एक सय दुई वर्षमा प्रवेश गरेको मेरो विशेष दिन

एक सय एक वर्ष पूरा गरेर एक सय दुई वर्षमा प्रवेश गरिरहँदा आज मेरो विशेष दिन हो। यस्तो बेलामा मलाइ मेरा जन्मदिने बा आमाको असाध्यै याद आइरहेको छ।

मेरो घरको चोकमै मैले आमा र बुवाको प्रतिमा नै स्थापना गरेको छु।

बिहान स्नान गर्दा म एकपटक जल अर्पण गर्ने र बेलुकी सम्झनाको रुपमा दियो बालेर आरती गर्ने चलन अहिले पनि कायमै छ। यसरी म हरेक दिन कम्तीमा एकपटक मेरा जन्मदाता आमा र बालाई सम्झने गर्छु।

आमाको माइती काठमाडौंको ओटु टोलको डौबहालमा हो। मेरो मावल बाजेको पेशा वैद्य थियो। त्यो बेलाका बझांगी राजाका दरबार सायद नक्साल तिर थियो। चन्द्रशम्शेरको छोरी नै बझांगी महारानी थिइन्। मेरो मावल बाजे त्यो बझांगी दरबारमै वैद्य हुनुहुन्थ्यो।

त्योबेला आधुनिक उपचार पद्दती भित्रिएकै थिएन। स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मेवारी वैद्यहरुले नै सम्हालेका हुन्थे।

अर्कोतिर फेरि मेरो आमाको मावली चाहिँ पाटन नै थियो। पाटन पनि मंगलबजार महापाल टोलमा। महापाल जोशी खलककी भान्जी हुनुहुन्थ्यो मेरी आमा।

मेरो आमाको कुन उमेरमा विहे भयो थाहा भएन।

बिहे भएपछिको जेठो छोरोको रुपमा म नै जन्मिएँ। आमासँग जोडिएको बाल्यकालको सम्झना मलाइ ज्यादै थोरै मात्र आउँछ। खास चाहिँ आमाको दूध बेस्सरी खान्थेँ। म घरि घरि आमाको छेउ पुगेर उहाँको छातीमा टाँसिहाल्थेँ। त्यो झझल्को अहिले पनि आइरहन्छ।

कहिले काहिँ आमा अर्कैतिर ब्यस्त भएको बेला म जोडसँग रुने कराउने पनि गर्थेँ। त्यसपछि जे जस्तो काम भएता पनि त्यसलाई छाडेर आमाले मलाइ लिँदै दूध खुवाउनु हुन्थ्यो।

मैले दुई तीन वर्षको उमेरसम्म पनि आमाको दूध खान छाडिनँ। आमाले पनि खुशी खुशी खुवाइरहनु भयो।

अहिले म सम्झन्छु। म आज जुन एक सय एक वर्ष पुरागरेर एक सय दुइ वर्षमा पुगेको छु, त्यसमा आमाको पोषिलो दूधको निकै धेरै हात छ। त्यसै पनि आमाको दूध असाध्यै राम्रो भनिन्छ। मैले असाध्यै धेरै नै आमाको दूध चुसेको थिएँ।

आमाको दूध चुस्दाखेरि त्यो बेलाको सुनको भाउ असाध्यै सस्तो थियो। पन्ध्र सोह्र रुपैयाँमै एक तोला आउँथ्यो। घरकै जेठो सन्तान भएपछि मेरो असाध्यै महत्व पनि थियो। मेरो कानको दुवैतिर सुनको मुन्द्री थियो। त्योबेलाको नम्बरी सुन दुवैतिर लच्किरहेको हुन्थ्यो। त्यो सुनको मुन्द्री र आमाको छातीमा टाँसिएर दूध चुसेका कुराहरु आज पनि मेरो सम्झनामा आइरहन्छ।

जेठो छोरो भएकोले असाध्यै पुलपुलिएको पनि थिएँ।

त्यो बेला विरामी भएपछि पनि पाटन भरिमै डाक्टर थिएन। एउटा कम्पाउण्डरधरि थिएन।

यो भीमसेनथानमा रखवारी गर्ने काम दर्शनधारी अर्थात् कुस्लेहरुले गर्थे। त्यो रखवारी गर्नेको नाममा उनीहरुका विधि विधान अलिक दार्शनिक पाराकै थियो। यसरी पालो बस्ने उनीहरुको जम्मै सत्तल पौवाका रुपमा यो मंगलबजारमा आफ्ना आफ्ना घर थियो। त्यसैमध्ये एकजना बुढो भिमसेनको पुजारीकै खलकमा बस्थे। उनी यो भेगमै झारफुक गर्न जान्ने मानिसका रुपमा कामयाबी थिए। मलाइ अलिकता केहि हुनेबित्तिकै आमाले बोकेर त्यहिँ लगिहाल्नु हुन्थ्यो।

फुकफाक गरेपछि बिगुती लगाइदिने र जल ख्वाउने काम गर्थे।

म यतिबेला आएर अनुमान लगाउन खोज्छु, सायद त्यतिबेला मलाइ खुवाइने कुरामा गाँजाको केहि मिश्रण थियो होला। केटाकेटीलाई लठ्याउन प्रयोग गरिएको। त्यसको स्वाद त गुलियो केहि मिसाएको जस्तो हुन्थ्यो। तर, गन्ध चाहिँ अहिले सम्झँदा गाँजा पो हो कि जस्तो लाग्नथालेको छ।

त्यहि गोलो गोलो औषधि जस्तो गरेर बनाएको चिज दुइ तीनवटा ख्वाउँथे। त्यो खाएपछि म गुलियोमा मख्ख पर्थेँ। त्यसैगरि त्यसले मलाइ लठ्ठ पनि बनाउँथ्यो।

केहि समयमै ममा देखिएको समस्या पनि निराकरण हुन्थ्यो।

यसरी एवं रितले मेरो आमा मलाइ बारंबार त्यहाँ लगेर देखाइरहनुहुन्थ्यो र म त्यो गुलियो लठ्याउने औषधि खाइरहन्थेँ।

मेरी आमालाई माइतबाट बेला बेलामा बोलाउन आइरहन्थे। लिन आउने एकजना बुढी थिइन्। ती बुढी आएपछि हामीहरु ‘ल अब मामाघर जाने’ भन्न थाल्थ्यौं। यता आमाले पनि लुगा कपडा कस्न थाल्नुहुन्थ्यो।

मलाई ती बुढीले नै उनको पिठ्युमा बोकेर लैजान्थिन्। त्यसरी बोकेर लैजानुभन्दा अगाडि आमाले त्यो बेलाको चलन अनुसार श्रृृंगार पटार गरिसकेपछि पाइतालाको माटो र त्यसमा थुक मिसाएर टिको बनाउनु हुन्थ्यो। भूतप्रेत अथवा अरु केहि कसैले सन्तानलाई केहि गर्न नसकोस् भनेर त्यो बेलाकी एउटी आमाले गर्ने सुरक्षा प्रवन्ध त्यस्तो हुन्थ्यो।

त्यो टिको मलाई लगाइदिएपछि बल्ल म ती बुढीको पिठ्युमा बोकाइन्थेँ।

त्यसपछि उनैले बोकेर मलाइ लैजान्थिन्। बाटोमा त्रिपुरेश्वरतिर बाँदरहरु देखिन्थे। पिठ्युमा बोकिएको मलाइ त्यो बाँदर देखाइन्थ्यो। म रमाउँथे। मन्दिरमा चारकुनाका चारवटा सिंह पनि देखाउँथे। टुँडिखेल यतातिर बाघखोर भन्ने थियो। त्यहाँ बाघ सिंह जस्ता कुरा पालिएका हुन्थे। त्यो देखाएर मलाइ तर्साउने काम पनि गर्थे। त्यसपछि धरहरा पनि देखाउँथे।

त्यो हामी मामाघर जाने मूलबाटै थियो। काठमाडौं आवतजावत गर्ने मूलबाटो पनि त्यहि थियो। यसरी म ओटुस्थित मावली पु¥याइन्थेँ।
मेरी आमाकी बहिनी मामाघरमा हुनुहुन्थ्यो। मामाघरका सबैले जस्तै उहाँले पनि मलाइ ख्वै किन हो ‘नाती’ भनेरै पुकार्नु हुन्थ्यो।

म पुग्नेबित्तिकै हत्तपत्त सबैभन्दा पहिले तिनै सानीआमा नाती भन्दै आइपुग्नुहुन्थ्यो।

‘नाती आयो नाती आयो’ भन्दै ठूलै हल्लाखल्ला मच्चिन्थ्यो।

त्यो बेलाको समय अनुसार मलाइ दुलहा बनाउने र मेरो मावलीकै कुनै केटीलाई दुलही बनाउने काम गरेर हामी केटाकेटीको विहे गराइदिने जस्ता अनेक रामरमिता पनि मामाघरमा चल्थे। जन्ती जाने, भोज खाने जस्ता सबै प्रकृया गरिरहँदा म वाल्ल परेर हेरिरहन्थेँ। म चाहिँ बेहुली बनाइएकी र अरु पनि त्यहाँका केटाकेटीहरुसँग मिलेर पुतली खेलेर रमाउँदै बसिरहन्थेँ।

यता पाटनस्थित घरतिर चाहिँ मलाइ त्यति महत्व पाएर रमाइलो गरेको उत्तिको याद छैन। बरु आफ्नै किसिमले म खेलेर दिन बिताउथेँ।
यसै क्रममा करिब छ सात वर्षतिरको उमेर हुँदाको कुरा हो, हामी केटाकेटीहरु मिलेर खेल्थ्यौं। यतातिर भँगेरा असाध्यै हुन्थे। त्यस्ता भँगेराका बच्चा समातेर ल्यायो र त्यसलाइ थोरै तालिम पनि दियो भने दुइ पैसा पाइन्थ्यो। नत्र कोरा बच्चा मात्र समातेर ल्याएको छ भने त्यसलाई बेच्दा एक पैसा पाइन्थ्यो।

एकजना साथीले मेरो घरमा भँगेराले बच्चा पाइरहेको छ र यदि मैले त्यो समातेर उसलाई दिएँ भने पैसा दिन्छु भन्यो।

मैले जाबो एक दुइ पैसाको लोभले माथि तल्लाको झ्यालबाट निस्केर भँगेराको प्वालमा हात पसालेर बच्चा समातेर ल्याएँ। त्यो बेला त्यति माथिबाट चिप्लिएको मात्र भए म त्यतिबेलै मरिसकेको हुन्थेँ। तर, साथीभाइ र पैसाको लोभले मैले त्यतिसम्मको जोखिम लिएँ।

त्यो भँगेरा दिएपछि मलाइ एक पैसा हातमा हालिदिएको थियो।

त्यसैगरि म गुच्चा पनि खेल्थेँ। तर, गुच्चा किन्नको निम्ति पैसा हुँदैन थियो।

सोडाको बोतलमा गुच्चा राखिएको हुन्थ्यो।

त्यो बोतलबाट कसरी गुच्चा झिक्ने भनेर केटाकेटी दिमागलाई खुब घुमाउँथे। त्यो मुख फोडेरै गुच्चा झिकेको पनि मलाइ याद छ।

त्यसरी बोतल फुटेको कारण दिनको लागि चाहिँ म एउटा न एउटा बहाना खोजिहाल्थेँ।

कहिले काहिँ त यस्तो उपद्रो बानीले गर्दा कुटाइ पनि खान्थेँ।

एकपटक आमा सुत्केरी हुनुभएको थियो। मलाइ हातमा एक पैसा राखिदिँदै ‘छोहडा किनेर ल्याउ’ भनेर अह्राउनु भयो। त्यो छोहडा मेरो आमाले भर्खर जन्माएको भाइलाई खुवाउनु पर्ने थियो। तर, किनेर ल्याउँदै गर्दा मैलाइ पो खाउँ खाउँ लाग्यो। यस्तो अवस्थामा लोभ त्याग्न नसकेर मैले आधा टोकेर खाइदिएँ।

अब छोहडा आधा त भइसक्यो। लैजाने कसरी? बडो समस्या भयो। मैले केटाकेटी दिमागबाटै उपाय निकालेँ। हिलो जमेको ठाउँमा त्यो छोहडा खसालिदिएँ र हिलो लतपत लागेको छोहडा दिँदै ‘माटोमा खस्यो’ भनेँ।

मैले झुठो बोलेको त खुली हाल्यो। त्यसदिन मारसँग कुटाइ खाएको थिएँ।

त्यसभन्दा पहिले म केटाकेटी हुँदा सिंगो घरमा कोहि बच्चा थिएनन्। आमा पानी लिनको लागि इनारमा जानुपथ्र्यो। इनारबाट पानी तानेर ल्याउन्जेल छोरो कतै नजाओस्, भर्‍याङबाट नलडोस् भनेर पटुकाले हलुकासँग बुइँगलको थाममा बाँधेर जानुहुन्थ्यो। पछि कृष्णलीलाका दृश्यमा उसका आमाले पनि मख्खन चोरेर नखाओस् भन्दै त्यसैगरि बाँधेको देख्दा आफ्नो सम्झना पनि आएर रमाइलो लागेको थियो।

बाँधिएपछि म कराइ रहन्थेँ। आमा चाहिँ बेवास्ता गरेजस्तो गरेर पानी लिएर आउनुहुन्थ्यो। पानी ल्याइसकेपछि फेरि मलाइ फुकाएर के गर्दा म खुशी हुन्छु त्यो गरिदिनुहुन्थ्यो।

अर्को एउटा सम्झना पनि मलाई हुन्छ।

म छ सात वर्षको हुन्जेलसम्म पनि राम्रोसँग बोली फुटेको थिएन। केहि लठेब्रो पाराकै थिएँ। स्पष्ट आवाज निस्कन्थेन।

यस्तोमा त्यतिबेलाको परम्परा पछ्याउँदै धार्मिक तवरले उपचार गर्न निकै पर जानुपर्ने भयो। त्योबेला हिँडाएर लैजान सम्भव थिएन। मलाइ र त्यो भाकल गरेको पुजाको ‘कलः’लाई आलोपालो गरेर बोकेरै लैजानु पर्ने भयो।

त्यो बेला यसरी नै यहाँ पाटनबाट तीन साढे तीन कोस टाढाको भक्तपुर छेउको जंगलस्थित सूर्यविनायक मन्दिरमा बोकेर लगेको अहिले पनि सम्झना आउँछ। त्यहाँ विधिवत् पुजाआजा गरेपछि एउटा विचित्रको उपाय अपनाइयो। म केहि कुरामा अलमलिएको मौका छोपेरै बा र आमा दुवैजना बेपत्ता भइदिनुभयो। मेरो त होश हवासै उड्यो। त्यसपछि बेस्करी चिच्याएँ। आमा आमा, बा, आमा…। त्यो जंगलै काँप्नेगरि मैले चिच्याएको थिएँ।

त्यसरी चिच्याएपछि नै मेरो बोली फुटेको थियो। त्योबेला भगवानको कृपाले यसरी बोली फुटेको भनियो। तर, मलाइ चाहिँ अहिले पनि त्यो बेला अकस्मात बा आमा गायब भएपछि भित्रैबाट तर्सेको अवस्थाको सम्झना हुन्छ।

एकैछिनमा ‘के भो के भो’ भन्दै बा आमा दुवैजना दायाँ बायाँबाट आइपुग्नुभयो।

त्यसपछि फेरि पुजाआजा भयो।

यसरी मेरो बोली स्पष्ट भएको थियो।

त्यसैगरि अलिक ठूलो भएपछि टोलका मानिसहरुसँग तेलकासा खेल्ने, ‘काने काने पिच्चा’ भन्दै कानमा कौडाले थिचेर खेल्ने, लठ्ठीकासा खेल्ने र झरेको भोगटे टिपेर ल्याएर भकुण्डोजस्तो खेल्ने जस्ता कामहरु गर्न थालियो।

त्यसैगरि ‘ता च्वया भिच्यु’ अर्थात् अरुले नदेख्ने गरेर विभिन्न स्थानमा धर्काहरु तान्ने र त्यसमा जति धर्का फेलापार्न सकेन उत्तिकै मात्रामा अर्काको हातमा कुट्न पाइने जस्ता खेलहरु पनि थिए।

त्यसैगरि जमिनमा गोटी चालेर खेल्ने ‘घः कासा’ पनि थियो।

अलिक ठूलै र जान्ने भइसकेपछि चाहिँ बाघचाल खेल्न थालेको थिएँ।

यसरी हुर्कँदै जाँदा पाँच छ वर्ष पुगेपछि एकदिन बाले काठको पाटीमा अंगारले लिप्दै खरी समात्न लगाउनुभयो। त्यो श्रीपञ्चमीको दिन थियो। त्योबेला हाम्रो पुरोहित र दीक्षा दिने गुरु एकैजना थिए।

विद्यानन्द नामका तिनै गुरुले मलाइ हात समाएर ‘ओम नमो बागीश्वराय’ अक्षरै पिच्छे छुट्टाछुट्टै उच्चारण गर्न लगाए। अर्थ थाहा नभए पनि मैले पछ्याएँ। त्यसपछि लेख्न पनि लगाए। यसरी ओमबाट मेरो अक्षर शुभारम्भ भएको थियो।

(प्रस्तुतीः गिरीश गिरी)

बैशाख ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्