नेपालमा कोभिड प्यान्डेमिकको एक झलक: साप्ताहिक विश्लेषण

जाँचेका मध्ये झन्डै आधामा देखिन थाल्यो कोरोना संक्रमण

कोरोना प्यान्डेमिकको वर्तमान लहरले नेपाल र हाम्रो समाजलाई बितेका २ हप्तादेखि नराम्ररी न्याँकिरहेको छ र थाहा छैन यो अवस्था कति लामो चलिरहने छ। वर्तमान लहर एक लहर मात्र होइन एक ठूलो सुनामी भएर हाम्रो माझ आइपुगेको छ। अस्पतालमा कोभिड उपचारको लागि खाली बेड छैन ।

आइसियु, भेन्टिलेटर, रेमडेसिभिर भनेको कहाँ पाइन्छ थाहा हुन छाडेको छ। अक्सिजन अर्थात् प्राणवायू दुर्लभ भइसकेको छ । चारैतिर कोभिडको  बिरामी र आफन्तको चित्कार छ। अस्पताल एक रणभूमिमा परिणत भइसकेको छ जहाँ  स्वास्थ्यकर्मी  गोलिगट्ठा बिनाका लडाकु बनेका छन्। आफै घायल भएता पनि लड्न र लडिरहन ऊ बाध्य छ।

आफैलाई चाहियो भने उसको लागि न कुनै बेड पाइन्छ न त उपचारका अन्य साधनहरु नै। उसका पनि परिवार छन् जसले उसलाई रणभूमिमा जान रोकिरहेको छ। तर उसले त यसैको लागि यो पेशा अपनाएको हो। अस्पतालबाट सकुसल फर्केकाहरुको धन्यवाद र स्याबासीको पात्र ऊ बनेको छ, देवताको उपमा पनि पाएको छ, तर घर फर्किन नपाएकाहरुको गाली र श्राप पनि उसैले खानु परेको छ।

चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई आफन्त, साथीभाइ र अन्य चिनाजानीबाट अनगिन्ति फोन आउँछ कोभिड उपचारको सहयोग गरिदिनको लागि तर ऊ लाचार छ र सरि भन्न पनि सकिरहेको छैन।

नेपालमा अझ भनौं काठमाडौँमा वर्तमान प्यान्डेमिकको चित्रण हो यो, यथार्थ हो यो। यसका बीच पनि जनता धैर्यवान देखिन्छ, मानौँ  ऊ आफ्नो पालो पर्खिरहेको छ।

तर यो स्थिति सधैं रहने छैन। रोग पछि निवारण पक्कै पनि आउँछ। तर त्यसको लागि नेपाल सरकार र नेपाली जनता दुवैको अथक प्रयास र समन्वय चाहिन्छ ।

यसै वर्ष मार्च महिनाको उत्तरार्धमा सुरु भएको दक्षिण एसियाको वर्तमान प्यान्डेमिक लहरले राक्षसी रुप लिई यस क्षेत्रलाई आतंकित बनाएको करीब डेढ महिना भइसकेको छ र अझै यो निरन्तर चलिरहेको छ। यसको नियन्त्रणको लागि हाल भइराखेको प्रयासले विशेष सफलता हात पर्न सकेको छैन। भोलि देखिनै यदि प्यान्डेमिकमा केही कमी आउने हो भने पनि प्यान्डेमिकको सामान्य नियम अनुसार वर्तमान लहर नियन्त्रणमा आउन लगभग उतिनै समय लाग्दछ अर्थात् कम्तिमा अर्को डेढ महिना ।

वर्तमान लहर नेपालमा भारतमा भन्दा करीब एक महिना पछि सुरु भएको थियो अर्थात् नेपालमा एप्रिल महिनाको मध्यतिरबाट वर्तमान लहर सुरु भएको थियो । त्यस अर्थमा सामान्य हिसाब अनुसार पनि भारतमा वर्तमान लहर नियन्त्रणमा आएको करीब एक महिनापछि मात्रै नेपालमा यसको नियन्त्रण सम्भव होला। अर्थात् कम्तिमा अर्को एक महिना नेपालमा प्यान्डेमिक यही क्रममा चल्ने देखिन्छ। अहिले नै नेपालमा  कोभिड र यसको उपचारको अवस्था नाजुक भइसकेको छ भने अर्को एक महिनामा के होला, सोच्दै कहाली लाग्दो देखिन्छ।

चित्र न. १ ले गत हप्ता, मे १-७ सम्म,को दक्षिण एसियार विश्वको दैनिक कोरोना संक्रमणको प्रवृत्ति र त्यसको एक अर्कासँगको तुलनात्मक चित्रण देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो समयमा विश्वको दैनिक संक्रमणको औसतमा ५०% यस क्षेत्रमा देखिएको छ जुन गत १-२ हप्ता देखि निरन्तर हुँदै आएको छ।

त्यस्तै चित्र न. २ ले गत हप्ताको दक्षिण एसिया रविश्वको दैनिक कोरोना मृत्यूको प्रवृत्ति र त्यसको  एक अर्कासँगको तुलनात्मक चित्रण देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो समयमा विश्वको दैनिक मृत्यूको औसतमा ३०% यस क्षेत्रमा देखिएको छ, त्यो पनि गत १-२ हप्ता देखि निरन्तर हुँदै आएको छ।

स्मरण रहोस्, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) को तथ्यांक अनुसार  दक्षिण एसियामा पहिलो लहर आएको बेला सन् २०२० सेप्टेम्बर १७ का दिन यस क्षेत्रमा  सबैभन्दा उच्च कुल दैनिक संक्रमण देखिएको थियो जुन १००१०४ थियो जस मध्ये १२२३ जनाले ज्यान गुमाएका थिए । त्यस दिन विश्वमा कुल दैनिक संक्रमण २९३२५५ र कुल दैनिक मृत्यू ६०७० थियो । त्यस अर्थमा त्यस दिन दक्षिण एसियाको विश्वको तुलनामा दैनिक संक्रमण अनुपात ३४% थियो भने दैनिक मृत्यू अनुपात २०%। हाल यी अनुपात हरु माथि उल्लेख गरिए जस्तै क्रमसः ५०% र ३०% छन् ।यसबाट के कुरा स्पष्ट हुन्छ भने दक्षिण एसियामा कोरोना प्यान्डेमिकको वर्तमान लहर पहिलो लहरभन्दा दैनिक संक्रमण र मृत्यूको आधारमा मात्रै होइन विश्वसँगको अनुपातको आधारमा पनि  निकै ठूलो देखिएको छ।

दक्षिण एसियाभित्र पनि सबै देशको दैनिक संक्रमण र मृत्यू एकै किसिमको देखिन्दैन। भारतको मात्रै दैनिक संक्रमण ९५% भन्दा धेरै देखिन्छ भने भुटानको संख्याको हिसाबले नगन्य छ।

चित्र न. ३ ले दक्षिण एसियाली देशहरुको पछिल्लो अवस्थामा दैनिक संक्रमणको अनुपात देखाएको छ। चित्रमा देखाइए जस्तै हाल नेपाल दैनिक संक्रमण संख्याको हिसाबले भारतपछि दोस्रो स्थानमा छ।

त्यस्तै चित्र न. ४ ले दक्षिण एसियाली देशहरुको पछिल्लो अवस्थामा दैनिक मृत्यूको अनुपात देखाएको छ। चित्रमा देखाइए जस्तै हाल नेपाल दैनिक मृत्यू संख्याको हिसाबले भारत र पाकिस्तान पछि तेस्रो स्थानमा छ। स्मरण रहोस्, जनसंख्याको हिसाबले नेपालभन्दा भारतकरीब ४६ गुणा, पाकिस्तान करीब ७  गुणा र बंगलादेश ५ गुणा ठूलो छ ।

यसरी वर्तमान अवस्थामा दक्षिण एसियामा दिनानुदिन दैनिक संक्रमण र दैनिक मृत्यू बढीरहेको अवस्थामा  यस क्षेत्रको गतहप्तामै १-७ सम्मको दैनिक संक्रमण र मृत्यूको प्रवृत्ति र त्यसको एक अर्कासँगको तुलना चित्र न. ५ मा देखाइएको छ।

चित्रमा देखाइए जस्तै दैनिक संक्रमण र दैनिक मृत्यू दुबै निरन्तर उकालो लाग्ने क्रम बिगत केही हप्ता देखि निरन्तर देखिन्छ यद्यपि वृद्धि दर भने दैनिक मृत्यूको भन्दा दैनिक संक्रमणको अझै तीब्र देखिन्छ।

दैनिक संक्रमण र मृत्यूको हिसाबले भारतको संख्या अन्यत्र भन्दा निकै उच्च देखिए तापनि संक्रमण दर अर्थात् पोजिटिभिटीको हिसाबले पछिल्लो समय नेपालको जोखिम निकै उच्च देखिन्छ। जोन्स होप्किन्सविश्वविद्यालय (Johns Hopkins University)का अनुसार हाल नेपाल साप्ताहिक औसत संक्रमण दरको हिसाबले  विश्वकै दोस्रो उच्च स्थान मा पुगिसकेको छ भने भारत ९ औं स्थानमा पुगेको छ । उक्त तथ्यांक अनुसार सबैभन्दा उच्च स्थानमा रहेको अर्जेन्टिनाको संक्रमण दर ६७.७३%, नेपालको ३६.६१% र भारतको २२.३४% रहेको छ ।

माल्दिभ्स र श्रीलंकाको संक्रमण दर पनि पछिल्लो समय निरन्तर उकालो लाग्ने क्रममा देखिन्छ भने पाकिस्तान र बंगलादेशको अवस्था केही स्थिर र नियन्त्रित देखिछ। चित्र न. ६ले आवर ओर्ल्ड इन डाटा (Our World in Data) र जोन्स होप्किन्सविश्वविद्यालय (Johns Hopkins University)ले साप्ताहिक औसतको रुपमा निकालेको दक्षिण एसियाली देशहरुको दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी देखाएको छ जसमा नेपालको संक्रमण दर निकै उच्च र तीब्र देखिन्छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) द्वारा जारी गरिएको विवरण अनुसार दक्षिण एसियामा मे ७ का दिन सम्ममा २३६९४५८४ जनामा यो  संक्रमण लागिसकेको छ भने २७१५७२ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

यसरी दक्षिण एसिया पछिल्लो समय कोरोना प्यान्डेमिकको ठुलो हिस्सा बन्दै गएको पुष्टि भएकोछ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता, सन् २०२१ सन् २०२१ मे २ देखि ८ (बि सं २०७८ बैशाख १९ देखि २५) जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ/ यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन्, जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि। यस लेखको उद्ध्यश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहि रुपमा पस्की विश्व र नेपालको  प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्याउनु हो।

गत हप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचढ़ाभ हुने क्रम जारी रह्यो । निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं।

 

दैनिक नँया संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको सँख्या हो। गत हप्ता सन् २०२१ मे २ देखि ८ (वि सं २०७८ बैशाख १९ देखि २५) जम्मा ७ दिनको नेपाल भरिको दैनिक परिक्षण र नयाँ संक्रमितको संख्या चित्र न.७मा प्रस्तुत गरिएको छ। परिक्षणको मात्रा अनुसार दैनिक संक्रमणको संख्या पनि बढ्दै जाने क्रम  जारी छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता सात दिन, बैसाख २५ गते शनिबारसम्म देशभरी जम्मा ५६९९७ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ३८५८९० पुगेको छ। बिगत ६ हप्ताका साप्ताहिक संक्रमण सुरुदेखि अन्त्यसम्म क्रमसः ९२१, १०१८, १९५७, ३९३३, १३४२९ र ३१९०४ थिए। यसरी नेपालमा हाल कोरोना संक्रमण गुणात्मक हिसाबले वृद्धि हुँदै छ।

त्यस्तै गत हप्ताको साप्ताहिक मृत्यू  ३३४ पुगेको छ जबकि त्यो भन्दा अगाडीका ६ हप्ताका साप्ताहिक मृत्यू सुरु देखि अन्त्य सम्म क्रमसः ११, ५,७, ३६, ६१ र १६२ थिए।

यसबाट नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण निकै तीब्र गतिमा बढ्दै गई दक्षिण एसिया मात्रै होइन नेपाल पनि कोरोना संक्रमणको केन्द्र बन्दै गएको देखिन्छ ।

चित्र न.८ ले नेपालको देशभरिको दैनिक संक्रमण र काठमाडौँ उपत्यकाको दैनिक संक्रमणको तुलनात्मक विश्लेषण देखाएको छ। चित्रमा देखाइए जस्तै गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको ४६% देखिन्छ अर्थात् आधाभन्दा कम देखिन्छ। गत वर्षको पहिलो लहरको बेला यो अनुपात उल्टो थियो अर्थात् करीब ६०% भन्दा धेरै काठमाडौँ उपत्यकाभित्र हुन्थे। यसले हालको संक्रमण अधिकतम सीमा पारीबाट आएको पुष्टि हुन्छ।

दैनिक संक्रमण (पोजिटिभिटी)दर (Positivity Rate)

प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी दर (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो, जसले परिक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ।

चित्र न.९ ले  नेपालको गत हप्ताको दैनिक संक्रमण दर देखाएको छ । गत हप्ता नेपालको प्यान्डेमिक उकालो लाग्ने क्रम जारी रहेको देखिन्छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ४१.४६% देखि अधिकतम ४७.८६% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ४४.८७% रह्यो। बिगत ६ हप्ताका औसत पोजिटिभिटी दर सुरु देखि अन्त्यसम्म क्रमसः ३.१६%, ३.५५%, ४.५%, ७.०४%, १२.४२%, २३.९७% र ३४.२९% रहेका थिए। स्मरण रहोस् WHO का अनुसार पोजिटिभिटी ५% भन्दा धेरै हुनु प्यान्डेमिक अनियन्त्रित भएको लक्षण हो।

दैनिक संक्रमण दर ४७.८६% हुनु भनेको दक्षिण एसियामा मात्रै होइन विश्वकै अति उच्च मध्ये एक हो। नेपालमा प्यान्डेमिकको इतिहासमा पनि गएको शनिबारको यो पोजिटिभिटी हाल सम्मकै सबैभन्दा उच्च होर यसरी हरेक दिन नया किर्तिमान बन्ने क्रम जारी छ।

संक्षेपमा माथिका तथ्यांकहरुबाट अधिकांश दक्षिण एसियाली देशहरुमा प्यान्डेमिकको अवस्था तीब्र गतिमा वृद्धि हुँदै गएको देखिन्छ र पछिल्लो समयमा यस क्षेत्रको प्यान्डेमिकको  दोस्रो लहर पहिलोभन्दा चार गुणा ठुलो भइसकेको छ। दक्षिण एसियाको वर्तमान प्यान्डेमिक लहर पहिलोभन्दा आकारको हिसाबले मात्रै होइन विश्वको अनुपातको हिसाबले पनि अति ठूलो बन्न पुगेको छ। नेपाल विश्व सर्ब महामारीको यस घडीमा विश्वकै चुचुरोमा  पुगिसकेको छ। नेपालको अवस्था हाल विश्वमा सबैभन्दा खतरापूर्ण र जोखिमपूर्ण देखिन्छ ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दुरी कायम  गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ ।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपालर विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ । यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाई हो । जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाईं जारी छ, होशियारी पूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ ।

बैशाख २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्