सरकारको ध्यान : देशभर अस्पताल र त्यसमा रहेका आइसियू र भेन्टिलेटर कति छन् ? अक्सिजनको क्षमता कति छ ?

काठमाडौं – कोरोना महामारीका कारण देशको स्वास्थ्य प्रणाली नै असफल देखिएपछि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयको मातहतमा रहेको कोभिड-१९ सहजिकरण समितीमा देशभर रहेका अस्पताल र तीनमा रहेका भेन्टिलेटर र आईसीयूबारे छलफल भएको छ। बैठकमा विभिन्न मन्त्रालयअन्तर्गतबाट अपडेट लिइएको थियो।

शुक्रबार साँझ जारी विज्ञप्तीमा  देशभर ४ सय ९३ अस्पताल रहेको, २० हजार ३ सय ६१ शैय्या रहेको, एक हजार ८ सय १७ आईसीयू रहेको, ७ सय ३६ भेन्टिलेटर रहेको, २ हजार ८ सय ६५ वटा एचडीयू रहेको र निजी क्षेत्रबाट सन्चालिन २६ वटा प्लान्ट रहेको उल्लेख छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार एक हजार १ सय ५ आईसीयू र २ सय ९३ वटा भेन्टिलेटर हाल प्रयोगमा रहेका छन्। बैठकमा देशभर रहेका अक्सिजन उधोगहरुको अनुगमन गरि पूर्ण क्षमतामा सन्चालन गर्ने/गराउने, अक्सिजन उधोगहरुमा विधुत तथा खानेपानीको नियमित आपुर्ती गर्ने, उधोग तथा निर्माण क्षेत्रमा रहेका सिलिण्डरहरु सम्बन्धित ग्याँस उधोगलाई फिर्ता गर्ने विषयमा छलफल भएको जनाइएको छ।

यसैगरि सर्वसाधारणले कुन अस्पतालमा कुन समयमा कति शैय्या छन् भनेर हेर्न सक्ने व्यवस्था मिलाउने र आवश्यक पर्दा विरामी लैजान सक्ने व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको थियो। अक्सिजन सुविधासहितको बेड संख्या थप गर्नेलगायत विषयमा पनि छलफल भएको जनाइएको छ।

चीनबाट प्राप्त हुने अक्सिजन सिलिण्डरको पहिलो लट लिन नेपाल एयरलाइन्सको विमान सोमबार त्यहाँ प्रस्थान गर्ने र चीनबाटै प्राप्त हुन लागेको ४० वटा भेन्टिलेटर, २० वटा अटोमेटेड एनालाइजर, १० वटा डीआर मेसिन, २० वटा पोर्टेबल अल्ट्रा साउण्ड, ३० वटा एनेस्थेसिया मेसिन एक साताभित्र तातोपानी नाकामा आइपुग्ने जनाइएको छ। यसैगरि एस्ट्रेजेनेका भ्याक्सिन सहयोगका लागि अमेरिकासँग कुरा भइरहेको विज्ञप्तीमा उल्लेख छ।

यसैगरि एक डोज मात्र लगाएपुग्ने र ९० प्रतिशत प्रभावकारी रहेको भनिएको रुसी भ्याक्सिन स्पुतनिक लाइटबारे रुसको सम्बन्धित निकायसँग बुझ्ने काम भइरहेको जनाइएको छ।

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्