वीरगन्जमा सय बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले निर्माण गरेको सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको छ।

शुक्रबार एक कार्यक्रमबीच महानगरका प्रमुख विजय सरावगीले अस्थायी कोभिड अस्पताल उद्घाटन गरेका छन्।

उद्घाटनसँगै उक्त अस्थायी अस्पतालमा शुक्रबारदेखि नै कोभिडका बिरामीलाई भर्ना गर्न थालिएको छ।

वीरगन्ज महानगरपालिकाले गोपालमण्डली धर्मशालामा उक्त अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ।

सय बेडको कोभिड अस्पताल, सय बेडको आइसोलेसनमा संक्रमितका लागि औषधि, अक्सिजन, खाना, नास्ताको व्यवस्था निःशुल्क गरिएको छ।

यसमा ३० वटा क्याबिन बेडसमेत राखिएको छ। कोभिड अस्पतालमा कोभिड केस हेर्ने विशेषज्ञ डाक्टर डिएम १ जना, एमडी मेडिकल २ जना, मेडिकल अफिसर ५ जना, प्यारामेडिकल स्टाफ २१ जना, सरसफाइकर्मी ८ जना र प्रशासनिक कर्मचारी १० जनाबाट सञ्चालन गरिनेछ।

यसैबीच, सय बेडको अस्थायी कोभिड अस्पतालमा पहिलो कोरोना संक्रमित बिरामीको रूपमा महानगर उपप्रमुख शान्ति कार्की भर्ना भएकी छन्। उपप्रमुख कार्कीमा तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्