कामी रिताले गरे २५ औँ पटक सगरमाथा आरोहण

यो वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथामा पुगेको कामी रिता शेर्पासहितको टोली । तस्बिरः सेभेन समिट ट्रेक

काठमाडौँ- कीर्तिमानी आरोही कामी रिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको २५ औँ पटक सफल आरोहण गरेका छन्।

वसन्त ऋतुको आरोहण अन्तर्गत सगरमाथा आरोहीका लागि डोरी व्यवस्थित गर्ने क्रममा कामी रिता सहितका १२ जना शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन्।

सर्वोच्च शिखर सगरमाथाको उचाइ थपिएपछि पहिलो आरोहण गर्ने टोली बनेको छ कामी रिता सहितको शेर्पाहरुको समूह । उनीहरु यो सिजनको आरोहणका लागि मार्ग बनाउँदै विश्वको सर्वोच्च शिखरमा पुगेका हुन् ।

८ हजार ८४८.८६ मिटर उचाइको सगरमाथा शिखरमा कामी रितासहितको शेर्पा टोली नेपाली समय अनुसार शुक्रबार बेलुका ६ बजे पुगेको सेभेन समिट ट्रेकका सञ्चालक मिग्मा शेर्पाले जानकारी दिएका छन् ।

आरोहण गर्नेमा कामी रिता सहित फुर्तेन्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, ङ्गीमा तेन्जी शेर्पा, मिङ्गमा तेन्जी शेर्पा, फुरा छिरिङ्ग शेर्पा, तेन्जिङ्ग शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ्ग ग्याल्जेन शेर्पा, फुर्बा छोतार शेर्पा, मिङ्गमा दोर्ची शेर्पा र फुर्बा कुसाङ्ग शेर्पा रहेका छन् ।

यो वर्ष सगरमाथा आरोहणका लागि पर्यटन विभागले ४०८ जनालाई अनुमति दिएको छ । कामी रिता शेर्पासहितको टोलीले मार्ग बनाएसँगै अब अरु आरोहीहरु पनि शिखर तर्फ जाने छन् ।

कीर्तिमानी २५ औँ पटक तथा ०.८६ मिटर उचाई थपिएको सगरमाथामा पहिलो आरोहण गर्ने कीर्तिमान कामी रिताले आफ्नो नाममा लेखाएका हुन् ।

पहिलोपटक सन् १९९४ को मे १३ मा सगरमाथा आरोहण गरेका कामी रिताले त्यसयता २५ पटक उचाइ चुमेका हुन् । उनले केटू र लोत्से एक पटक, मनास्लु तीन पटक तथा चोयू हिमाल ८ पटक आरोहण गरेका छन् । उनी ८ हजार मिटर माथिका हिमाल सबैभन्दा धेरै पटक आरोहण गर्ने आरोही हुन् ।

 

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्