ट्रम्प बफादारलाई रिपब्लिकन पार्टीले चुन्यो संसदमा तेस्रो बरियताको नेता

अमेरिकामा रिपब्लिकन पार्टीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी बफादार एलिस स्टेफानिकलाई तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभको तेस्रो बरियताको नेतामा चयन गरेको छ ।

न्यूर्योकको सांसद एलिसले ट्रम्पकी तीव्र आलोचक लिज चेनीको स्थान लिएकी हुन् ।

गएको जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा ट्रम्प दोषी रहेको बताउँदै आएकी चेनीलाई गएको बुधबार रिपब्लिकन पार्टीले संसदको नेतृत्वदायी भूमिकाबाट हटाएको थियो ।

शुक्रबार भएको बन्द मतदानमा एलिसले प्रतिस्पर्धी सांसद चिप रोयलाई पराजित गरेकी हुन् । एलिसले १३४ तथा रोयले ४६ मत पाए । एलिसको जित अपेक्षाकृत नै थियो । उनलाई रिपब्लिकन पार्टीका शीर्ष नेताहरुको समर्थन थियो ।

चेनीको बहिर्गमन र एलिसको आगमनले रिपब्लिकन पार्टीमा ट्रम्पको पकड बलियो भएको देखाउने विश्लेषकले बताएका छन् ।

जितपछि एलिसले डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेन र सभामुख न्यान्सी पेलोसीका ‘वामपन्थी एजेन्डाहरु’ विरुद्ध ‘एकीकृत रिपब्लिकन’ पार्टीको नेतृत्व गर्ने बताएकी छन् ।

जनवरी ६ मा भएको घटनापछि चेनीसहित १० रिपब्लिकन सांसदले तत्कालीन राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धी प्रस्तावको पक्षमा मतदान गरेका थिए । चेनीले ट्रम्पविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी छन् ।

वायोमिङ्गकी सांसद चेनी अमेरिकी पूर्व उपराष्ट्रपति डिक चेनीकी छोरी हुन् । उनी सन् २०१९ देखि तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा तेस्रो बरियताकी नेतृ थिइन् ।

गएको मंगलबार उनले सन् २०२० को चुनावमा धाँधली भएको भन्ने ट्रम्पको गलत भनाई र झुटलाई बढावा दिएमा आफ्नो पार्टी सत्यको पक्षमा उभिन नसक्ने बताएकी थिइन् । नेतृत्वबाट हटाइएपछि पनि चेनीले आफ्नो लडाईँ जारी रहेको बताएकी छन् ।

जेठ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्