जनकपुरधाम – कोरोना संक्रमणकाे राेकथामका लागि धनुषामा पनि निषेधाज्ञा जारी गरिएकाे छ। स्थानीय प्रशासनले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरेपछि हरेक वर्ग समुदायका व्यक्ति प्रभावित भएका छन्।

कोरोना राेकथामका लागि जारी निषेधाज्ञाका कारण सबैभन्दा बढि विपन्न वर्ग समस्यामा परेका छन्। दैनिक मजदुरी गरेर जीविकाेपार्जन गर्ने उनीहरुलाई अहिले हातमुख जाेर्न समस्या भइरहेकाे छ।

झण्डै दुई साता देखिकाे निषेधाज्ञाको कारण अब रोगले हैन भोकले नै मर्ने त्रास उत्पन्न भएको उनीहरु बताउन थालेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ मा जमिरिया देवी धर्मशाला रहेको छ। जहाँ कुष्ठरोगी तथा भीख मागेर खानेहरु बस्दै आएका छन्।

जमिरिया देवी भनिने एक महिलाले कुष्ठरोगीहरु तथा भीख माग्नेहरुलाई बासका लागि समस्या नहोस् भन्ने उद्देश्यले जनकपुरधामको शहरी क्षेत्रभन्दा बाहिर वडा नं. ७ मा भवन निर्माण गराउन लगाएकी थिइन्।

उनकै नाममा रहेको सो धर्मशालामा अहिले बालबालिका गरि २० जना कुष्ठरोगी तथा भीख माग्नेहरु बसोवास गर्छन्।

कोरोनाको कारण निषेधाज्ञा लगाइएपछि त्यहाँ बसोबास गर्दै आएका दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा मागेर खानेहरुलाई समस्या उत्पन्न भएको छ।

गत वर्ष कोरोना महामारीमा स्थानीय, प्रदेश सरकार तथा विभिन्न संघ संस्थाले राहत बाँडेकोले समस्या नभए पनि यस वर्ष भने कुनै दाताले आफूहरुलाई सहयोग नगरेको बेचन मण्डलले बताए।

बेचन कवाडीको काम गर्दै आएका छन्। उनी जनकपुरधामसहितको क्षेत्रबाट कवाडीको समान ल्याएर बेच्ने गरेका थिए तर निषेधाज्ञा लागेपछि उनले  काममा जान पाएका छैनन्।

‘अहिले दिनमा खाएपछि रातमा के खाने र रातमा खाएपछि दिनमा के खाने त्यस्कै चिन्ता हुन्छ। कसैले अहिलेसम्म सहयोग पनि गरेनन्,’ उनले भने।

बेचनको घर परिवारमा अहिले चारजना सदस्य रहेका छन्। केही दिन पहिले मात्र उनकी आमाकाे सय वर्षकाे उमेरमा निधन भएकाे थियाे। आमाकाे निधनलगत्तै उनका १८ वर्षीय छाेराकाे पनि बिरामी भएर मृत्यु भयाे।

‘निषेधाज्ञा नभएको समय दिनभर कबाडको समान जम्मा गरेर बेच्ने गरेका थियौँ । दिनहुँ ५/६ सय रुपैयाँ कमाई भइहाल्थ्यो’, बेचनले भने, ‘पहिला जसोतासो दिनभरीको कमाईले परिवारको पेट पाल्थे तर अब साहुसँग ऋण माग्नु बाहेक कुनै विकल्प छैन्।’

गत वर्ष कोरोना महामारी सुरु भएपछि स्थानीय सरकारबाट राहतमा चामल, दाल, तेल, तरकारी पाए पनि यस वर्ष कहीँबाट कुनै दाताले पनि राहत उपलब्ध नगराएकाले निषेधाज्ञाका कारण समस्या भइरहेको बेचन बताउँछन्।

त्यस्तै जमिरिया देवी धर्मशालामा भीख मागेर गुजारा गर्दै आएकी दुई वृद्धा छिन्। जगतोरिया देवी र चाइना देवी। निषेधाज्ञाले आफूहरुलाई झनै सम्या भएकाे उनीहरुले बताए।

७५ वर्षीया जगतोरिया एकल महिला हुन् । उनी मागेर नै जीवन यापन गर्दै आएकी थिइन् तर अहिले निषेधाज्ञा लागेपछि उनलाई खानमा समेत समस्या भएको छ।

‘पहिले भिख मागेर खान्थे। अहिले भिख माग्न जाँदा प्रहरीले धपाउँछ’ उनले भनिन्।

त्यस्तै ४० वर्षीया चाइना देवी पनि भिख मागेरै जीविकोपार्जन गर्दै आएकी थिइन्। अहिले भिख माग्ने अवस्था पनि नरहेकाेले बाँच्नै कठिन भएकाे उनले बताइन्।

जमिरिया देवी धर्मशालामा बस्दै आएका सुरेश सदाको दुखेसो पनि कम छैन् । उनी सडकहरुबाट प्लाष्टिक संकलन गरेर बेच्ने गरेका थिए । तर कोरोनाको कारण निषेधाज्ञा लागेपछि बाहिर निस्कनै पाएका छैनन्।

‘दिनभरी प्लाष्टिक संकलन गरेर बेच्दा ५०/६० रुपैयाँसम्म दिनहुँ कमाई भइरहेको थियो’, उनले भने, ‘निषेधाज्ञा लागेपछि त्यो कमाई पनि बन्द भएको छ।’

सदाको घरमा श्रीमती, भान्जी र बहिनी छन्। आफ्नो कमाईले नपुगेकोले श्रीमती पनि भिख माग्ने गरेको उनले बताए। शारीरिक रुपले अशक्त रहेकी उनकी श्रीमतीले पनि भिख माग्दा परिवारको गुजारा भइरहेको थियो।

यता वडाध्यक्ष जानकी राम साहले जमिरिया देवी धर्मशालामा बस्नेहरुको पीडा आफूलाई थाहा रहेको बताए।

उनले निषेधाज्ञा लम्बिए उनीहरुलाई झनै समस्या हुने भएकाेले वडाबाट राहत दिने बताए।

जेठ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्