खोप ल्याउन कूटनीतिक पहल हुँदै, तत्काल आउने सम्भावना न्यून

फाइल तस्बिर।

काठमाडौँ– कोरोना भाइरसविरुद्धको खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउनका लागि छिमेकी तथा मित्रराष्ट्रहरुसँग निरन्तर पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि सहयोगको आग्रहसहित विभिन्न देशलाई औपचारिक पत्राचार नै गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालले जानकारी दिएकी छन्।

देश सञ्चारसँग प्रवक्ता लम्सालले भनिन्, ‘हामीले देश विशेषलाई खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री माग गरि पत्रचार गरेका छौँ । कुरा सकारात्मक रुपमा अघि बढिरहेको छ।’

अमेरिका, बेलायत, जर्मनी, अस्ट्रेलिया, चीन, भारत र रसियालाई पहिलो चरणमा नेपालस्थित दूतावासहरु तथा नेपालका सम्बन्धित देशस्थित दूतावासमार्फत पत्रचार गरिएको उनले जानकारी दिएकी छन्।

उनले भनिन्, ‘यी देशसँग खोपकै लागि पहल भइरहेको छ । तर तत्कालका लागि खोप सहयोग स्वरुप पाउने सम्भावना त्यति देखिएको छैन । उनीहरुले सकारात्मक कुरा गरिरहेका छन् । तत्काल नभए पनि केही समयभित्र खोप आउन सक्ने छ ।’

सुरुमा सहयोग स्वरुप नै खोप माग गरी पत्राचार गरिएको भए पनि अहिले खरिद प्रक्रियाको कुरा पनि भइरहेको सहसचिव लम्सालले बताइन् ।

‘खोप उत्पादन हुने देशहरुसँग कुरा गर्ने हो । उनीहरुकै देशमा पनि संक्रमणको अवस्था छ, आफ्नै नागरिकलाई प्राथमिकतामा राखेका पनि छन् । यस्तै कूटनीतिक सम्बन्धका आधारमा आफ्ना लागि महत्वपूर्ण देशहरुलाई उनीहरुले प्राथमिकतामा राखेका छन् । हामीले अवस्था गम्भीर बन्दै गएको भनि नेपालका लागि पनि पहल गरिरहेका छौँ’, उनले भनिन् ।

युरोपियन युनियन (इयू) सँग पनि सहयोगका लागि लिएर कुराकानी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया तथा बंगलादेशसँग पनि अत्यावश्यक स्वास्थ्य सामग्रीको सहयोग तथा खरिद प्रक्रियालाई लिएर कुराकानी भइरहेको प्रवक्ता लम्सालले बताइन् ।

नागरिक अभियन्ता तथा विज्ञहरुले पनि अमेरिका, बेलायतसहितका देशहरुलाई नेपालमा कोरोना भाइरस महामारीको अवस्था भारतको जस्तै भयावह बन्ने तर्फ गइरहेको भन्दै खोप तथा अक्सिजनसहितका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिदिन अपील गरिरहेका छन् ।

अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सिनेटरहरुले नेपालमा कोरोना भाइरस महामारीको अवस्था र सहयोगका लागि भइरहेको पहलबारे अमेरिकी सहयोग नियोग युएसएडका प्रतिनिधिसँग ब्रिफिङ्ग माग गरेका थिए । त्यसक्रममा युएसएसडका प्रतिनिधिले नेपाल आफूहरुको सहयोग सूचिको प्राथमिकतामा रहेको र काम भइरहेको बताएका थिए ।

‘मानवीय संकट’ अवस्था घोषणाको तयारी छैन

परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले महामारीको यो लहरमा संक्रमण तथा मृत्युदर तीव्र रहे पनि अहिले नै मानवीय संकटको अवस्था घोषणा गर्नेबारे छलफल नभएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘अवस्था कठिन बन्दै गएको छ । गाह्रो त छ, तर मानवीय संकटको अवस्था नै घोषणा गर्ने गरी तत्काललाई छलफल भएको जानकारी भने छैन ।’

भौतिक दूरी, सरसफाईसहितका उपायहरु राम्रोसँग अपनाएमा अवस्था नियन्त्रण तर्फ आउँछ भन्ने अपेक्षा रहेको उनले बताइन् । तर दैनिक रुपमा संक्रमण तथा मृत्युदर बढ्दै गएको तथा अस्पतालहरुमा शय्या एवम् अक्सिजनको अभाव हुँदै जाँदा विज्ञहरुले भने मानवीय संकट घोषणा गरि सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपील गरिनु पर्ने सुझाव दिएका छन् ।

बैशाख ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्