एकै परिवारका तीन दिदीबहिनीले चुमे सर्वोच्च शिखर सगरमाथा

काठमाडौँ – एकै परिवारका तीन दिदीबहिनीहरु विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण एकसाथ गर्न सफल भएका छन्।

दोलखाको गौरिशंकर गाउँपालिका–९ रोलवालिङ्ग बेदिङ्गका एकै परिवारका निमा जाङ्गमु शेर्पा, छिरिङ्ग नामग्या शेर्पा र दावा फुटी शेर्पाले बुधबार बिहान साढे सातबजे ८ हजार ८४८.८६ मिटर उचाईको सगरमाथा शिखर चुमेका हुन्।

तीन दिदीबहिनीका मामा दावा टासी शेर्पाले आरोहणबारे जानकारी दिँदै भने, ‘हिजो बेलुका नर्थ पोलबाट आरोहण थालेका थिए, बिहान साढे सातबजे सफल भए। एकै परिवारका तीन दिदी बहिनीले एकसाथ आरोहण गरेको यो पहिलो पटक हो।’

तीन दिदीबहिनी मध्ये निमाले यसअघि २५ दिन भित्र सगरमाथा, लोत्से र कञ्चनजङ्घा हिमालको आरोहण गरेर कीर्तिमान बनाएकी थिइन्।

निमा, छिरिङ्ग र दावासँगै दावा तेन्जिङ्ग शेर्पा, किली पेम्बा शेर्पा, फुर गाल्जेन शेर्पा, निमा दोर्जी शेर्पा, फुर्तेम्बा शेर्पा, दावा ग्याल्जी शेर्पा, चीनकी झाङ्ग यिङ्ग, वाङ्ग झोङ्ग, गाओ ली, लिउ सेन र हुएङ्ग वेइजी तथा पाकिस्तानका सिर्बाज खानले सगरमाथाको सफल आरोहण गरेको इम्याजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसनले जनाएको छ।

बैशाख २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्