या: अल्का अस्पताल

काठमाडौँ – ललितपुरको ज्यावलाखेलस्थित अल्का अस्पतालले अक्सिजन आपूर्तिमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ।

अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाइ हुँदा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा समस्या भएको भन्दै अक्सिजन आपूर्तिमा सहजीकरण गर्न आग्रह गरेको हो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपेन्द्र पोखरेलले अस्पतालमा बिरामीको संख्या बढ्दै जाँदा अक्सिजन आपूर्तिमा कठिनाइ भएको जानकारी दिए।

‘अक्सिजन अभावका कारण अस्पतालमा कारोना संक्रमितको उपचारमा समस्या देखिन थालेको छ, अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा अक्सिजन आपूर्तिमा समस्या थपिँदै गएको छ, हामीले बिरामीको उपचार कसरी गर्ने ?’ उनले भने।

उनका अनुसार अस्पतालमा दैनिक १५० अक्सिजन सिलिन्डर आवश्यक भएकामा अस्पतालले ४४ सिलिन्डर आन्तरिक उत्पादनबाट व्यवस्था गर्दै आएको छ।

अक्सिजन सहज रूपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बाग्मती प्रदेश सरकार, स्थानीय प्रशासन तथा स्थानीय तहलाई आग्रहसमेत गरेको छ।

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्