मेरा हजुरबाले भनेको ‘किरा परेको बुद्धि’

म सानो छँदा कुनै काम बिगारेपछि हजुरबाले गाली गर्दै भन्नुहुन्थ्यो, ‘तेरा किरा परेको बुद्धि !”

त्यो सुन्दा म खुब निराश हुने गर्दथें ।

नाति रिसायो भन्ने बुझेर हजुरबाले फकाउँदै भन्नुहुन्थ्यो, ‘नरिसा न केटा । मैले तँलाई कहाँ गाली गरेको हो त रु मैले त तेरो बुद्धिलाई पो गाली गरेको त ।’

त्यसपछि मैले कौतुहलासहित सोध्ने गर्दथें, ‘अनि हजुरबा ! त्यो किरा परेको बुद्धिचाहिँ कस्तो हुन्छ त ?’

प्रत्युत्तरमा हजुरबाले मेरो टाउकोमा मुसार्दै अनि मुस्कुराउँदै भन्नुहुन्थ्यो, ‘अहिले तँ सानो छस् । पछि ठूलो भएपछि थाहा पाउँछस् ।’

अहिले हजुरबा त हुनुहुन्न । उहाँले भने जत्तिको ठूलो भएँ कि भइनँ, त्यो पनि थाहा छैन । तर किरा परेको बुद्धि कस्तो हुन्छ होला भन्ने खुल्दुलीचाहिँ लागिरहन्छ ।

सायद, रोम जलेको प्रत्यक्ष हेरिरहँदा उत्सव मनाएर गीत र सङ्गीतमा मस्त रहने शासक निरोको जस्तो पो हुन्छ कि ?

वा देशमा कोरोना कहरले थिलोथिलो बनाएर मानिसका लाशहरू जलिरहेको देख्दादेख्दै पनि ‘जबसम्म सत्तामा म छु तबसम्म सब ठीक छ’ भन्ने मानसिकता बोकेका शासकको जस्तो पो हुन्छ ?

मैले बुझ्न सकेको छैन ।

कि त त्यसरी मानवीय समवेदनालाई बेवास्ता गर्दै त्यही सत्ताको लुछाचुँडीमा र कुर्सीको खेलमा मस्त भइरहने नेताहरूको जस्तो पो हुन्छ कि ?

अथवा त्यस्तो विकराल अवस्था देख्दादेख्दै पनि तिनै नेताको वरिपरि रहेर ‘हुन्छ, हजुर भैहाल्छ नि !’ भन्दै चाकरी गर्नमैं मस्त रहने चाकरीदारहरूको जस्तो पो हुन्छ कि ?

हे ज्ञानी ! हे महात्मा ! हे विद्वान् !

मलाई सहयोग गर । मलाई बुझाइदेऊ । के मेरा हजुरबाले मलाई भनेको जस्तै यी मानिसहरूका बुद्धि किरा परेका नै हुन् त ?

जतिबेला न्यूजिल्याण्डमा कोरोनाका सुरुवाती बिरामीहरू देखिए त्यहाँकी प्रधानमन्त्री जसिन्डा आर्डनले तत्काल यसबाट देशलाई मुक्ति दिलाउन ‘राष्ट्रिय स्वास्थ्य समन्वय समिति’ गठन गरेर विज्ञको सुझाव र विज्ञानले दिएको तथ्यहरू माथि उभिएर देशलाई लकडाउन गर्ने निर्णय गरेकी थिइन् ।

ठीक त्यति नै बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली संसदको मञ्चमा गएर नेपालीको रोग प्रतिरोधात्मक शक्ति अरूको तुलनामा धेरै छ भनेर पुष्टि गर्दै थिए । उनको त्यो वाणीलाई पुष्टि गर्ने आधार उनको आफ्नै अहङ्कार मात्र थियो । त्यस अहङ्कारी वाणीलाई त्यहाँ उपस्थित धेरै सत्तापक्षीय सांसदहरूले टेबल ठटाएर अनुमोदन गर्दै थिए ।

शायद, उनीहरूलाई लाग्यो प्रधानमन्त्रीले बोलेपछि त्यो महावाणी हो । त्यसैले त उनीहरूले त्यसको सत्यतामाथि कुनै प्रश्न उठाउन सकेनन् र यसरी टेबल ठटाए मानौँ नेपालीहरूको प्रतिरोधात्मक शक्ति विश्वका अरू देशमा भएका मानिसहरूको तुलनामा बढी हुन्छ भनेर विश्व स्वास्थ्य सङ्गठनले नै प्रमाणित गरेको छ ।

न्यूजिल्याण्डकी उनै प्रधानमन्त्री आर्डनले देशको स्थितिबारे बयान गर्दा अक्सफोर्ड विश्वविद्यालयले दिएको तथ्याङ्कलाई आधार मानेर भनेकी थिइन्, ‘अक्सफोर्ड विश्वविद्यालय भन्छ हामी आन्तरिक घुमफिरमा रोकतोक नलगाउने देशहरूको सूचीमा अग्रस्थानमा छौं ।’

त्यसको विपरीत प्रधानमन्त्री ओलीलाई ‘यस्तो कुरा कस्ले भन्यो ?’ भनेर सोध्ने सांसदको प्रश्नको जवाफमा ‘यो मैले भने’ भनेर ठोकुवा गरिदिए । यो अहङ्कारी उत्तर सिवाय केही थिएन । किनकी त्यसलाई प्रमाणित गर्न सक्ने वैज्ञानिक तथ्य र प्रमाणहरू प्रम ओलीसँग त्यसबखत् केही पनि थिएन ।

कोरोना कालका सुरुवाती दिनमा विश्व स्वास्थ्य सङ्गठनले भन्दै थियो, ‘यो मानवजगतका लागि भयावह समय हो । यसका लागि मानव समुदाय एकजुट भएर लड्नुपर्दछ ।’ राज्यको सत्तामा बसेका शासकहरू त्यतिखेर सत्ता जोगाउने र भत्काउने अङ्क गणितमा व्यस्त थिए । हुन सक्छ, उनीहरूलाई कोरोना भन्ने रोग नक्कली जस्तै लाग्यो । विश्व स्वास्थ्य सङ्गठनले दिएको त्यो खतराको सङ्केतलाई तिनले सुन्नै चाहनेन् वा भनौं सुनेर पनि नसुने झैँ गरिरहे किनकी तिनहरूका लागि त्यो प्राथमिकताको सूचीको अघिल्तिर कहिल्यै परेन ।

संसारका धेरै देशहरूमा कोरोना कहरले निम्त्याएका विनाशका अनेकौं भयावह तस्बिरहरू भाइरल भए । इटाली, जर्मनी, स्पेन, ब्राजिल आदि जस्ता विकसित देशहरूका हृदयविदारक तस्बिर र समाचारले मानवीय समवेदना भएका हरकोही मानिसको हृदयलाई छियाछिया पार्‍यो । फलस्वरूप संसारका अधिकांश देशहरूले त्यसबाट पाठ सिकेर कोरोना रोकथामका लागि लागिपरे । आफ्ना जनतालाई कसरी राहत दिएर यो कहरबाट मुक्ति पाउन सकिन्छ भन्ने मूल उद्देश्यका साथ ती देशहरूले राहतहरूको जोरजाम गर्दै आफ्ना स्वास्थ्य संरचनाहरूलाई बढीभन्दा बढी प्रभावकारी बनाउनतर्फ ध्यान केन्द्रित गरे ।

यद्यपि नेपालमा भने प्रधानमन्त्रीले भनिरहे, ‘कोरोना सोरोना केही होइन । अलिकति बेसार पानी र नूनपानीले कुल्ला गर्नुपर्छ । सब ठिक हुन्छ ।’

के यी शासकले चीनले १० दिनमै एक हजार शैय्याको अस्पताल निर्माण गरेको देखेका थिएनन् होला र ? वा यिनले चीनले त्यसलाई नियन्त्रण गर्नका खातिर अपनाएका उपायहरूबारे अनभिज्ञ थिए होला त ?

वर्तमान स्थिति भयावह छ । नेपाल कोरोना कहरले थिलोथिलो बनेको तथ्य कतै लुकेको छैन । अहिलेसम्म ढाकछोपमा गर्नमैं व्यस्त सरकारले बल्ल सहयोगका लागि याचना गरिरहेको सङ्केत देखिन्छ । बिरामीहरू एक सिलिन्डर अक्सिजनका लागि याचना गरिरहेछन् तर सरकार त्यो दायित्वबाट पन्छिने र दोष अरूमाथि थोपर्ने दाउमा देखिन्छ ।

जब शासकलाई जनताको स्वास्थ्यभन्दा प्यारो आफ्नो सत्ता र कुर्सी लाग्दछ तब ऊ स्वास्थ्यलाई प्राथमिक ठान्दैन र यस्ता संवेदनशिल कामहरूबाट तर्किन खोज्छ । फलस्वरूप उसले अनेक तर्कहरू निकाल्छ र भन्छ, जनताहरू हो ? धेरै आत्तिनु पर्दैन । यो कोरोनाको ओखती मैले पत्ता लगाइसकेको छु । अम्बाको पातको रस खायो भने त च्वाट्टै हुन्छ ।

यस्तो भन्न संवेदनहीन सरकारलाई कुनै वैज्ञानिक तथ्य चाहिँदैन किनकी उसलाई लाग्छ उसको मुखबाट निस्कने प्रत्येक शब्दहरू ‘महावाणी’ बन्नेछन् । अनि ऊ यस्ता तथ्यहीन तर्क सुनेर पनि गलल्ल हाँस्ने र थपडी बजाउने भजन मण्डलीहरूबाट झन् उत्साहित हुन्छ र झन्झन् तर्कहीन वाणीहरू ओकल्दै जान्छ ।

फलस्वरुप कोरोना कहरको पारो अनियन्त्रित बनेपछि जनतन लकडाउन गर्ने नियम त लगाउँछ तर त्यो नियम ऊ आफै पालना गर्दैन । अनि हिँड्छ लखरलखर भिड लिएर उद्घाटन र शिलान्यास गर्न । प्रचारमुखी सरकारलाई लाग्छ, नियम भनेको जनताले मात्र पालना गर्नुपर्छ ।

लकडाउन पनि यसरी लगाउँछ जहाँ उसले दिनदिनै श्रम गरेर गुजारा चलाउनुपर्ने बाध्यता भएका मानिसलाई मान्छे नै ठान्दैन । उसलाई तिनीहरूको न त रोजीरोटीको वास्ता हुन्छ न त सरोकार नै । ऊ दानवीय आदेशसहित कुर्लन्छ, ‘आजबाट यति दिन बाहिर ननिस्कनू ।’ सरकारसँग ती मानिसहरूलाई राहत दिने न कुनै योजना छ न त कुनै आधार नै ।

कोरोना कहरको पहिलो लहरमा धेरै कुरा सिक्न सकिन्थ्यो अनि पछि आउने कहरका लागि योजनाहरू बनाउन सकिन्थ्यो । किन्तु सरकारलाई ती सब कामहरू महत्वहीन लाग्छन् । उसको बुद्धिमा सबैभन्दा महत्वपूर्ण कार्य भनेको सत्तालाई जोगाउनु हो किनकि उसको नजरमा उसलाई र उसका वरिपरि रहनेलाई त्यही सत्ताको रस चुस्ने वानीले लट्ठ बनाइसकेको छ ।

वर्तमान स्थिति भयावह छ । नेपाल कोरोना कहरले थिलोथिलो बनेको तथ्य कतै लुकेको छैन । अहिलेसम्म ढाकछोपमा गर्नमैं व्यस्त सरकारले बल्ल सहयोगका लागि याचना गरिरहेको सङ्केत देखिन्छ । बिरामीहरू एक सिलिन्डर अक्सिजनका लागि याचना गरिरहेछन् तर सरकार त्यो दायित्वबाट पन्छिने र दोष अरूमाथि थोपर्ने दाउमा देखिन्छ ।

बिरामीहरू केवल एउटा अक्सिजन सिलिन्डरका लागि व्याकुल छन् । तर सरकार अब हात उठाउने स्थितिमा देखिन्छ । मानिसहरू सरकारलाई भरोसा गर्न छाडिसकेका देखिन्छन् । अस्पतालहरू हारगुहार लगाउँदैछन् । बिरामीहरू इन्तु न चिन्तु छन् । तैपनि सरकार हात खडा गरेर बसेको देखिन्छ ।

सरकारलाई लाग्दो हो, अब यो मुलुकलाई श्री पशुपतिनाथले उद्धार गरिहाल्छन् नि ! शायद मेरा हजुरबाले भनेको ‘किरा परेको बुद्धि’ पनि यस्तै पो हुँदो हो कि !

 

बैशाख ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्