ट्रम्पको आलोचनाका कारण रिपब्लिकन पार्टीले सांसद लिज चेनीलाई नेतृत्वबाट हटायो

अमेरिकामा रिपब्लिकन पार्टीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका कारण शीर्ष सांसद लिज चेनीलाई नेतृत्वयादी भूमिकाबाट हटाएका छन् ।

बुधबार रिपब्लिकन पार्टीले सदनको नेतृत्वदायी भूमिकाबाट हटाउने पक्षमा मतदान गरेको हो । वायोमिङ्गकी सांसद चेनी अमेरिकी पूर्व उपराष्ट्रपति डिक चेनीकी छोरी हुन् । उनी सन् २०१९ देखि तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा तेस्रो बरियताकी नेतृ थिइन् ।

मंगलबार उनले सन् २०२० को चुनावमा धाँधली भएको भन्ने ट्रम्पको गलत भनाई र झुटलाई बढावा दिएमा आफ्नो पार्टी सत्यको पक्षमा उभिन नसक्ने बताएकी थिइन् ।

तल्लो सदनमा रिपब्लिकनहरुले यहि महिना (मे) उनको स्थानमा ट्रम्पप्रति बफादारलाई नियुक्त गर्ने सम्भावना छ ।

चुनावमा पराजित भएको ६ महिनापछि ट्रम्प रिपब्लिकन पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्तिका रुपमा स्थापित भएको यो घटनाले देखाउने विश्लेषकले बताएका छन् ।

स्थानीय समय अनुसार बुधबार बिहान भएको रिपब्लिकन सांसदहरुको बन्द मतदानबाट चेनीलाई पदबाट हटाइएको हो । रिपब्लिकन सांसदहरुले नेतृत्वमा रहँदा उनको भूमिकालाई सम्मान गरे पनि उनले सम्बोधनको क्रममा प्रजातन्त्रलाई खतरामा पार्ने खालको ट्रम्प गतिविधि पार्टीमा स्थापित हुन दिन नहुने बताउँदा चर्को हुटिङ्गको सामना गर्नु परेको बताइएको छ ।

अधिकांश रिपब्लिकन सांसदले चेनीलाई नेतृत्वबाट हटाउनु पर्ने पक्षमा मत दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । चेनी ट्रम्पको गम्भीर आलोचक हुन् ।

उनले गएको जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका ट्रम्प दोषी रहेको बताउँदै आएकी छन् । नेतृत्वबाट हटाइएपछि पनि चेनीले आफ्नो लडाईँ जारी रहेको बताएकी छन् ।

बैशाख ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्