सेतीको परीक्षणमा एकैदिन ५३४ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको ज्यान गयो

धनगढी – सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार १ हजार २ सय ३ जनामा गरिएको परीक्षणमा थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसमध्ये ४ सय ३३ जना कैलालीका मात्रै रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार धनगढी उपमहानगरपालिकाका १७ पुरुष र ८ महिला गरी २५ जना तथा जिल्लाकै अन्य पालिकाका २७७ पुरुष र १३१ महिला गरी ४०८ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी, प्रयोगशालामा जिल्लाबाहिरका भने ५९ पुरुष र ४२ महिला गरी १०१ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

सेती प्रादेशिक अस्पतालमै उपचारका क्रममा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। २ जना संक्रमित निको भएका छन् भने थप ७ जना अक्सिजन र आईसीयूको सहारा लिन अस्पताल भर्ना भएका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

बैशाख ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्