घोराहीले थप ५० सिलिन्डर अक्सिजन किन्ने, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

फाइल तस्बिर।

दाङ– घोराही उपमहानगरपालिकाले तत्काल थप ५० वटा अक्सिजन सिलिन्डर खरिद गर्ने निर्णय गरेको छ।

नगर कार्यपालिकाको बैठकले कोरोना संक्रमित बिरामीको संख्या बढ्दै जाँदा अक्सिजनको समेत माग बढेकाले तत्काल थप ५० वटा सिलिन्डर अक्सिजन खरिद गर्ने निर्णय गरेको हो।

उपमहानगरपालिकाले दुई दिन पहिले ५० वटा सिलिन्डर खरिद गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको थियो। बैठकले अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालको संयोजकत्वमा वडा नम्बर १४ अध्यक्ष शक्तिराम डाँगी र वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डे सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको छ।

घोराही उपमहानगरपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सँग सम्झौता गरेको छ। जस अनुसार १० लाख रुपैयाँ र ५० वटा अक्सिजनका सिलिन्डर हस्तान्तरण गरि सकिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए।

यसैविच बैठकले होमआइसोलेशनमा बसेका कोरोना संक्रमितहरुको अबस्था बुझ्न र मनोसामाजिक परामर्शको कामलाई यथाशीघ्र सञ्चालन गर्न र प्रभावकारी बनाउन जिम्मेवारी पाएका स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ।

यसरी खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ताको व्यवस्था गर्ने र त्यसको निगरानी तथा मूल्यांकन वडा कार्यालयले गर्ने निर्णय भएको छ।

उक्त निगरानी र मूल्यांकनको आधारमा स्वास्थ्यकर्मीले प्राप्त गर्ने जोखिम भक्ता भुक्तानी भने वडाको सिफारिसमा गर्ने निर्णय बैठकले गरेको उपमहानगरका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिए।

 

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्