बेलौरीमा नेपाली महिलामाथि भारतीय नागरिकद्वारा कुटपिट

धनगढी – कञ्चनपुरको बेलौरी नगरपालिका–१ बैसाखीमा एक महिलामाथि भारतीय नागरिकले कुटपिट गरेका छन्।

दसगजा नजिकै घाँस काटिरहेका बेला शनिबार बेलौरी नगरपालिका–१ बैसाखीकी ३८ वर्षीया पुनम शाहीमाथि भारतीय नागरिकले कुटपिट गरेका हुन्।

‘बाख्राका लागि घाँस काटिरहेका बेला अन्टीलाई लट्ठीले हिर्काएको थियो, हामी पुग्दासम्म त्यो भागिहाल्यो’, परिवारका सदस्य रतन शाहीले भने।
नेपाली महिलामाथि कुटपिट भएको थाहा पाएपछि स्थानीयले त्यसको विरोध गरेका थिए।

कुटपिटमा संलग्नलाई कारबाही गर्नसमेत स्थानीयले माग गरेका छन्।

स्थानीयको विरोधपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत घटनाबारे चासो दिएका थिए।

उनीहरूले नेपाली महिलामाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको वडा नम्बर १ का अध्यक्ष रतन शाहीले बताए।
दुवै देशमा सुरक्षा निकायले यस घटनालाई गम्भीर रूपमा लिएको उनले बताए।

उनले भने, ‘कुटपिट गर्ने व्यक्ति अहिले सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको भारतीय सीमा सुरक्षा बलले जानकारी दिएको छ।’

बैशाख २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्