कोरोना रोकथाम गर्न महालक्ष्मी नगरपालिका सक्रिय

ललितपुर– पूरै मुलुकलाई नै आक्रान्त पारिरहेको कोभिड–१९ महामारीको चपेटामा नगरवासीलाई पर्न नदिन महालक्ष्मी नगरपालिकाले जनचेतना लगायतका कार्यहरूलाई तीव्रता दिएको छ।

जनचेतना जगाउन १० वटै वडामा नगरपालिकाले माइकिङ सुरु गरेको छ।

नयाँ भेरिएन्टको कोरोना भाइरस ७० प्रतिशतसम्म फैलन सक्ने भएकाले नगरवासीलाई बढी होसियारी अपनाउन आग्रहगर्दै माइकिङ गर्न थालिएको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए।

‘यो काममा प्रत्येक वडाका जनप्रतिनिधि, टोलटोलमा रहेका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका लगायत लाग्नुभएको छ। समय साँच्चै चुनौतीपूर्ण बनेको छ,’ उनले भने।

‘नगरपालिकाले गर्नुपर्ने आवश्यक काम त गरिहाल्छ, यो विषम परिस्थितिमा नगरवासीका तर्फबाट सचेतता अपनाउनु जरुरी छ।’

यसका लागि नगरपालिकाले १९ बँुदे अपिल सार्वजनिक गरेको, जसमा आफूलाई कोरोना संक्रमण नहोस् भन्नका लागि नगरवासीले कस्ता काम गर्न हुने र कस्ता काम गर्न नहुने भनी जानकारी गराइएको, उक्त अपिल सम्पूर्ण नगरबासी माझ पु¥याउने काम भइरहेको पनि उनले बताए।

नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको छ।

नगरपालिकाको विशेष पहलमा किष्ट हस्पिटलमा चलाइएको खोप अभियान कार्यलाई पीएसजीमा समेत सञ्चालनमा ल्याइएको छ। नगरपालिका भित्र ३० बेड क्षमताको अक्सिजन सहितको युनिट स्थापनाको कार्य अगाडि बढाइएको छ।

त्यसलाई ५० बेड क्षमतामा विस्तार गर्न टेक एन्ड केयर हस्पिटलसँग सहकार्य गरी केही दिनमा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि नगर प्रमुख श्रेठले जानकारी दिए।

उनका अनुसार नगरपालिका भित्र कोही संक्रमितलाई उपचारका लागि अस्पतालसम्म पु¥याउन छुट्टै एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ । नगरपालिकाका १० वटै वडामा रहेका कोरोना संक्रमितका लागि यो सेवा उपलब्ध गराइएको छ।

उनले थपे, ‘कन्ट्याक्ट ट्रेसिङलाई पनिप्राथमिकतादिएका छौं ।नगरपालिकाले एन्टिजेन परीक्षण सुरु गरिसकेको छ। एन्टिजेनबाट शंकालागेमा पीसीआर टेस्टको समेत व्यवस्थानगरपालिकाले गरेको छ।’

नगरपालिकाले सबै वडामा एक–एक स्वास्थ्यकर्मीसमेत खटाएको छ। होम आइसोलेसनमा रहेका नगरवासीहरुको सुरक्षाको प्रत्याभूति गर्नका लागि र कोरोना भाइरसको नयाँ भेरिएन्टबारे जोकोहीलाई बुझ्नुपरेमा नगरपालिकाले चौबीसै घण्टा चार जना डाक्टरबाट परामर्श दिने काम गरिरहेको छ।

‘आजको दिनसम्म ३०० जनाभन्दा बढी नगरवासीले यो सेवा लिइसक्नुभएको छ,’ श्रेष्ठले जानकारी दिनुभयो, ‘होम आइसोलेसनमा रहनुभएका नगरवासीहरुको मानसिक अवस्थालाई ध्यानमा राख्दै एक जनामनोचिकित्सकको पनि चाँडै व्यवस्था गर्ने योजनामा छौं।’

नगरपालिकाले निम्न आर्थिक अवस्था भएकालाई रोजगारी दिने र नगरपालिका भित्र कसैले पनि भोकै रहनु नपरोस् भनेर खाद्यान्नको समेत व्यवस्थापन गरिरहेको नगर प्रमुख श्रेष्ठले बताए।

‘यो कठिनाइको घडीमा सम्पूर्ण नगरवासीको पछाडि नगरपालिका हरदम खडा छ भनीआश्वस्तपार्न चाहन्छौं,’ उनले भने।

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्