दाङ – कोरोना संक्रमितको उपचार अक्सिजन दिएर भैरहेको छ। तर, अक्सिजन सकिन थाल्यो। त्यसपछि नेत्रलाल स्मृति प्रतिष्ठान लमहीको कोरोना अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई प्रेसर थपियो।

‘अक्सिजन सकिन थाल्यो । बिरामीको उपचारमा जटिलता हुने भयो’ यही सूचना बाहिर आयो। त्यसपछि सामाजिक संघ संस्थाका अगुवाको फोनको घण्टी बज्न थाल्यो। देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल खाली सिलिन्डरको खोजीमा अघि बढे।

उनलाई साथ दिए उपाध्यक्ष केशवराज पोख्रेलले । निरन्तरको प्रयासपछि खनाल र पोख्रेल लमही नगरपालिकाको गाडीमा खाली सिलिन्डर बोकेर घोराही पुगे। अक्सिजन भर्न लाइन लाग्नुपर्ने भयो।

चारैतिरको दबाब र भनसुनपछि मात्रै दश ओटा सिलिन्डरमा अक्सिजन बोकेर लमही फर्किए।

‘बिरामीको जीवन र मृत्युको सवाल छ। तर, अक्सिजन सहज उपलब्ध हुन सकिरहेको छैन’, अध्यक्ष खनालले भने, ‘सधैँ यस्तै दौडधुप नपुग्न सक्छ। कोरोनाका बिरामी भर्ना गरेर उपचार थालिएका अस्पताल अक्सिजन अभाव हुनुहुँदैन।’

हिजो हाज अक्सिजन छैन, छिटो व्यवस्था मिलाउनु पर्‍याे भन्ने जस्ता निरन्तर फोन आउने गरेको उपाध्यक्ष पोख्रेलले सुनाए।

‘अक्सिजन सिलिन्डर किन्नको लागि पैसाको अभाव छैन। बजारबाट जति पनि रकम उठ्न सक्छ तर, अक्सिजन सिलिन्डर पाइएको छैन’, उनले भने, ‘व्यवसायी साथीहरु अक्सिजनको लागि सहयोग गर्न तयार हुनुहुन्छ।’

लमहीमा १२ जना संक्रमितको उपचार जारी छ। २५ बेडको एचडियू अस्पताल भनिएको छ । तर, अक्सिजन उपलब्ध नहुँदा बेड थप्न नसकिएको अस्पतालका प्रमुख डाक्टर पुष्प भुसालले बताए।

‘बिरामीको जीवन बचाउन उपचार गर्ने हो । बेड मात्रै थप्ने उपचार नपाउने अवस्था आउन दिनुहुँदैन भनेर बेड थपिएको छैन’, डाक्टर भुसालले भने, ‘अक्सिजन पर्याप्त भयो भने बेड थप्न गाह्रो छैन।’

अक्सिजन सिलिन्डरको अभाव भएपछि ग्यारेजमा डम्प भएका अक्सिजन सिलिन्डर संकलन थालिएको छ।

लमही जेसिजका अध्यक्ष दुलमदास चौधरीको नेतृत्वकाे टोलीले ग्यारेजमा डम्प भएको अक्सिजन सिलिन्डर संकलन गरेर स्थानीय सरकारको जिम्मा लगाएको हो। जेसिज लगायत अन्य संघ संस्थाले कोभिड अस्पताल र स्वास्थ्यकर्मीको आवासको लागि भवन समेत उपलब्ध गराएका छन्।

अक्सिजन सिलिन्डर खरिदका लागि व्यवसायीले आर्थिक सहयोग गर्न पनि थालेका छन्। श्रेया इन्टरप्राइज लमहीका सञचालक सुनिल मन्त्रीले उद्योग वाणिज्य संघलाई ५० हजार नगद सहयोग गरेका छन्।

बैशाख २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्