एउटा मजदूर दम्पतीको दैनिकी

‘चिन्ता कोरोनाको होइन, छोरीलाई डाक्टर बनाउन नसकुँला कि भनेर लाग्छ’

श्रीमान राजु सुनारका साथमा अरुणा।

ललितपुर – निषेधाज्ञा जारी भएयता सिंगो बालकुमारी टोल सुनसान बन्दै गए पनि छेवैमा घर बनाइरहेकाहरु बीच दिनभर चहलपहल देखिन्छ। त्यो दृश्यमा केही मजदुरी गरिरहेका पुरुषहरु छन् भने एकजना महिला छिन्। उनी प्रायः पिठ्युँमा थुन्सेको भारी उठाएरै यताउता गरिरहेकी देखिन्छिन्।

बाँकीका पुरुषहरु बीच अनेक संवाद हुन्छ, महिला चुपचाप एक्लै। अरुहरुमाझ हाँसो ठट्टा चलिरहन्छ, उनी टुलुटुलु हेर्दै भारी बोकिरहन्छिन्।

सारा दुनियाँ कोरोना कहरले घरभित्रै थुनिएको बेला यसरी एक्लै मजदुरी गरिरहेकी महिला को रहिछन्? यसरी जोखिम मोलेर मजदुरी गर्नुको पछाडि के कारण रहेछ? म जिज्ञासु बनेँ।

सुरुमा अलमलिएजस्तो गरिन्। छेवैमा मजदुरी गरिरहेका पुरुष उनका श्रीमान रहेछन्। उनीतिरै हेरिन्। श्रीमान्ले अनुमति दिए। उनी कुरा गर्न थालिन्।

‘मेरो नाम अरुणा सुनार हो,’ उनले परिचयको सुरुवातमै ढ्यांग्रो ठोकिन्, ‘माइतीको हिसाबले चाहिँ अरुणा नेपाल।’

अरुणाको माइती थानकोटमा छ। त्यहिँ करिब एघार वर्षअघि एकजना २० वर्षे युवक भाडामा बस्न आइपुगे। धादिङको गल्छी बैरेनी घर भएका ती युवक न्यूरोडतिर कम्प्युटर पसलमा काम गर्थे। दिनभर काममा जान्थे भने साँझबिहान डेरामा हुन्थे। यता घरबेटीकी छोरी अरुणा १४ वर्षकी।

‘हाम्रो लभ भयो,’ यसो भन्दै गर्दा उनी थप लजाएजस्तो गरिन्।

‘कसले कसलाई लभ गरेको थियो?’ मैले जिज्ञासा राखेँ। उनी अचम्म परेर हेरिन् र बोलिन्, ‘दुवैले एकैपटक लभ गरेका थियौं।’ परिवारले सुरुमा असजिलो मान्यो।

‘यसरी मन पराइसकेपछि अब रोक्नुको अर्थ छैन भनेर ससुरालीकै मानिसले भन्नुभयो,’ छेउमा उभिएका अरुणाका पति बोले, ‘त्यसैले बाधा विरोध बिना नै हाम्रो बिहे सम्पन्न भयो।’

अर्थात बाहुनकी छोरी अरुणा नेपाल अब राजु सुनारकी पत्नी भएकी थिइन्।

उनले समाजबाट केही अप्ठेरो पो झेलिन् कि?

‘भएन,’ उनले दृढ स्वरमै उत्तर दिइन्, ‘मलाई त्यस्तो केही पनि महशुस भएको छैन।’

बिहे भएपछि अरुणा धेरैजसो धादिङस्थित घरमै गएर बसिन्। उता रहँदा घरको काम भ्याएर खेतबारीमा पनि खटिनुपर्थ्याे।

धादिङमा कति खेत छ भन्ने बारेमा त उनलाई पनि थाहा छैन। तर, खेती गरेपछि खानलाई चाहिँ पुग्छ भनिन्।

यसरी सँधै गाउँमा बसिरहन पनि मन मानेन। बीचबीचमा काठमाडौं पनि आइन्।

‘यसभन्दा पहिले मैले एउटा लकेट बनाउने कारखानामा काम गरेको थिएँ,’ उनले भनिन्, ‘ठूलो लकेट बनाएको २५ रुपैयाँ दिन्थे भने सानोको आठ नौ रुपियाँ मात्रै पाइन्थ्यो।’

एक त साथमा केटाकेटी पनि स्याहार्नुपर्ने, त्यसमाथि जति काम गरे पनि कमाइ कहिल्यै चित्तबुझ्दो भएन।

‘त्यसैले मैले त्यो काम छाडिदिएँ,’ उनी भन्छिन्, ‘त्यसपछि फेरि गाउँ गएँ र उतै बसेँ।’

केही महिनाअघि लकडाउनको श्रृंखला थामियो। त्यसपछि उनीहरु फेरि काठमाडौँ आइपुगे।

‘करिब तीन–चार महिना भयो,’ उनले भनिन्, ‘त्यसयता यो घर बनाउने काममा श्रीमानसँगै म पनि खटिन सुरु गरेँ।’

उनका पति भने अलिक अगाडिबाटै यो काममा लागेका रहेछन्।

बिहे हुँदा अर्थात् नौ वर्ष पहिले राजु न्यूरोडस्थित वेलकम कम्प्युटर सेल्स एण्ड रिपेयरिङ नामको पसलमा काम गर्थे।

‘पसलमा सहयोगीको काम नै थियो,’ राजुले सुनाए, ‘त्यसबाहेक अलिअलि रिपेयरिङको काम पनि गर्थें।’

त्यो पसल अहिले बन्द भइसकेको छ। त्यसै ठाउँमा अर्कैले कम्प्युटरकै गोदाम र पसल खोलेको उनी बताउँछन्।

राजुले भने बिहेलगत्तै २०६९ सालमा त्यो पसल छाडे।

‘त्यसयता म फेरि कम्प्युटरको काममा छिरिनँ,’ उनी थप्छन्, ‘उता छाडेपछि ठमेलतिर टुरिस्ट लाइनको ह्याण्डीक्राफ्टतिर लागेँ।’

त्यो ह्याण्डीक्राफ्टको कामले उनलाई जसोतसो भरथेग गरिरहेकै थियो।

‘तर, त्यतिबेलै भारतले एक्कासी नाकाबन्दी गरिदिएपछि त्यो काम ठप्पै भयो,’ उनी भन्छन्, ‘त्यसपछि नाकाबन्दी खुले पनि त्यो काम चाहिँ तत्कालै जुर्मुराएन।’

यस्तो अवस्थामा उनले फेरि विकल्पको खोजी सुरु गरे।

उनले टायल र मार्बलहरुको क्षेत्रमा काम पाउन थाले। त्यो काम गर्दागर्दै घर निर्माणको क्षेत्रमा पनि हात बढ्दै गयो। विशेषगरी प्लास्टरको काममा आफू पोख्त रहेको उनी बताउँछन्।

‘त्यसबाहेक सिमेन्टीसँग जोडिएका सबैजसो काममा हात हाल्दै गएँ,’ उनले थपे, ‘यसै क्रममा घर बनाउने मिस्त्री भएरै यता आइपुगेको हुँ।’

यति भन्दाभन्दै एकैछिनमा गिट्टी बोकेको ट्रक आइपुग्यो। भारी झारिसकेपछि धमाधम गिट्टी र बालुवा मिलाएर थुप्रो लगाउन सबै एकजुट भए। त्यसपछि सिमेन्टीका बोरालाई ब्लेडले चिर्दै त्यो थुप्रोमाथि खन्याइयो।

राजुले सिमेन्टको बोरा टक्टक्याउनासाथ अरुणाले उनको हातबाट ती बोराहरु तान्न थालिन् र पोका पारेर अर्को कुनामा राखिन्।

‘यी बोराहरु कबाडीवालाले किन्न आउँछन्,’ श्रीमतीले यसरी खाली बोरा थुपार्नुको रहस्य खोल्दै राजुले बताए, ‘पैसा आउने भएकाले यस्ता बोराहरु उसैले पोका पारेर थुपार्ने गरेकी छ।’

एकैछिनको ब्यस्ततापछि उनीहरु फेरि सुस्ताउन थाले।

राजुले आजसम्म चुनावमा कसैलाई पनि भोट दिएका छैनन्।

‘पछिल्लो समय नेपालमा चुनाव हुँदा म कमाउनका लागि भारत गएको थिएँ,’ उनले भने, ‘मेरो श्रीमतीसहित परिवारका सबैले भोट दिए।’

कसलाइ भोट दिएछन् त?

‘मेरो परिवारले बाउ बाजेकै पालादेखि एमालेका राजेन्द्र पाण्डेलाई भोट दिँदै आएका हुन्,’ उनले थपे, ‘अस्ति पनि उनैलाई दिए।’

कम्युनिष्ट भएकाले गरिब गुरुवालाई हेर्छन् भन्ने मान्यताकै कारण उतिबेलादेखि पाण्डेलाई भोट दिँदै आएकोमा अब त आफ्नो परिवारका लागि त्यो नियमजस्तै बनिसकेको उनले बताए।

गरिबलाइ हेरे त?

अरुणा सुनार

जवाफमा उनी चुरोटको धुवाँ सर्किएलाजस्तै गरेर हाँस्न थाले र एकछिनसम्मै हाँसिरहे।

‘आखिरमा जसलाई दिए पनि कुरो उही रहेछ,’ उनले उल्टो मेरो मन छाम्न खोजे, ‘बरु साहुजी नै भन्नुस् न, कसलाई भोट दिँदा उचित हुन्छ?’

यो प्रश्नको उत्तर उनी आफैँले खोज्नुपर्ने जवाफ दिएपछि उनले अबको चुनावमा भने सोचेर मात्रै मतदान गर्ने बताए।

यसबीच राजु र अरुणाका तीन सन्तान भइसकेका छन्।

जेठी छोरी आयुषा आठ वर्षकी छिन्। दुई कक्षाकी विद्यार्थी।

‘डल्लुमा डेरा छेउकै सक्सेस एकेडेमी नामको स्कुलमा राखेका थियौं,’ अरुणा भन्छिन्, ‘त्यहाँ महिनाको १७ सय २५ रुपैयाँ छोरीको फिस बुझाउनु पर्थ्याे।’

त्यसबाहेक ठूलो छोरो पाँच वर्षको छ भने कान्छो छोरो तीन वर्षको। ठूलो पनि भर्खर स्कुल जान थालेको थियो। त्यसैगरि एउटा मात्र कोठा भएको डल्लुको डेरामा घरभाडा नै महिनाको साँढे पाँच हजार रुपैयाँ तिर्नुपर्थ्याे।

‘यस्तोमा पैसाले पुग्दै नपुग्ने भयो,’ अरुणाले थपिन्, ‘त्यसैले तीन चार महिना पहिलेदेखि म पनि उहाँ सँगसँगै घर बनाउने ठाउँमा ज्यामी काम गर्न खटिन थालेँ।’

यतिबेला अरुणाका पतिले दिनको १३ सय पारिश्रमिक पाउँछन् भने अरुणाले एक हजार रुपैयाँ।

यसैबीच केही दिनअघि फेरि निषेधाज्ञा जारी भएपछि उनीहरुले दौडादौड छोराछोरीलाई गाउँमै लगेर राखे।

‘गाउँमा पनि स्कुल जानु भनेको छु,’ अरुणाले थपिन्, ‘त्यहाँको स्कुलमा चाहिँ फिस तिर्नु पर्दैन, कापीकलम मात्रै किनिदिए पुग्छ।’

गाउँमा अरुणाका देवरहरु छन्।

‘एकजना जेठाजु चाहिँ काठमाडौंकै एउटा पसलमा चाँदीको काम गर्नुहुन्छ,’ उनले थपिन्, ‘कान्छो देवर चाहिँ धादिङकै मालबेसी स्कुलमा पढाउनु हुन्छ।’

यसरी पछिल्लो निषेधाज्ञा सुरु हुनासाथ केटाकेटीलाई गाउँमै लगेर राखेपछि पति पत्नी फेरि काठमाडौं आइपुगे।

तर, काठमाडौँ आएर पनि के गर्ने? हिँडडुलै गर्न नपाइने भयो।

‘बाटोमा पुलिसले देखे पनि समातेर सोधखोज गर्थे,’ उनी भन्छिन्, ‘हाम्रो त विचल्ली पो होलाजस्तो भयो।’

अरुणालाई यो कोरोना भनेको के हो थाहा छैन।

‘ख्वै के हो–के हो,’ उनले सुधो पाराले जवाफ दिइन्, ‘त्यहि पुलिसले हिँडडुल गर्न दिँदैनन् भन्ने मात्र थाहा छ।’

उनका अनुसार प्रहरीले फेला पार्नासाथ ‘बाहिर ननिस्कनु र मास्क लगाएर मात्रै बस्नु’ भन्छन्।

अनि उनी किन मास्क नलगाएर काम गरिरहेकी छिन् त?

‘मलाई यो मास्क लगाएपछि कामगर्नै अप्ठ्यारो लाग्छ,’ उनले भनिन्, ‘भारी बोक्ने बेलामा सास फेर्नै अप्ठेरो हुनेगरी नाकमा असजिलो हुन्छ।’

तर, प्रहरीले भनेको कुरालाई पनि बेवास्ता गर्न नहुने उनलाई लाग्दो रहेछ।

‘पुलिसले रोकेको कारण यो केही नराम्रो कुरा होला भन्ने लाग्छ,’ उनी थप्छिन्, ‘नत्र त मलाई यो कोरोनासँग कुनै डर छैन।’

काम सकिएपछि चाहिँ पुलिसले भनेको कुरा आफूले मान्नेगरेको उनले बताइन्।

‘काम सकिएपछि घरबाट निस्कने काम पनि गर्दिन,’ उनले भनिन्, ‘मास्क पनि लगाएरै बस्छु।’

उनलाई बेलाबेलामा ‘यत्रो मानिसहरु बन्द भनेर किन घरघरै बसेका होलान्?’ भन्ने पनि लाग्छ। फेरि अर्कोतिरबाट सोच्दा ‘पुगिसरी आएको मानिसलाई पुलिसले भनेको मानिदिँदा पनि के फरक पर्छ र?’ भन्ने लाग्दो रहेछ।

‘हामीलाई पो काम गरेन भने एकातिर ऋनको भारी, गाउँमा बच्चालाई पैसा पठाउने चिन्ता अनि फेरि अर्कोतिर विहान बेलुकी आफ्नै हातमुख कसरी जोर्ने भन्ने छ,’ उनले भनिन्, ‘त्यो चिन्ता नहुनेलाई त जे नियम पालना गरे पनि भयो।’

अहिल्यैको अवस्थामा पनि जति कमाए पनि आफुहरुले चाहेजस्तो पैसा बचाउन नपाएकोमा उनलाई असाध्यै फिक्री लाग्दो रहेछ।

‘ऋन ब्यवहार मिलाउनै पर्छ,’ उनी भन्छिन्, ‘कमाइरहेको पैसा पनि पहिलेको ऋन तिर्दै ठिक्क हुन्छ।’

अरुणाका अनुसार उनीहरुलाई गाउँदेखि अहिले भाडामा बसिरहेको डल्लुस्थित घरधनीको ऋण पनि टाउकोमा छ।

यस्तो अवस्थामा फेरि निषेधाज्ञा जारी भएपछि दिनदिनै डल्लुस्थित डेराबाट बालकुमारीसम्म मजदुरी गर्न आउनै समस्या भइदियो। जता पनि प्रहरीले देख्नासाथ केरकार गर्न थाले।

‘अस्तिदेखि हाम्रो ठेकेदारले यो छेउकै घरको सटरमा हामीलाई बस्ने व्यवस्था मिलाइदिए,’ उनले अलिक परको घर औंल्याउँदै देखाइन्, ‘त्यसपछि दिनभर यता काम गर्ने र बेलुकी उता गएर सुत्ने गर्न थालेपछि सजिलो भएको छ।’

यी दम्पतीले कसैगर धेरै पैसा कमाए भने के गर्ने इच्छा राखेका छन्?

यो प्रश्न सुनेपछि अरुणा एकछिन त भावुक भएर एकोहोरो टोलाइन्।

‘मेरी छोरी डाक्टर बन्छु भन्छे, पढाइमा पनि मेहनत गर्छे’, उनले थपिन्, ‘उसको इच्छा मैले पुरा गर्न सक्छु जस्तो लाग्दैन।’

उनका अनुसार छोरी काठमाडौं हुन्जेल सँधै कक्षामा राम्रैसँग पास पनि भइरहेकी थिइन्। अब गाउँ गएपछि के हुने हो भन्ने चिन्ता उनलाई रहेछ।

‘मानिसहरु कोरोनाको चिन्ता गर्छन्,’ उनले भनिन्, ‘मलाइ कोरोना होइन, छोरीको सपना पुरा भएन भने के होला भन्ने मात्रै चिन्ता लाग्छ।’

जे कुरा आफ्नो वशमा छैन त्यो कुराका बारेमा धेरै सोच्न हुँदैन भन्ने पनि उनले बुझिसकेकी छिन्। तैपनि सपना देख्नुमा के खराबी छ?

‘कसैगरि धेरै कमाएँ भने छोरीलाई डाक्टर बनाउँछु,’ उनले थपिन्, ‘अझ धेरै कमाएँ भने दुई छोराका निम्ति एउटा घर बनाइदिने इच्छा छ।’

श्रीमतीले यति भनुन्जेल उता राजु हाँस्न थालिसकेका थिए।

बैशाख २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्