तेल अबिबलाई लक्षित गरी ३८ घन्टामा हजारभन्दा ‍बढी रकेट आक्रमण भएको इजरायलको दाबी

इजरायलले पछिल्लो ३८ घण्टामा गाजापट्टीबाट तेल अबिब लक्षित एक हजारभन्दा बढी हवाई आक्रमण भएको दावी गरेको छ।

संयुक्त राष्ट्र संघले युद्धको खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेको छ। इजरायलबाट भएको जवाफी हमलामा गाजापट्टीमा रहेका दुई वटा अग्ला भवनहरु ढलेका छन्। तेल अबिब नजिक रहेको सिटी अफ लर्डमा आपतकाल घोषणा गरिएको छ।

पछिल्लो आक्रमणमा इजरायलतर्फ कम्तिमा ६ जना र गाजापट्टीतर्फ कम्तिमा ४३ जना प्यालेस्टिनीको मृत्यु भएको जनाइएको छ। मारिनेमध्ये १३ जना बालबालिका पनि छन्। जेरुसेलममा इजरायली पुलिस र प्यालेस्टिनी प्रदर्शनकारीबीच भएको तनावले पछिल्लो स्थिति सिर्जना भएको हो।

इजरायली सेनाले सन् २०१४ यताकै ठूलो भिडन्त भएको जनाएको छ। इजरायली सेनाका अनुसार विद्रोही समूह हमासबाट भइरहेको रकेट आक्रमणमध्ये ८ सय ५० इजरायलको जमिनमा खसेको वा आकाशमै विस्फोट गराइएको छ भने  २ सय गाजापट्टी नै फर्काइएको छ।

विस्फोटका आवाज तेल अबिब,आस्केलन, मोडिन, बिर्सेबा लगायत ठाउँमा चर्को सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। इजरायलले रकेट प्रहार गर्न सजिलो हुने गाजापट्टीका अग्ला भवनहरुलाई निशाना बनाई जवाफी हमला गरिएको बताएको छ। हमासले भने विपक्षीले आवाशीय क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको र प्यालेस्टिनी नागरिकलाई पनि सुरक्षाको हक भएको उल्लेख गरेका छन्। इजरायलका रक्षामन्त्री बेनी गान्ट्जले गाजापट्टीमा भएको आक्रमण सुरुवात मात्रै भएको भन्दै युद्ध बढ्न सक्ने संकेत गरेका छन्।

‘इजरायललाई आक्रमण गर्ने आतङ्कवादी समूहको निर्णयविरुद्ध उनीहरुलाई पनि कडा प्रहार भएको छ र यसलाई निरन्तरता दिइने छ। हामी लामो समयका लागि शान्ति सुव्यवस्था फर्काउने छौँ’, गान्ट्जले भनेका छन्।

हमास नेता इसमाइल हानियले टेलिभिजन सम्बोधनमा इजरायल आक्रमणका लागि तयार भएको भए आफूहरु पनि तयार रहेको र अन्त्य गर्न चाहेको भए त्यसका लागि आफूहरु पनि तयार रहेको बताएका छन्।

अरबी मूलका इजरायलीको बसोबास रहेको सिटी अफ लर्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप बढ्न थालेपछि त्यहाँ आपतकाल घोषणा गरिएको हो। प्रहरी कारबाहीमा केही स्थानीय सर्वसाधारण मारिएपछि हिंसा भड्न सक्ने चिन्ता इजरायली सरकारको छ।

पूर्वी जेरुसेलममा एउटा पवित्र धार्मिक स्थल छ जसलाई मुस्लिम (प्यालेस्टिनी वा अरबी इजरायली)हरुले हराम अल सरिफ भन्छन् भने यहुदीहरुले टेम्पल माउण्ट भन्छन्। हमासले इजरायललाई त्यस क्षेत्रबाट प्रहरी फिर्ता बोलाउन आग्रह गर्दै आएको थियो। मध्य अप्रिलमा मुस्लिमको पवित्र चाड रमदान सुरु भएदेखि नै प्रहरी र प्यालेस्टिनीबीच द्वन्द्व चर्किएको थियो।

पूर्वी जेरुसेलममा यहुदीहरुले प्यालेस्टिनीहरुलाई घरबाट निकाल्ने चेतावनी पनि दिइरहेको बताइएको छ। पूर्वी जेरुसेलममाथी विजय पाएको अवसरमा इजरायलले मनाउने जेरुसेलमन डे पनि यहि समयमा पर्छ। पूर्वी जेरुसेलममा प्यालेस्टिनीहरुको बाहुल्य छ।

बैशाख २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्