जसपामा ‘पत्र युद्ध’: यादव पक्षले भन्यो– संसदीय दल नै बनेको छैन

काठमाडौँ – जसपामा दुई पक्षबीच ‘पत्र युद्ध’ चलेको छ। सरकार गठनको विषयमा मतभेद हुँदा पार्टीभित्र सुरु भएको विवादका कारण दुई पक्षबीच एकअर्काप्रति सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्ने होड नै चलेको छ।

ठाकुर पक्षले एकलौटी रुपमा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको जनाएपछि त्यसको प्रतिवाद स्वरुप उपेन्द्र यादव पक्षले जसपाको संसदीय दल नै एकीकरण हुन बाँकी रहेको दाबी गरेको छ।

संसदीय दलका ३२ सांसदमध्ये १९ जनाको हस्ताक्षर गरेर ठाकुर पक्षले संसद सचिवालयलाई जानकारी गराउने तयारी गरेपछि यादव पक्षका प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै संसदीय दल एकीकरण नभएको र विधानसमेत स्वीकृत नभएको अवस्थामा दलका नेता चयन हुनै नसक्ने दाबी गरेका छन्।

अधिकारीले जारी गरेको विज्ञप्तितमा भनिएको छ, ‘पार्टी संसदीय दल हालसम्म समायोजन नभएको, विधानसमेत नबनेको तथा जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधान २०७० को धारा २८ को उपधारा (३) बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्ने अनिवार्य व्यवस्था बमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदनसमेत नभएको र संसदीय दलको कुनैपनि बैठक नभएकोले उक्त समाचार बमपुर्ण रहेकाले सम्बन्धीत सबैमा जानकारीसहित स्पष्ट गरिन्छ।’

यसअघि शनिबार नै यादव पक्षले केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बोलाएपछि ठाकुरले त्यस्तो बैठक आह्वान नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए। उनले भनेका छन्, ‘जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी परिषद्को कुनै बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ।’

 

जेठ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्