प्रदेश १ का अस्पतालमा अक्सिजनको अवस्थाः अहिलेसम्म धान्दैछ, उत्पादन नबढाए समस्या निकट

गम्भीर बिरामीका लागि दिइने अक्सिजनका सिलिन्डरहरु । तस्बिर : बर्षा शाह/देश सञ्चार

प्रदेश १ (झापा र मोरङ) – झापाको बिएण्डसी अस्पतालमा दैनिक २५ देखि ३० सिलिण्डर अक्सिजन खपत हुने गथ्र्यो। तर मंगलबार उक्त अस्पतालमा १ सय ९० वटा सिलिण्डर खपत भयो।

झापाको बिर्तासिटी अस्पतालमा दैनिक ६ वटा सिलिण्डर लाग्नेमा मंगलबार ६५ वटा सिलिण्डर खपत भएको अक्सिजन आपूर्ति गर्ने डिलरवाला ज्योति खरेलले जानकारी दिए।

एक–दुई दिन यता अस्पतालहरूमा अक्सिजनको खपत १० गुणासम्म बढेपछि अक्सिजन आपूर्ति गर्ने डिलरवालाहरूलाई तनाव सुरु भएको खरेलले बताए।

उनले भने, ‘यही रफ्तारमा बिरामीको चाप बढ्ने हो भने हामीलाई आपूर्ति गर्न गाह्रो हुन्छ। अहिलेदेखि नै कारखानामा सवारी साधनको लाम लाग्न थालिसक्यो।’

झापाको भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पतालमा सातामा २०–२५ वटा सिलिण्डर खपत हुनेमा अहिले दैनिक ४० वटा सिलिण्डर खपत हुन थालेको छ।

मोरङका अस्पतालहरू कोशी, नोवेल, विराट मेडिकललगायत अस्पतालहरूमा पनि अक्सिजनको माग ह्वात्तै बढेको छ। धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अक्सिजनको माग बढिरहेको छ।

आपूर्तिको व्यवस्था के छ?

मोरङ र सुनसरीमा रहेका तीनवटा अक्सिजन प्लान्टले प्रदेश १ को मागलाई धानिरहेको छ।

झापामा अस्पतालहरूका स-साना प्लान्ट बाहेक ठूला कारखाना छैनन्। कतिपय अस्पतालका प्लान्ट पनि बिग्रेका छन्। झापाको मनमोहन अस्पतालमा रहेको प्लान्ट पनि बिग्रेको अवस्थामा छ।

बिएण्डसी अस्पतालमा उसकै लागि बनाइँदै गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आउन पनि केही दिन लाग्ने स्थिति रहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए।

मोरङ र सुनसरीका अस्पतालहरूलाई अक्सिजन आपूर्ति सहज रहेको त्यहाँका अस्पतालहरूले जनाएका छन्। तर ती जिल्लामा संक्रमितको संख्या ह्वातै बढे झापामा अक्सिजन पाइने संभावना कम रहेको आपूर्तिकर्ताको भनाइ छ।

अहिलेलाई सिलिण्डरको संख्या पर्याप्त भए पनि ढुवानीको समस्या रहेको डिलर खरेलले बताए।

मेची अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरका अनुसार प्रदेश १ बाट अन्यत्र अक्सिजन आपूर्ति नभए प्रदेश १ का अस्पतालहरूमा अक्सिजन अभाव हुँदैन।

उनले भने, ‘हामी कारखाना गएर पनि बुझ्यौँ। अन्यत्र पठाइएन भने हामीलाई अभाव हुँदैन।’

काठमाडौँ जाँदैछ अक्सिजन

प्रदेश १ का कारखानाबाट अक्सिजन काठमाडौँ पनि जान थालेको प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिइन्।

उनका अनुसार अहिलेसम्म अवस्थामा अक्सिजन अभाव नभएको तर अन्यत्र गएका सिलिण्डर नआइपुग्ने भएकाले सिलिण्डरको अभाव हुनसक्ने अवस्था छ।

उनले भनिन्, ‘हामीलाई अहिलेसम्म त अभाव छैन। तर अब अभाव हुनसक्ने अवस्था चाहिँ छ। बाहिर गएका सिलिण्डर नआइपुग्दा के गर्ने भन्ने विषयमा हामी छलफल गर्दैछौँ।’

आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले काठमाडौँका अस्पतालमा अक्सिजन अभाव भएकाले प्रदेश १ बाट पनि आपूर्ति गर्न थालिएको बताए।

उनले भने, ‘हामी काठमाडौँ पठाउँदैनौँ भन्न मिल्दैन। तर हामीलाई चाहिने अक्सिजन राखेर अन्यत्र ढुवानीका लागि अनुमति दिन्छौँ।’

उत्पादन बढाउने तयारी

सुनसरीस्थित विनायक अक्सिजन इण्डष्ट्रिजका सञ्चालक पवनकुमार सारडाका अनुसार अक्सिजनको माग चौतर्फी रुपमा बढ्दै गएको छ।

यस्तै माग बढ्दै गएको खण्डमा भोलिका दिनमा अक्सिजन उत्पादन धान्न हम्मे पर्ने उनले बताए। काठमाडौँ, गण्डकी प्रदेश, प्रदेश १ का पहाडी क्षेत्रबाट दैनिक रुपमा अक्सिजनका लागि माग आएको बताउँदै सारडाले अक्सिजन आपूर्ति गर्नका लागि प्रहरी प्रशासनलेसमेत दबाव दिन थालेको गुनासो गरे।

विभिन्न जिल्लाका प्रमुख, प्रहरी निकायका पदाधिकारीले अक्सिजन उपलब्ध गराउनका लागि दबाव दिन थालेको उनको भनाइ छ।

दैनिक ४७ लिटरको कम्तीमा ५ सय अक्सिजन सिलिण्डर उत्पादन गर्दै आएको विनायकले विद्युत समस्या निराकरण भए आगामी केही दिनमा सो संख्या बढाएर १ हजारसम्म पुर्‍याउन सक्ने उनले जानकारी दिए।

हाल मोरङका अस्पताललाई प्राथमिकतामा राखेर सिलिण्डर उपलब्ध गराउँदै आएको विनायकले झापालाई दैनिक ८० देखि १ सय सिलिण्डर आपूर्ति गर्दै आएको छ। ढल्केबरस्थित अक्जिसन प्लान्ट र धनगढीस्थित अक्सिजन प्लान्ट बिग्रिएको हुदाँ माग बढ्दो र समस्या देखिएको सारडाले जानकारी दिए।

उनले भने, ‘यहाँ अक्सिजन दिने भन्दा पनि सिलिण्डर पाउन मुश्किल हुन थालिसक्यो। माग हुने स्थानलाई हामीले सिलिण्डर उपलब्ध गराए अक्सिजन दिन सकिने बताउँदै आएको छु। अक्सिजन भर्ने सिलिण्डरको अभाव हुँदै गएको छ।’

बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीका अनुसार अक्सिजन आफूखुशी घरमा राख्ने हुदाँ कृतिम अभाव उत्पन्न भएको हो। जनप्रतिनिधिहरु संक्रमितको घरघरमा पुगेर अक्सिजन बाड्ने गलत प्रक्रियाका कारण जोखिम बढ्दो भएको उनको भनाइ छ।

तर मोरङमा अक्सिजनको समस्या धेरै नभएको बताउँदै डा. कार्कीले २० लिटरको ठूलो सिलिण्डरलाई बिरामीको आवश्यकता र मात्रा हेरिकन चिकित्सकको सल्लाह र निगरानीमा दिइनुपर्नेमा जोड दिए।

मोरङमा अक्सिजनसहितको शय्या भरिए पनि अक्सिजनकै कमि र समस्या भने सुरु भइनसकेको उनले बताए। तर, अवस्था नियन्त्रणमा लिन सरकारले ढिलाइ गरे भोलिका दिनमा अवस्था भयावह हुने डा. कार्कीले बताए।

विराटनगरस्थित भाजुरत्न इन्जिनिरिङ सेल्स डिपोका मोहम्मद नविलका अनुसार पछिल्लो समय अक्सिजनको माग दैनिक बढ्दै गएको छ। बुढीगंगा गाँउपालिकामा प्लान्ट रहेको भाजुरत्नले मोरङका विभिन्न अस्पताललाई अक्सिजन आपूर्ति गर्दै आएको छ।

मो. नविलका अनुसार हाल प्लान्टबाट दैनिक ५ सय २४ वटा सिलिण्डर उत्पादन हुँदै आएको छ। जुन ठूलोमा ७ र सानोमा १ दशमलव ५ क्युविक मिटरको हुन्छ। भाजुरत्नले हाल नोबेल शिक्षण अस्पताललाई १ सय ४० सिलिण्डर विराटलाई २ सय सिलिण्डर उपलब्ध गराउँदै आएको छ।

मो. नविलका अनुसार मंगलबार विराटमा अधिक २ सय ९२ थान सिलिण्डर माग भएको छ। भाजुरत्नले प्रतिघण्टा २३ वटा अक्सिजन सिलिण्डर उत्पादन गर्दै आएको छ।

अक्सिजनका लागि यतिबेला दैनिक माग बढ्दै गएको उद्यागीहरु बताउँछन् । मोरङमा भाजुरत्न, पाथीभरा र विनायकले अक्सिजन उत्पादन गर्दै आएका छन्।

बैशाख २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्