सनातन यात्रा

ब्राह्मण : जन्मले कि कर्मले?

पृष्ठभूमि
शास्त्रमा स्पष्ट रूपमा बताइएका कतिपय विषयमा पनि भ्रमात्मक धारणा समाजमा व्याप्त रहेको पाइन्छ । मूल शास्त्र संस्कृत भाषामा निबद्ध भएको हुनाले र संस्कृत भाषामा धेरैजसोको सोझै पहुँच नहुने हुनाले पनि यस्तो स्थिति आएको हो । साथै पाश्चात्त्य शिक्षा–संस्कृतिको दुष्प्रभाव, सञ्चारमाध्यमहरूको दुष्प्रचार र शास्त्रज्ञ ठूला विद्वान् कहलिएका व्यक्तिहरूको उपेक्षाभावले समेत गर्दा सर्वसाधारणमा शास्त्रीय वस्तुस्थिति यथार्थ रूपमा प्रस्तुत हुन नसकेर भ्रमात्मक रूपमा नै प्रस्तुत भैराखेको देखिन्छ ।

यसप्रकार भ्रमात्मक कुराहरूको प्रसार भैरहेका अवस्थामा हाम्रा समाजमा ब्राह्मण वर्णका विषयमा पनि केही भ्रमात्मक धारणा रहेको देखिन्छ । त्यसलाई हटाउन केही लेख्न आवश्यक मानेर ब्राह्मण वर्ण वा जाति जन्म वा कर्म केका आधारमा निर्धारित हुन्छ भन्ने मुख्य विषयमा यहाँ विवेचना प्रस्तुत गर्न खोजिएको छ ।

ब्राह्मण– शब्दको अर्थ
सर्वप्रथम यहाँ “जन्मले वा वंशले कोही ब्राह्मण हुँदैन, ब्रह्मज्ञानादि गुणले मात्र ब्राह्मण हुन्छ” भन्ने कतिपय व्यक्तिको भनाइको विचार गरिन्छ । एउटा शब्दका पनि अनेक अर्थ हुन सक्छन् । उदाहरणका लागि नेपाली भाषाको “साँचो” शब्दलाई लिन सकिन्छ । कसैले साँचो शब्दबाट ताल्चा उघार्ने र लगाउने उपकरण भन्ने मात्र अर्थ बुझिन्छ, सत्य भन्ने अर्थ बुझिँदैन भन्यो भने त्यो गलत हुन जान्छ । त्यस्तै ब्राह्मण–शब्दबाट ब्रह्म जान्ने व्यक्ति भन्ने अर्थ मात्र बुझिन्छ, ब्राह्मणवंशमा जन्मेको व्यक्ति भन्ने अर्थ बुझिँदैन भन्यो भने त्यो पनि गलत नै हुन्छ । ब्राह्मण–शब्दबाट उक्त दुवै अर्थ बुझिन्छन् ।

अनादिपरम्पराबाट सिद्ध शुद्ध ब्राह्मण माता र पिताबाट शास्त्रीय अनिन्दनीय वैवाहिक सम्बन्धले जन्मेको, ब्राह्मणका निम्ति उचित वैधानिक संस्कार भएको र साधारणतया ब्राह्मणको आचरणको शास्त्रानुकूल रूपमा पालना गर्ने व्यक्ति ब्राह्मण भनिन्छ । ब्राह्मणले वेद पढ्ने–पढाउने, यज्ञ गर्ने–गराउने र दान लिने–दिने यी छ कर्म गर्नुपर्ने विधान छ । ब्राह्मणले गर्ने यी कर्महरूले सबैको कल्याण हुन्छ । ब्राह्मणलाई सामान्यतया विप्र, ब्रह्मा, अग्रजन्मा, भूदेव, द्विज, द्विजागर्‍य, मुखज, द्विजाति र वेदगर्भ पनि भन्दछन् । जन्म, विद्या र तपस्या (चरित्र) यी तीनै कुराका संयोगले ब्राह्मणत्व पूर्ण हुन्छ । योनि जन्म), विद्या र तपस्याले शुद्ध ब्राह्मणलाई त्रिशुक्ल ब्राह्मण भन्दछन् । त्यसमा पनि शास्त्रसम्मत प्रकारको जन्म नै आधारभूत तत्त्व मानिन्छ, विद्या र तपस्या वा चरित्र त्यसका पूरक मात्र मानिन्छन् । यही कुरा नै परम्परागत रूपमा पनि मानिँदै आएको छ ।

अरू जातिको संरक्षण गर्न पर्ने मानिँदा ब्राह्मण जातिको चाहिँ संरक्षण गर्न पर्ने नमानिनु अनुचित कुरा हो । ब्राह्मणको परम्परा महनीय भएकाले त्यसको संरक्षण पनि गर्नुपर्छ ।

ब्राह्मणप्रतिको असहिष्णुताबाट हानि
आजभोलि ब्राह्मण (बाहुन) जातिलाई शोषक, सामन्त, ठग इत्यादिको पक्षपोषण गर्ने वर्गका रूपमा चित्रण गर्दै लेखिएका पुस्तक बजारमा छ्याप्छ्याप्ती भेटिन्छन् । सञ्चारमाध्यमबाट पनि देशविकास हुन र अन्य जातिको उत्थान हुन ब्राह्मण जाति नै अवरोध भएको मिथ्या प्रचार बारम्बार भइरहेको छ । कम चेतनशील मानिएका जातिलाई आक्षेप पर्ने कुनै शब्दको प्रयोग हुँदा पनि कडा प्रतिक्रिया आउने गरेको वर्तमान परिप्रेक्ष्यमा बढी चेतनशील मानिएको ब्राह्मणवर्गलाई चाहिँ जति गाली गरे पनि सितिमिति प्रतिक्रिया आएको देखिँदैन । सम्भवतः “ब्राह्मण हुनुमा गौरव नगर्ने” नामका मात्र बाहुनको सङ्ख्या बढ्दै जानाले यस्तो भएको होला ।

विदेशीहरूले पनि अन्य जातिका भाषिक–सांस्कृतिक पक्षलाई प्रोत्साहित गर्ने निहुँमा ब्राह्मण जातिको धार्मिक–सांस्कृतिक गौरव मेट्न र आफ्नै एकच्छत्र सांस्कृतिक राज स्थापित गर्न चाहेको देखिन्छ । त्यसैका निम्ति उनीहरूले नाना प्रकारका योजना बनाई षड्यन्त्र गरिरहेका छन् । खास गरी अनुचित शिक्षाद्वारा हाम्रै भाइछोराहरूलाई आफ्ना बाउबाजेले अँगाल्दै आएको महान् धार्मिक–सांस्कृतिक निधिको गौरव र महत्त्व थाहै नपाउने गराएर दीनहीन स्थितिमा पुर्‍याउने प्रयास गरिरहेका छन् । यसबाट सम्पूर्ण समाजलाई नै हानि भैरहेको छ ।

आत्मगौरवानुभूतिका अभावमा तलदेखि माथिसम्मका अधिकांशका छोराछोरी विदेशीको सेवा गरेर मात्र आफ्नो भविष्य बन्छ भन्ने अत्यन्त शोचनीय निष्कर्षमा पुगिसकेको र तिनैलाई सघाउने काममा सरकारसमेत लागिपरेको देखिन्छ । वास्तवमा राष्ट्रिय सरकार आफ्नै खुट्टामा उभिनुपर्छ र अहिलेको गलत शिक्षानीतिलाई बदल्नु पनि पर्छ ।

कुनै पनि राष्ट्रलाई सिध्याउन पहिले त्यहाँको संस्कृतिलाई समाप्त पार्नुपर्छ भन्ने अभियानमा विदेशीहरू लागेको कुरा पत्तै नपाएर वा आर्थिक प्रलोभनमा परेर हाम्रा दाजुभाइ आफ्नो अस्तित्व मेट्ने र अरूको दास भएर बाँच्ने तर्खर गर्दै छन् । शिक्षित र सचेत भनिएका व्यक्तिमा पनि उत्साह र आत्मगौरवानुभूति अत्यन्त कम देखिन्छ । सबै कुरा अर्थात् धर्म, संस्कृति, शिक्षा, सञ्चार, विकास, निर्माण इत्यादि सबै पक्ष विदेशीका कथित अनुदानमा र निर्देशनमा चल्ने भैसके ।

आत्मगौरवानुभूतिका अभावमा तलदेखि माथिसम्मका अधिकांशका छोराछोरी विदेशीको सेवा गरेर मात्र आफ्नो भविष्य बन्छ भन्ने अत्यन्त शोचनीय निष्कर्षमा पुगिसकेको र तिनैलाई सघाउने काममा सरकारसमेत लागिपरेको देखिन्छ । वास्तवमा राष्ट्रिय सरकार आफ्नै खुट्टामा उभिनुपर्छ र अहिलेको गलत शिक्षानीतिलाई बदल्नु पनि पर्छ ।

ब्राह्मणको संरक्षण आवश्यक
यस्तै दीनहीन मानसिकताबाट जनतालाई माथि उठाउन र उनीहरूलाई आफ्नै देश, जाति, धर्म, संस्कृति, परम्परा, दर्शन, रीतिथिति, वेषभूषा, आचारविचार, खानपान इत्यादिका आदर्श मूल्यमान्यतामा आत्मगौरवानुभूति गर्दै जीवनयात्रा चलाउने बनाउन शिक्षा र चेतनाको प्रवाह गर्ने ब्राह्मण जाति आज आफैँ नै आफ्नो आदर्शबाट च्युत हुन पुगेको विडम्बनापूर्ण स्थिति समाजमा देखिन्छ। विद्या, धर्म, सत्य, न्याय र चेतनाको संवाहक ब्राह्मण जातिप्रति विद्वेष फैलाएर  फैलाएर यस जातिको अस्तित्व मेट्न खोज्ने षड्यन्त्रको भुमरीमा ब्राह्मणहरू पर्न हुँदैन ।

गोरो छाला भएका विदेशीलाई चाहिँ जे कुरामा पनि गुरु मान्न सङ्कोच नमान्ने, ब्राह्मण जातिलाई चाहिँ परम्परादेखि मानिआएको गुरुपुरोहित मान्ने कार्यलाई पनि अर्घेलो देखाउन खोज्ने विद्वेषपूर्ण लेख–समाचार छापिने स्थिति पनि पत्रपत्रिकाहरूबाट हट्नुपर्छ । विदेशीले “फुटाऊ र शासन गर” भन्ने नीति बेस्सरी लागू गरिरहेको वर्तमान परिप्रेक्ष्यमा हामी सचेत हुनै पर्छ ।

वंश र जन्मका आधारमा ब्राह्मण
ब्राह्मण जाति वंशपरम्पराबाट वा जन्मबाट नै मुख्य रूपमा सिद्ध हुन्छ । यो कुरा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रहरू महापुरुषका अङ्गबाट जन्मेका हुन् भनेर देखाउने ऋग्वेदका पुरुषसूक्तका “ब्राह्मणोऽस्य मुखमासीत्” इत्यादि १०।९०।१२) ऋचाबाट नै पुष्ट हुन्छ । त्यहाँ “पद्भ्यां शूद्रो अजायत” भनिएकाले ब्राह्मणादि जन्मले नै हुने हुन् भन्ने कुरा स्पष्टै बुझिन्छ । यो ऋचा शुक्लयजुर्वेदसंहितामा पनि छ ३१।११) । सृष्टिदेखि नै ब्राह्मणादि चार वर्ण पृथक्–पृथक् भएको कुरा तैत्तिरीय–कृष्णयजुर्वेदसंहिताका “प्रजापतिरकामयत प्रजायेयेति” इत्यादि वाक्यहरूबाट ७।१।१।४–६) पनि स्पष्ट हुन्छ ।

हाम्रा वैदिक परम्परामा वेदसमान मानिने पारस्करगृह्यसूत्रमा नामकरण संस्कारका प्रकरणमा “शर्म ब्राह्मणस्य” १।१७।४) इत्यादि उल्लेख भएकाले र जन्मेका दशौँ वा एघारौँ दिनका नामकरणका अवस्थामा शिशुले कुनै वर्णको वा जातिको पनि कर्म वा गुण नदेखाउने हुनाले वंशानुगत रूपमा ब्राह्मण–क्षत्रियादि विभाग नमानेमा पारस्करगृह्यसूत्रको उक्त व्यवस्था उपपन्न नहुने हुनाले ब्राह्मणादिको विभाग वंशानुगत रूपमै अनादिकालदेखि नै मानिँदै आएको कुरा स्पष्ट हुन्छ ।

गीताको “चातुर्वण्र्यं मया सृष्टं गुणकर्मविभागशः” ४।१३) भन्ने वचनको पनि संस्कृत व्याकरणशास्त्रबाट व्याख्या गरिएको संस्कृतभाषाका स्वाभाविक प्रकृतिअनुसार “गुणको र कर्मको विभागअनुसार चार वर्ण मबाट सृष्टि गरिए” भन्ने अर्थ हुन्छ । यसबाट त अनादि संस्कारका परम्पराबाट कारणका रूपमा रहेका तीती व्यक्तिमा आइरहेका गुणकर्मसम्बन्धका आधारमा तीती व्यक्ति भिन्न–भिन्न वर्णका रूपमा सृष्टि गरिएका हुन् भन्ने नै स्पष्ट हुन्छ । पहिल्यै तीती व्यक्तिको सृष्टि गरेर तीती व्यक्तिमा भिन्न–भिन्न गुणकर्म हाली तिनलाई चार वर्णमा विभक्त गरिएको हो भन्ने अर्थ त उक्त वचनबाट निस्कनै सक्तैन । उक्त वाक्यमा सर्जनक्रिया मुख्य क्रिया हो, विभाजनक्रिया मुख्य क्रिया हैन, सहायकक्रिया वा क्रियाविशेषण मात्र हो । तसर्थ शास्त्रीय भाषाको वाक्यरचना नै नबुझ्नेहरूले वा वाक्यरचनालाई वास्तै नगरी मनपरी अर्थ गर्नेहरूले गरेको अर्थ यथार्थ र मान्य हुन सक्तैन । गीतामा नै जन्म–जन्मका सुसंस्कारले नै पवित्र कुलमा जन्म हुने र तदनुसार कर्म गरिने कुरा स्पष्ट रूपमा “पार्थ नैवेह नामुत्र” इत्यादि वचनले ६।४०–४५) देखाइएकै छ ।

भृगु, जमदग्नि, अङ्गिरा, भरद्वाज, गर्ग, मुद्गल, विश्वामित्र, कुशिक, वसिष्ठ, कुण्डिन, उपमन्यु, पराशर, कश्यप, शण्डिल, अत्रि, अगस्त्य इत्यादि गोत्रकार ऋषिका वंशाणुपरम्परायुक्त सन्तानहरू नै जन्मसिद्ध ब्राह्मण मानिन्छन् । अरू जन्मसिद्ध ब्राह्मण मानिँदैनन् ।

जन्मसिद्ध रूपले वा वंशानुगत रूपले नै ब्राह्मण–क्षत्रियादिको निर्धारण हुने कुरा मनुस्मृतिका “लोकानान्तु विवृद्ध्यर्थम्..” १।३१), याज्ञवल्क्यस्मृतिका “मुखबाहूरुपज्जाः स्युः ..” ३।१२६), कूर्मपुराणका “ससर्ज ब्राह्मणान् वक्त्रात्..” १।२।२५), भागवतका “जन्मना ब्राह्मणो गुरुः” १०।८।६), वाल्मीकिरामायणका “न द्विजातिरहं राजन् मा ते भून् मनसो व्यथा । शूद्रायामस्मि वैश्येन जातो नरवराधिप” २।६३।५०) तथा महाभारतका “जन्मनैव महाभागो ब्राह्मणो नाम जायते” अनुशासनपर्व ३५।१) इत्यादि वचनबाट पनि स्पष्ट रूपमा बुझिन्छ । तसर्थ जन्मले वा वंशले कोही ब्राह्मण हुँदैन, ब्रह्मज्ञानादि गुणले मात्र ब्राह्मण हुन्छ भन्ने धारणा वा भनाइ हाम्रा वेद, स्मृति, पुराण, रामायण, महाभारत इत्यादि शास्त्रको र मौलिक परम्पराको पनि सर्वथा विरुद्ध र भ्रमात्मक कुरा हो ।

जन्म, विद्या र चरित्र आवश्यक
यस विषयमा हाम्रो शास्त्रको र मूल परम्पराको सिद्धान्तका विषयमा बुझ्न पर्ने मुख्य कुरा यो छ—ब्राह्मणत्वादि जाति मूल रूपमा जन्मले वंशानुगत रूपमा नै हुन्छ । तर त्यसको परिष्कार वा पूर्णता ब्राह्मणत्वादिका अनुकूल अध्ययन चेतनाविस्तार) र तपस्या चरित्र) इत्यादि गुणका विशेष योगले गर्दा हुन्छ । यो कुरा संस्कृत व्याकरणका भाष्यकार आजभन्दा बाइस सय वर्षजति अघिका मानिएका पतञ्जलि मुनिले ब्राह्मणशब्दको अर्थको निरूपण गर्ने प्रसङ्गमा प्रमाणका रूपमा उद्धृत गरेका “विद्या तपश्च योनिश्चेत्येतद् ब्राह्मणकारकम् । तपःश्रुताभ्यां यो हीनो जातिब्राह्मण एव सः” २।२।६) भन्ने वचनहरूबाट स्पष्ट हुन्छ । यस्तै कुरा महाभारतका “तपः श्रुतं च योनिश्च..” अनुशासनपर्व १२१।७) इत्यादि वचनबाट पनि स्पष्ट हुन्छ । यही कुरा “जन्मशारीरविद्याभिः ..” इत्यादि आङ्गिरसस्मृतिका २।४।१०) र पराशरस्मृतिका ८।१९) वचनबाट पनि पुष्ट हुन्छ ।

निष्कर्ष

यस वस्तुस्थितिमा जन्मजात ब्राह्मण विद्या (चेतना विस्तार) र तपस्या (चरित्र)ले पनि युक्त छ भने विशेष मान्य र पूज्य हुन्छ, विद्या र तपस्या नभएपनि विशेष दुर्गुण र दुश्चरित्र नभए सामान्यतया मान्य र पूज्य हुन्छ, विशेष दुर्गुण भए अमान्य र अपूज्य हुन्छ, विशेष दुश्चरित्र भए पतीत, बहिष्कार्य र अव्यवहार्य समेत हुन्छ भन्ने हाम्रो शास्त्रव्यवस्था र मौलिक परम्परा हो भन्ने कुरा स्पष्ट रूपमा बुझिन्छ । ब्राह्मणले चारै पाउले युक्त धर्मको पालन गर्नुपर्ने र आफ्ना नित्य कर्म छाड्दा वा दुष्कर्म गर्दा कडा प्रायश्चित्त गरेर चोखिनुपर्ने शास्त्रीय विधान देखिन्छ । जति सदाचार गर्न सक्यो त्यति नै व्यक्ति सम्मानित हुन्छ भन्ने शास्त्रीय र लौकिक सिद्धान्त एवं व्यवहार पनि छ । यस वस्तुस्थितिमा उक्त वैदिक शास्त्रव्यवस्था र मौलिक परम्पराका विरुद्ध रूपमा एकाङ्गी दृष्टिकोणका आग्रहले विनाप्रमाण बोलिएका अन्यथा कुराहरू वेदबाह्य र भ्रमात्मक हुन् भनेर सजिलै बुझ्न सकिन्छ । विद्वान्हरूले पनि शास्त्रीय वस्तुस्थितिलाई यथार्थ रूपमा समाजका अगाडि प्रस्तुत गरेर भ्रम हटाउनु पर्ने आवश्यकता देखिन्छ ।

बैशाख २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्