अक्सिजन बिक्री-बितरण सरकारको नियन्त्रणमा, कोरोनाका बिरामी थप संकटमा पर्ने

काठमाडौँ- सरकारी, सामुदायीक तथा निजी अस्पताल अक्सिजन अभावमा गुज्रिदा त्यसको प्रत्यक्ष मारमा कोभिड–१९ का बिरामी परिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको बिक्रीबितरणलाई पूर्णरुपमा नियन्त्रणमा लिएको छ।

सरकारको यो विवादस्पद निर्णयले कोभिड–१९ का बिरामीको जीवन थप संकटमा पार्ने देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना सबै किसिमका अस्पतालहरुलाई अक्सिजन बिक्रीबितरण नगर्न अक्सिजन कम्पनीहरुलाई अनुरोध गरेको हो।

आफ्नो अनुरोध कार्यान्वयन नगर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याउने मन्त्रालयले चेतावनी पनि दिइसकेको छ।
मन्त्रालयको यो निर्णयसँगै अचानक अक्सिजन कम्पनीले अब अक्सिजन आपूर्ति गर्न नसक्ने जानकारी केही अस्पतालहरुलाई समेत गराइसकेका छन्।

आवश्यकता अनुसार नियमित अक्सिजन पाइरहेका बेला अक्सिजनन कम्पनीको यस्तो जानकारी पछि आफूहरु ठूलो संकटमा परेको अस्पताल सञ्चालकले बताएका छन्।

हालसम्म आवश्यकता परेका बेला जुनसुकै बेला पनि अस्पतालहरुले अक्सिजन कम्पनीसँग अक्सिजन खरीद गर्ने मौका पाइरहेका थिए।

अब अक्सिजन कम्पनीले अस्पतालहरुलाई अक्सिजन बिक्रीबितरण गर्नुपूर्व स्वास्थ्य मन्त्रालयमा पुगेर सिफारिस लिनुपर्नेछ।
अक्सिजन बिक्रीबितरणको सिफारिस उनीहरुले मन्त्रालयको कार्यालय समयमा मात्रै पाउने सम्भावना छ।

बिरामीको चाप धेरै भएमा राती वा कार्यालय समयभन्दा बाहिर अस्पतालहरुले अक्सिजन खरीद गर्न चाहेमा त्यसमा अक्सिजन कम्पनीले माफी माग्नु पर्ने अवस्था सिर्जना भएको छ।

स्वास्थ्य मन्त्रालयले कान्तिपुर अक्सिजन, सगरमाथा अक्सिजन, अक्सिटेक, ज्योती अक्सिजन, हाम्रो अक्सिजन, सोपान फर्मास्यूटिकल्स, हिमाल अक्सिजन, सिता अक्सिजन, शंकर अक्सिजन र सबै अक्सिजन ग्यासका नाममा पत्र काटेको छ।

पत्रमा कोभिड–१९ का बिरामी बढेसँगै अक्सिजनको माग बढ्दै गएकाले अक्सिजनको बिक्रीबितरणलाई थप व्यवस्थित गर्न आवश्यक भएकाले आफ्नो सिफारिस बिना अक्सिजन बिक्रीबितरण गर्न नगर्न अनुरोध गरेको हो।

मन्त्रालयले नेपाल अक्सिजन ग्यास उत्पादक संघलाई पनि यो पत्र बोधार्थ पठाएको छ।अक्सिजन आफूखसी बिक्रीबितरण गर्ने डरमा सरकारले अक्सिजन कम्पनीमा प्रहरीसमेत परिचालन गर्ने तयारी गरेको बुझिएको छ।

यता अक्सिजन अभावमा राजधानीका केही अस्पतालले कोरोनाको उपचारका लागि अत्यावश्यक मेडिकल अक्सिजन आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएकाले कोरोनाका बिरामीलाई भर्ना गरी उपचार दिन नसकिने सूचना निकालेका छन्।

राजधानीका मेडिकियर, नेपाल भारत मैत्रि अस्पताल, दिर्घायु गुरु र हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पतालले संयुक्त विज्ञप्ती निकालेर आफूहरुले अक्सिजन अभावका कारण कोरोनाका बिरामीको उपचार गर्न नसक्ने जानकारी गराएका हुन्।

सरकारले कोभिड–१९ का बिरामी असामान्यरुपमा बढेपछि सरकारी, सामुदायीक र निजी सबै अस्पतालले उनीहरुको उपचार गर्न निर्देशन दिएको थियो, केही दिन अघि मात्रै। तर अक्सिजनको व्यवस्थापनमा असफल भएपछि अक्सिजन कम्पनीलाई नै नियन्त्रणमा लिने कठोर निर्णय लिएको छ।

स्वास्थ्य मन्त्रालयको आफ्नो सिफारिस बिना अक्सिजन नदिनु भन्ने अनुरोधलाई अक्सिजन कम्पनीले स्वीकार गर्ने देखिन्न।
मन्त्रालयले दिने सिफारिसमा राजनीतिक प्रभाव पनि पर्ने देखिन्छ। र, २४ सै घण्टा उसले सिफारिसको सेवा पनि दिने सम्भावना छैन।

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष केदार नरसिंह केसीले सरकारले कोभिड–१९ का बिरामीलाई ठाडै मार्ने नीति लिएको भन्दै यसको चर्को विरोध गरेका छन्।

उनले भनेका छन्,‘एकातिर सरकारले सबै अस्पताललाई कोभिड–१९ को उपचार गर भनेर निर्देशन दिने। अर्कोतिर अक्सिजन बिक्रीबितरण आफ्नो नियन्त्रणमा लिने। यो गलत निर्णय तत्काल फिर्ता हुनुपर्छ।’

मुलुकमा सरकारीसँगै सामूदायीक र निजी अस्पतालले पनि उपचार सेवामा पुर्याएको योगदान सरकारले भुल्न नहुने उनको भनाई छ।
झन यो संकटका बेला सरकारले उपचार क्षमता विस्तार गर्न नसकेका बेला निजीले बिरामीको ज्यान बचाउन गरेको प्रयासलाई सरकारले अपमान गरेको उनले बताए।

वास्तवमा अहिले सरकारी अस्पतालमै अक्सिजनको अभाव भएको छ। अर्ध सरकारी अस्पतालको अवस्था पनि उस्तै छ। वीर अस्पताललाई अक्सिजन पुर्याउन हम्मेहम्मे परेको छ।

अर्धसरकारी अस्पताल शिक्षण र पाटन अस्पताललाई पनि अक्सिजन पुर्याउन हम्मेहम्मे परेको छ। उपत्यका बाहिरको अवस्था झनै दर्दनाक छ।

तर स्वास्थ्य मन्त्रालयले भने अस्पतालको अवस्थाबारे यकिन जानकारी नलिई अक्सिजन बिक्रीबितरण आफ्नो हातमा लिएपछि यसको तीब्र बिरोध हुने संकेत देखिएको छ।

 

बैशाख २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्