श्रीमतीबारे अफवाह फैलाउँदा पेट्रोल छर्केर हत्या गर्ने पक्राउ

जनकपुरधाम – श्रीमतीबारे अफवाह फैलाउँदा छिमेकीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ५८ वर्षीय पुरुषलाई जलाउने एक जनालाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

सोमबार बिहान ५८ वर्षीय सियाशरण रायलाई घरअगाडि आँपको बगैँचामा बसिरहेको अवस्थामा छिमेकी ३५ वर्षीय शिवजी साहले शरीरमा पेट्रोल छर्की आगो लगाएका थिए।

आगो लागी घाइते भएका रायलाई धनुषास्थित लालगढ मोडल अस्पतालमा पठाएकोमा थप उपचारका लागि काठमाडाँै लगिएको थियो। उपचारकै क्रममा रायको मंगलबार बिहान मृत्यु भएको थियो।

आगो लगाएर फरार भएका साहलाई शनिबार सर्लाहीको मलंगवा नगरपालिका–५ भाडसरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता कुँवरले जानकारी दिए।

पक्राउ परेका साहले रिसइबीका कारण रायको हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। वैदेशिक रोजगारीका क्रममा दुबई बस्दै आएका साहको श्रीमतीबारे झुटो प्रचार गरेकाले हत्या गरेको साहले बयान दिएका छन्।

रायले साह विदेशमा रहेको समय उनको श्रीमतीको सम्बन्ध परपुरुषसँग रहेको भन्दै गाउँ घरमा हल्ला गरेका थिए।

सोही विषयमा अभियुक्तले आफ्नो घरपरिवारसँग बुझ्दा त्यस्तो कार्यमा नलागेकाले अफवाह फैलाएको कारण पेट्रोल छर्केर वृद्धको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्।

रायलाई जलाएर हत्या गर्न बर्दिबासबाट पेट्रोल खरिद गरेर ल्याएको अनुसन्धानबाट खुलेको प्रवक्ता कुँवरले बताए।

 

बैशाख २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्