सम्पादकीय

मृत्युको हुँकार र संवेदनहीन सरकार

मुलुक कोरोना महामारीको ताण्डवमा फसेको छ। संक्रमण पोजेटिभिटी दर ५० प्रतिशत नाघेको छ। मृत्यु संख्या हरेक दिन रेकर्ड कायम गर्न सफल भएको छ। पशुपति आर्यघाट तथा अन्य अन्त्येष्टि थलोहरुमा पार्थिव शरीरका चाङ लागेका छन्। देशवासीहरुको निधनमा मुलुक शोकाकुल छ।

अस्पतालहरुमा अक्सिजनको अभावले एकातिर कोभिड १९ संक्रमितहरुमाथि खतरा बढेको छ भने अर्कोतिर अन्य गम्भीर बिमारीबाट आक्रान्तहरु समग्र उपचारबाट वञ्चित भई असामयिक निधनको शिकार बनेका छन्। यो दुःखद् घडीमा स्वास्थ्य मन्त्रालयले अत्यन्त गैरजिम्मेवार र संवेदनहीन अनुहार प्रदर्शन गरेको छ। महामारीमा सबैले उपचार पाउने हक राख्दैनन् भन्ने तालुकवाला मन्त्रालयको अभिव्यक्तिले सरकारको औचित्य र सान्दर्भिकतामाथि नै आम जनताले प्रश्न उठाउने अवसर पाएका छन्। संविधानमा मौलिक हक अधिकारका रुपमा उल्लेखित विषयलाई यति हल्का र उत्तेजक टिप्पणी र अभिव्यक्ति के सरकारकै नीति हो त?

दुर्भाग्य मुलुक सरकारविहीन छ। तर, हिजो सरकार छँदाको अवस्थामा ऊ कति संवेदनहीन र असफल थियो भन्ने कुरा भ्याक्सिन आपूर्ति र यसअघि महामारीको पहिलो चरणमा औषधि तथा स्वास्थ्य उपकरण आयातमा भएका भ्रष्टाचार र त्यसमा संलग्नहरुलाई सरकारको उच्चतम तहबाट दिइएको संरक्षणले स्पष्ट पार्छ। त्यति मात्रै हैन, अन्तर्राष्ट्रिय र सम्पन्न मुलुकहरुबाट भ्याक्सिन, अक्सिजन, भेन्टिलेटर आदि सामग्री र सहयोग जुटाउन नेपालको तर्फबाट प्रभावकारी र पर्याप्त ‘लविङ’ नदेखिनुले हाम्रो कूटनीतिको फितलोपन तथा त्यसमा मानवीय पक्षको अनुपस्थिति सावित गर्छ।

सरकार गठन र सत्ता निर्माणमा लागेका दलहरु समेत कोरोना महामारीप्रति र त्यसका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रुपम ज्यान गुमाउनेहरुप्रति कुनै चिन्ता र चासो देखाएका छैनन्, नीतिगत र दलगत रुपमा। राजनीतिबाट संवेदना तथा मानवीयता लुप्त हुँदा राजनीति सत्ताकांक्षी र भ्रष्ट जमातको मनोरञ्जनको थलो बन्छ। दुर्भाग्य नेपालमा त्यही भइरहेको छ।

अक्सिजनसँगै अन्य जीवनरक्षक उपकरण र औषधि आपूर्तिमा सरकारले चासो देखाउनुको साटो अक्सिजन वितरणलाई समेत स्वास्थ्य मन्त्रालयको जिम्मा लगाउनु अत्यन्त खेदजनक कार्य हो। त्यसैको परिणामस्वरुप मृत्युदरमा अत्यन्त वृद्धि भएको छ। १० बजेदेखि ५ बजेसम्म काम गर्ने स्वास्थ्य मन्त्रालयको तोकमा र सिसिएमसीको सिफारिसमा ‘अक्सिजन कोटा’ वितरण आफैँमा आपराधिक हो। आवश्यकता र हचुवा ‘कोटा’ आफैमा अव्यवहारिक र अवैज्ञानिक छन्।

यी सबै निराशा र शोकका बीच कोरोनाबाट ज्यान गुमाउनेहरुको अन्त्येष्टिमा सेनाले देखाएको कर्तव्यपरायणता तथा ज्यान गुमाउनेहरुलाई उसले दिएको स–सम्मान विदाई त्यतिकै गौरवपूर्ण र मानवीय छ, जति तिनलाई बचाउन आफ्नै ज्यान खतरामा पारी चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीले प्रदर्शन गरेको समर्पण।

तर, सरकारको राजनीतिक नेतृत्व र राजनीतिक दलहरु समग्र रुपमा जनताप्रति उदासीन र निरपेक्ष देखिएका छन्, त्यसले एउटै सन्देश दिएको छः नेपालका लागि राजनीति र राजनीतिक दल अभिशाप बनेका छन्।

बैशाख २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्