काठमाडौँ– वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तानिएको छ। हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलनअनुसार शनिबार रथ तानिएको हो।

कोरोना संक्रमणको जोखिम बढेपछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिनेछ। रथमा विराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजापछि रथ हल्लाइएको थियो भने अपराह्न रथ तानिएको हो। गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो।

यस वर्ष कोरोना महामारीका कारण भीडभाड गर्न नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेसम्मका लागि विभिन्न क्षेत्रलाई निषेधित क्षेत्रसमेत तोकेको छ। गत वर्ष रथ तान्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरी बीच झडप भएको थियो। यसै विषयलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्रमा पूर्वमा निषेधित क्षेत्र तोकेको छ।

रथलाई तानिने स्थानलाई केन्द्रमा राखेर ५०० मिटरको दूरीमा निषेधित क्षेत्र तोकिएको छ। कोरोना महामारीका बीचमा पनि मानिसहरु सयौँको संख्यामा उपस्थित भएर रथ तानिएको छ।

गत वर्षहरुको तुलनामा यस वर्ष रथ तान्दा केही हदसम्म भौतिक दूरी कायम गरिएको छ।