प्रदेश २ मा ४४३ संक्रमित थपिए, ८७ जना डिस्चार्ज

जनकपुरधाम– प्रदेश २ मा थप ४ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १ सय ९४ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए।

शनबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पीसीआर विधिबाट ३ सय ६३ जनाको परीक्षण गर्दा १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा २ सय २२ जना पीसीआर परीक्षण गर्दा १००, गौर अस्पताल रौतहटमा १ सय ५६ जनाको पीसीआर गर्दा ३३ र एन्टिजेन विधिबाट १६ जनाको परीक्षण गर्दा १५ जनामा पोजेटिभ केस फेलापरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै नारायणी अस्पतालमा २ सय ८८ जनाको परीक्षण गर्दा १ सय ३१ र अन्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज धनुषामा १ सय १५, सप्तरीमा १ सय ४, पर्सामा ९९, रौतहटमा ४९, महोत्तरीमा ३२, बारामा २३, सर्लाहीमा १०, सिरहामा ७ र अन्य प्रदेशका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ६५ पुगेको डा. यादवले जानकारी दिए।

प्रदेशमा रहेका सक्रिय संक्रमितमध्ये ४ सय ४७ जना विभिन्न अस्पतालहरुमा रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमित निको भएका छन्। धनुषामा ४४ र पर्सामा ४३ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

जेठ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्