हामी सधैँ सम्झिरहनेछौँ

पशुपति चौँलागाईँ- इमानदार र उद्यमशील नेताको एउटा बीउ

काठमाडौँ – गत मंगलबार राति करिब १० बजेतिर एकाएक खबर फैलियो, एमाले नेता पशुपति चौलागाईं रहेनन्। क्षणभरमै चौलागाईंलाई श्रद्धाञ्जली दिँदै सामजिक सञ्जाल भरियो।

आठ दिन अस्पताल बसिसकेका सत्तारुढ दलको स्थापित नेताको कोरोनाका कारण निधन भयो भन्दै धेरैको आङ सिरिङ्ग गर्‍यो, किनकी अस्पताल, बेड, अक्सिजन र चिकित्सकको हेरचारह पाउँदापाउँदै त ज्यान भयो भने सर्वसाधारणले के गर्ने होला? हुन पनि अवस्था त्यस्तै छ, कोरोनाको कारण मृत्यु हुनेको संख्या यथावत छ, अस्पताल, बेड र अक्सिजनको हाहाकार छ, दैनिक हजारौं संक्रमित थपिरहेका छन्।

६१ वर्षको उमेरमा स्वयम्भूस्थित मनमोहन अस्पतालमा अन्तिम श्वास लिएका चौलागाईं निष्ठावान र इमानदार नेताका रुपमा परिचित थिए। पछिल्ला वर्ष नेपालमा राजनीतिकर्मीप्रति राखिने आमधारणा उनको हकमा मेल खाँदैनथ्यो। उनलाई नजिकबाट चिन्नेहरु सालिन, भद्र र निष्ठायुक्त व्यक्तित्वका रुपमा स्वीकार्छन्।

चौलागाईंसँग लामो समय राजनीतिक जीवन पार गरेका एमाले नेता केशव बडाल उनलाई सालिन र व्यवस्थित व्यक्तिका रुपमा आफूले सधैँ श्रद्धा गर्ने बताउँछन्। ‘उहाँसँग मैंले ३७/३८ सालदेखि निरन्तर संगत गर्दै आएँ। भूमिगत कालदेखि नै हामी सँगसँगै थियौँ, उहाँ साह्रै सरल, इमानदार र क्षमतावान व्यक्ति हुनुहुन्थ्यो,’ मलिन स्वरमा बडालले भने।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफूले एक निष्ठावान योद्धाका गुमाएको बताउँछन्। उनले चौलागाईंप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन्, ‘उहाँको निधनबाट अत्यन्तै मर्माहित एवं स्तब्ध भएको छु। उहाँको निधनबाट दोलखा जिल्लाले एउटा असल अभिभावक, पार्टीले एउटा निष्ठावान योद्धा, युवा जगतले एउटा प्रेरणादायी व्यक्तित्व एवं मैले अत्यन्तै निकट सहयोद्धा गुमाएको छ।’

विद्यार्थी राजनीतिमा होमिएका उनी २०३४ सालमै भक्तपुरको सानो ठिमी क्याम्पसको स्ववियु सभापति भइसकेका थिए। १८ वर्षकै उमेर त्यसबेलाको अध्ययन र राजनीतिको केन्द्रमा मानिने क्यासम्पसमा स्ववियु सभापति हुनु सामान्य कुरा थिएन, त्यो उनीभित्र रहेको नेतृत्व कलाको प्रस्फुटन रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्।

स्ववियु सभापतिको कार्यकाल सकिएपछि उनी दोलखाको आफ्नै गाउँ हालको वैत्यश्वर गाउँपालिकाको एक विद्यालयमा पढाउन थाले। पार्टीमा पनि उत्तिकै सक्रिय भएकाले उनले २०३७ सालमा तत्कालीन मालेको सदस्यता पाए र पञ्चायत विरोध भूमिगत राजनीतिक जीवनमा होमिए। पार्टी काममा अत्यन्त भरपर्दा व्यक्तिका त्यसबेलैदेखि उनलाई लिइने बडाल बताउँछन्।

६१ वर्षको उमेरमा स्वयम्भूस्थित मनमोहन अस्पतालमा अन्तिम श्वास लिएका चौलागाईं निष्ठावान र इमानदार नेताका रुपमा परिचित थिए। पछिल्ला वर्ष नेपालमा राजनीतिकर्मीप्रति राखिने आमधारणा उनको हकमा मेल खाँदैनथ्यो। उनलाई नजिकबाट चिन्नेहरु सालिन, भद्र र निष्ठायुक्त व्यक्तित्वका रुपमा स्वीकार्छन्।

उनी भन्छन्, ‘२०४० साल पार्टीको त्यसबेलाको मध्यपूर्व क्षेत्रको संयोजक भएँ। पञ्चायत विरोधी आन्दोलनमा पार्टीका अनेकौँ काम गर्नुपर्थ्यो, उहाँलाई जिम्मा दिएपछि हामी ढुक्क हुन्थ्यौँ।’ तत्कालीन माले र हालको एमालेलाई दोलखा र बागमती क्षेत्रमा लोकप्रिय बनाउन उनको निक्कै ठूलो देन थियो।

भूगोलको राजनीतिसँगै उनी एमालेको भातृ संगठन तत्कालीन प्ररायु संघ (हालको युवा संघ) को अध्यक्षसमेत भएका थिए। गोकर्ण बिष्टभन्दा अघि एक कार्यकाल उनले प्ररायु संघलाई नेतृत्व दिए। २०५९ सालको एमालेको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्य भएका चौलागाईं २०७१ को नवौँ महाधिवेशनमा पोलिटब्यूरो सदस्य भए।

उनको राजनीतिक जीवनबारे नेता नेपाल भन्छन्, ‘उहाँ प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष र पार्टीको केन्द्रीय कमिटी तथा पोलिटब्यूरो सदस्यको जिम्मेवारी सफलतापूर्वक पूरा गरेर राष्ट्रिय नेताको रुपमा स्थापित हुनुहुन्थ्यो।’

दोलखाबाट २०५६ सालमा प्रतिनिधिसभाको सदस्य, २०७० मा संविधानसभा सदस्यको जिम्मेवारी समेत उनले वहन गरेका थिए। २०७४ मा भएको चुनावमा बागमती प्रदेशको प्रदेशसभा सदस्यमा दोलखा ‘ख’ निर्वाचित भएर क्रियाशिल रहेका थिए।

राजनीतिक क्षेत्रमा मात्र होइन सामाजिक, उद्यमशीलता विकास, सहकारी आन्दोलन तथा विकासका क्षेत्रमा पनि उनको योगदान स्मरणीय रहेको छ।

चौलागाईंसहित ३० जनाले २०४८ सालमा दोलखामा सुरु गरेको ‘जनचेतन सहकारी’ आज एसियाकै नमुना सहकारीका रुपमा स्थापित छ।

एक/एक सय रुपैयाँबाट सुरु गरेको उक्त सहकारीले अहिले वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने गरेको छ। जसले चर्को ब्याजबाट सर्वसाधरणलाई मुक्त मात्र गरेन सयौँलाई उद्यम र रोजगारी दिएको छ। उनीसँग लामो संंगत गरेका पत्रकार सरोज दाहाल उद्यमशिलता विकासमा उनले दिने उत्प्रेरणाले आफूसमेत प्रभावित भएको बताउँछन्।

मंगलबार निधन हुँदा मनमोहन अस्पालमा सँगै रहेका दाहालले चौलागाईंबारे फेसबुकमा लेखे, ‘तपाईँसँको औपचारिक चिनजानले व्यवहारिक सम्बन्धको बाटो पनि खोल्यो। राजनीतिलाई पेशा होइन सेवा मान्ने एवं निर्वाहमा सिमित रहेको कृषिलाई उत्पादनसँग जोडेर पेशा बनाउनु पर्छ भन्ने मान्यतालाई तपाईँले दोलखामा स्थापित गराउनु भएको थियो। एउटा बाटोमा हिँडिरहेको मलाई तपाईँले हात समाएर नयाँ मार्ग देखाउनु भयो। आफ्नो रुचिको कामलाई पेशा बनाउनु तर सँगसँगै व्यवसायलाई पनि ध्यान दिइएन भने जीवनमा नयाँ केही गर्न सकिँदैन भनेर कृषि उन्नतीको अभियान देखाउन मलाई देशका विभिन्न डाँडाकाँडाहरु घुमाउनु भयो। कृषिलाई व्यवसायमा बदल्न चाहनेहरु समेट्दै जानु भयो। जसको परिणाम स्वरुपम आधादर्जन बढी समुह बनाएर हामीले बिभिन्न क्षेत्रमा काम सुरु गर्न पायौँ।’

त्यस्तै दोलखा र बागमति क्षेत्रकैै थामी, दनुवार, दलित समुदाय र महिला जागरणमा पनि उनको उत्तिकै भूमिका रहेको छ। चौलागाईंकी श्रीमती सुनिता, छोरा सुमन, छोरीहरु सुष्मा र सुव रहेका छन्। श्रीमती र छोरा पनि कोरोना संक्रमण भई उपचार गराइ रहेका छन्।

जेठ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्