जेरुशेलममा शान्ति कायम गर्न अपील

जेरुशेलममा विगत केही दिनदेखि जारी हिंसात्मक गतिविधिलाई लिएर विश्वका विभिन्न देशले इजरायल र प्यालेस्टाइनलाई शान्ति कायम गर्न अपील गरेका छन्।

अमेरिका, बेलायत, युरोपियन युनियनसहितले इजरायल र प्यालेस्टाइनलाई जति सक्दो चाँडो तनाव कम गरि शान्ति स्थापित गर्न आग्रह गरेका हुन्।

प्यालेस्टाइनी चरमपन्थीले सोमबार राति जेरुशेलमा केही रकेट आक्रमण गरेपछि हिंसा फेरि बढेको छ। जवाफमा इजरायली सेनाले गाजा पट्टीमा रहेका चरमपन्थीका अखडाहरुमा हवाई आक्रमण गरेको छ।

इजरायलले गरेको हवाई आक्रमणका कारण बालबालिकासहित कम्तीमा २० जनाको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्यकर्मीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इजरायली सेनाले भने चरमपन्थी समूह हमासका गाजापट्टी क्षेत्रका कम्तीमा तीन नेतृत्वकर्ताको ज्यान गएको बताएको छ।

जेरुशेलमको अल–अक्सा मस्जिद नजिक इजरायली सुरक्षाबलसँगको भिडन्तको क्रममा सयौँ प्यालेस्टाइनी घाइते भएपछि सोमबार हमासले आक्रमणको चेतावनी दिएको थियो।

बैशाख २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्