कोरोना कहरः नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको मृत्यु

राँझा – कोरोना संक्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी इम्तियाज, एजाज र जहिर अहमद छन्।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरूको एक–एक दिनको अन्तरालमा मृत्यु भएको हो। जहिरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो।

शुक्रबार बिहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए। सात दाजुभाइमध्ये जहिर कान्छा, एजाज राइलो र इम्तियाज काइलो हुन्।

उनीहरू सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। नेपालगञ्जको बीपीचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीबार र इम्तियाजको शुक्रबार मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाइको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए।

बिहीबार राति मात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको थियो।

हालसम्म बाँकेमा संक्रमणबाट मृत्यु हुनेको संख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ।

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्