जनकपुर प्रादेशिक अस्पतालमा ८ वटा भेन्टिलेटर जडान गरिँदै

जनकपुरधाम – प्रादेशिक अस्पताल जनकपुरधाममा थप ८ वटा भेन्टिलेटर सञ्चालनमा आउने भएको छ।

प्रदेश २ सरकारले प्रादेशिक अस्पताललाई दिएको ८ वटा नयाँ भेन्टिलेटर शनिबारदेखि सञ्चालनमा आउने भएको छ। प्रादेशिक अस्पतालसँग ५ वटा भेन्टिलेटर रहेकोमा सबै बिग्रिएपछि प्रदेश सरकारले ८ वटा नयाँ भेन्टिलेटर उपलब्ध गराएको छ।

प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोद यादवले भेन्टिलेटर जडानको काम शुक्रबार अबेर रातिसम्म सम्पन्न जानकारी दिए।

डा. यादवले अस्पतालमा भेन्टिलेटर नहुँदा ठूलो समस्या भएको बताए। उनले प्रदेश सरकारले उपलब्ध गराएको नयाँ भेन्टिलेटर जडान गर्ने काम भइरहेको बताए।

शुक्रबार अबेर रातिसम्म भेन्टिलेटर जडानको काम पूरा हुने भएकाले शनिबारदेखि सञ्चालनमा आउने उनले बताए।
प्रादेशिक अस्पताल जनकपुरधाममा यसअघि ९ वटा भेन्टिलेटर थियो।

जसमा ५ वटा अस्पतालमा भर्ना भएका बिरामीको उपचारका लागि र बाँकी ४ वटा ट्रान्सपोर्ट भेन्टिलेटर थिए।

५ वटा भेन्टिलेटरमध्ये ३ वटा भेन्टिलेटर पहिलेदेखि नै बिग्रिएको र एउटा यस वर्ष बिग्रेको थियो भने बाँकी रहेको एउटा भेन्टिलेटर बिहीबार बिग्रेको थियो।

मेसु यादवले बिग्रिएका भेन्टिलेटर बनाउने प्रक्रिया अगाडि बढाइए पनि त्यसका पार्ट्स् नेपालमा उपलब्ध नभएको बताए।
प्रादेशिक अस्पताल जनकपुरधाममा हाल ३१ जना कोरोनाको बिरामीलाई अक्सिजनसहित राखिएको छ।

३१ जनामध्ये १९ जनालाई आईसीयूमा राखिएको र बाँकी ५ जना संक्रमित बेडको पर्खाईमा छन्।

 

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्