सहरी विकासमन्त्री साहद्वारा ललितपुरको गोदावरीमा निर्माणाधीन सिटीहल निरीक्षण

काठमाडौँ – सहरी विकासमन्त्री प्रभु साहले ललितपुरको गोदावरीमा निर्माणाधीन नेपालकै सबैभन्दा ठूलो सम्मेलन हल ‘सिटीहल’को निरीक्षण गरेका छन्।

एक सातापछि प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी गरिएको सो सिटीहलको शुक्रबार मन्त्री साहले निरीक्षण गरेका हुन्।
मन्त्री साह मन्त्रालय र विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका कर्मचारीसहित सिटीहलको निरीक्षणमा गएका हुन्।

निरीक्षणको क्रममा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अधिकारीले भवन निर्माणको प्रगतिबारे मन्त्रीलाई ब्रिफिङ गरेका थिए।

०७६ कात्तिक २० गते निर्माण सम्झौता भएको सो भवन निर्माणका सम्पन्नका लागि म्याद थपसहित २०७७ चैत मसान्त सम्मको समय दिइएको थियो। गोदावरी नगरपालिका–३ स्थित ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाइएको सो सिटी भवनको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ।

३ रोपनी क्षेत्रफलमा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैचा तथा हरियाली र १३ रोपनीमा पार्किङ र अन्य कार्यका लागि छुट्याइएको छ।
ध्वनि अवशोषित, भूकम्पप्रतिरोधी सो सिटी हलमा कम्तीमा पनि ३ हजार जना सहभागी भएर बैठक गर्न सक्नेछन्।

भवनभित्र २ वटा भिभिआईपी कक्ष बनाइएको छ।

आयोजना निरीक्षणपछि सहरी विकास मन्त्रालयका सचिव ई. रमेशप्रसाद सिंहले आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएकाले वैशाख ३१ गते प्रधानमन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए।

उदाउँदो सूर्यको आकृतिमा बनाइएकाले यसलाई गोदावरी सनसाइज नाम दिइएको उनको भनाइ छ।

केसी समानान्तर जेभी काठमाडौंले निर्माण ठेक्का लिएको यो आयोजनाको निर्माण सम्झौता रकम ६५ करोड ७४ लाख ८७ हजार २ सय ९१ रुपैयाँ र भेरिएसनसहित ८१ करोड, ६ लाख ४ सय ३ रुपैयाँ छ।

आयोजनाभित्र हुने आन्तरिक सडक निर्माण, बगैँचा तथा हरियालीको पूर्वाधार, कुर्सी, हलको साजसज्जालगायत काम बाँकी नै छन्।
सिटीहल अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ दशमलव ८ किमि र चक्रपथबाट ९ दशमलव ५ किमि दूरीमा छ।

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्