इन्टर मिलानमाथि जित दर्ता गर्दै युभेन्टस चौथो स्थानमा, जोखिम भने कायम

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा उपाधि पक्का गरिसकेको इन्टर मिलानलाई पराजित गरेर युभेन्टस शीर्ष चारमा उक्लिन सफल भएको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले इन्टर मिलानलाई ३–२ ले परातिज गरेको हो । युभेन्टसका लागि ख्वान कुआड्राडोले दुई तथा क्रिष्टियानो रोनाल्डोले एक गोल गरे ।

इन्टर मिलानका लागि रामेलु लुकाकुले एक तथा युभेन्टसका जर्जिओ चिलिनीले आत्मघाती गोल गरे ।

२४ औँ मिनेटमा रोनाल्डोको गोलबाट युभेन्टसले सुरुवाति अग्रता लियो। ३५ औँ मिनेटमा लुकाकुले इन्टर मिलानका लागि पेनाल्टी मार्फत बराबरी गोल गरे ।

पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा ख्वानले युभेन्टसका लागि गोल गरेर फेरि अग्रता दिलाए ।

८३ औँ चिलिनीले आत्मघाती गोल गरेपछि इन्टर मिलान पुनः बराबरीमा आयो । त्यसअघि ५५ औँ मिनेटमा बेन्तान्कुर दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो ।

८८ औँ मिनेटमा पाएको पेनाल्टीमा ख्वानले गोल गरि युभेन्टसलाई जित दिलाए । इन्जुरी समयको दोस्रो मिनेटमा इन्टर मिलानका ब्रोजोविक दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

जित पछि चौथो स्थानमा पुगेको युभेन्टसको ३७ खेलबाट ७५ अंक भएको छ । आइतबार राति पाँचौँ स्थानको नापोलीले फियोरेन्टिनासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल जितेमा नापोली चौथो स्थानमा जान सक्ने छ । उसको अहिले ३६ खेलबाट ७३ अंक रहेको छ ।

शनिबार राति नै भएको खेलमा दोस्रो स्थानको एट्लान्टाले जेनोआलाई ४–३ ले पराजित गर्दा रोमाले लाजिओलाई २–० तथा स्पेजियाले तोरिनोलाई ४–१ ले पराजित गरेका छन् ।

जेठ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्