साप्ताहिक कोभिड विश्लेषण

नेपालको संक्रमण दर विश्वमै उच्च

कोरोना प्यान्डेमिकको वर्तमान लहर विश्वका लागि चौथो हो भने दक्षिण एसियाको लागि दोस्रो।

विश्वको चौथो लहर तीन–चार हप्तादेखि ओरालो लाग्ने क्रममा देखिन्छ। विश्वको वर्तमान प्यान्डेमिक लहर केही घट्दै आउनुमा अमेरिका, ब्राजिल तथा ल्याटिन अमेरिकाका अन्य देश र युरोपेली देशमा संक्रमणमा आएको कमी मुख्य कारक हो।

ती देशमा दैनिक संक्रमण तथा मृत्युमा निकै कमी आएको छ।

यद्यपि, विश्वको दैनिक संक्रमण र मृत्युमा थपघट हुनुमा भारतकै ठूलो भूमिका देखिन्छ। स्मरण रहोस्, भारतको हालको दैनिक संक्रमण विश्वकै करिब आधा ५० प्रतिशत जति छ।

दक्षिण एसियाको कुरा गर्दा यसै वर्ष मार्चको उत्तरार्धदेखि सुरु भएको दक्षिण एसियाको वर्तमान लहर अप्रिल अन्त्यसम्म तीव्र गतिमा उकालो लाग्दै बढिरहेको थियो भने मे सुरुदेखि केही स्थिर रहँदै आएको देखिन्छ। यो हामी सबैका लागि खुसीको कुरा हो।

टेबल नम्बर १ ले दक्षिण एसियाको पहिलो र दोस्रो प्यान्डेमिक लहरको भिन्नता देखाएको छ।

 

 

टेबलमा देखाइएजस्तै पहिलो लहर विस्तारै सुरु भई उच्च बिन्दुसम्म पुग्न करिब १४ हप्ता लागेको थियो र त्यसपश्चात् विस्तारै अन्त्य भएको थियो।
तर, वर्तमान लहर निकै तीव्र देखिन्छ जसले करिब ८ हप्तामै उच्च बिन्दु छोएको छ। प्यान्डेमिक लहरको एक सामान्य नियम के हो भने यो जसरी उकालो लाग्छ त्यसरी नै ओरालो लाग्छ । यदि, यो कुरा झुटो होइन भने वर्तमान लहरको अन्त्य पनि चाँडै हुनेछ अर्थात् अर्को दुई महिनामा वर्तमान लहरले दक्षिण एसियाको भूमि छाड्नेछ।

त्यस्तै टेबुलमा देखाइए जस्तै वर्तमान लहर संक्रमणको आधारमा पहिलो लहरभन्दा निकै ठूलो करिब चार गुणा ठूलो देखिएको छ यदि वर्तमान लहर योभन्दा धेरै नबढ्ने हो भने। त्यस्तै, वर्तमान लहर दैनिक मृत्युको आधारमा पनि पहिलोभन्दा साढे तीन गुणा ठूलो देखिएको छ।
यसरी पछिल्लो समय यस क्षेत्रमा प्यान्डेमिक केही स्थिर देखिनुमा भारत नै प्रमुख कारण रहेको छ।

पछिल्लो करिब २ हप्तादेखि भारतमा दैनिक संक्रमण उकालो लाग्न बन्द भई केही स्थिर र कम हुन थालेको छ यद्यपि त्यहाँको दैनिक कोरोना मृत्युमा भने खासै कमी आएको देखिँदैन। वल्र्डमिटर र डब्लुएचओका अनुसार पछिल्लो समय भारतमा दैनिक संक्रमणमा केही कमी आए पनि नेपाल, श्रीलंका, माल्दिभ्स, अफपगानिस्तान र भुटानमा दैनिक संक्रमण बढ्ने क्रममा छ भने पाकिस्तान र बंगलादेशमा १ महिनादेखि दैनिक संक्रमणमा निकै कमी आएको छ।

यसरी एकै क्षेत्रका विभिन्न देशमा प्यान्डेमिकको फरक स्वरूप देखिनुमा धेरै कारण हुन सक्छन्।

संक्रमणमा साँच्चिकै कमी आएको पनि हुन सक्छ भने परीक्षण केही कम गरिएको हुनाले कृत्रिम रूपमा संक्रमण कम भएको पनि हुन सक्छ।

दक्षिण एसियाली देशको कुरा गर्दा आवर वल्र्ड इन डाटाका अनुसार केही समयदेखि नेपाल, श्रीलंका र माल्दिभ्सले दैनिक परीक्षण साविकभन्दा केही बढी गर्दै लगेको देखिन्छ। फलस्वरूप दैनिक संक्रमण र मृत्युदर पनि बढेको देखिन्छ।

रतले साविकसरह परीक्षण गरेको देखिन्छ। पाकिस्तान र बंगलादेश भने पछिल्लो समय दैनिक परीक्षणमा कमी गर्दै लगेको छ जसले गर्दा त्यहाँ अन्य देशमा भन्दा दैनिक संक्रमण र मृत्युमा तीव्र कमी आएको छ।

दक्षिण एसियाका अधिकांश देशमा लकडाउनका साथै कोरोना संक्रमण नियन्त्रणका अन्य उपाय निकै कडाइसाथ गरिँदै आएको छ।

यसरी समग्रमा दक्षिण एसियामा दैनिक संक्रमणमा केही कमी आए पनि विश्वको तुलनामा यस क्षेत्रको दैनिक संक्रमण र मृत्युको अनुपातमा भने खासै कमी आएको छैन। बरु केही वृद्धि हुने क्रम जारी छ। अर्थात् विश्वको तुलनामा दक्षिण एसियाको संक्रमण अझै धेरै छ। चित्र नम्बर १ र २ ले दक्षिण एसिया र बाँकी विश्वको पछिल्लो समय, मे १–१४ सम्मको क्रमशः दैनिक संक्रमण र दैनिक मृत्युको तुलनात्मक अनुपात देखाएको छ।

चित्रमा देखाइएजस्तै दक्षिण एसियाको दैनिक संक्रमण बाँकी विश्वको आधाभन्दा धेरै छ भने दैनिक मृत्यु अनुपात एक तिहाइभन्दा धेरै छ।

चित्र नम्बर ३ ले पछिल्लो समय, मे १–१४ सम्मको दक्षिण एसियाको दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै दुई हप्ताको दैनिक संक्रमणको प्रवृत्ति केही घट्दो देखिन्छ जुन राम्रो लक्षण हो।

तर, मृत्युदर हेर्ने हो भने उल्टो केही बढ्दै गएको लक्षण देखिन्छ।

दक्षिण एसियाभित्र पनि सबै देशको दैनिक संक्रमण र मृत्यु एकै किसिमको देखिँदैन। भारतको दैनिक कोरोना संक्रमण र मृत्युको संख्या अन्य देशको तुलनामा निकै गुणा देखिन्छ भने भुटानको त्यसको विपरीत निकै कम छ। पछिल्लो समयको तथ्यांकअनुसार दक्षिण एसियाको दैनिक कुल संक्रमितमध्ये ९५ प्रतिशत भारतमा छ भने दोस्रो स्थानमा नेपाल छ जहाँ ३ प्रतिशत संक्रमित छन्।

त्यस्तै, दक्षिण एसियाको दैनिक कुल कोरोना मृत्युमध्ये ९२ प्रतिशत भारतमा र ५ प्रतिशत नेपालमा छन्। अन्य देशको दैनिक संक्रमण र दैनिक मृत्यु नेपालको भन्दा धेरै कम देखिन्छ। यसले पनि हाल नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो छ भन्ने स्पष्ट हुन्छ।

दैनिक संक्रमण र मृत्युको संख्याको हिसाबले भारतको संख्या अन्यत्रभन्दा निकै उच्च देखिए पनि संक्रमण दर अर्थात् पोजिटिभिटीको हिसाबले पछिल्लो समय दुई सातादेखि नेपालको संक्रमण दर र जोखिम निकै उच्च देखिन्छ।

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार नेपाल साप्ताहिक औसत संक्रमण दरको हिसाबले विश्वकै दोस्रो उच्च स्थानमा दुई हप्ताअघि पुगेको थियो भने गत हप्ता पोजिटिभिटी झनै बढ्दै गएको छ र गत हप्ता पनि नेपाल दोस्रो स्थानमा कायमै देखिन्छ।

यसरी पोजिटिभिटी बढ्दै जाने हो भने अर्को हप्ता नेपाल विश्वमै पहिलो स्थानमा पुग्ने निश्चित छ। दुई हप्ताअगाडि ९औं स्थानमा रहेको भारत गत हप्ता ११औं स्थानमा झरेको छ।

त्यस्तै, पछिल्लो समय माल्दिभ्सको पोजिटिभिटी अति बढ्दै गएको छ र माल्दिभ्स हाल ८औं स्थानमा पुगेको छ।

उक्त तथ्यांकअनुसार गत हप्ता सबैभन्दा उच्च स्थानमा रहेको अर्जेन्टिनाको संक्रमण दर ६३ दशमलव ९५ प्रतिशत, नेपालको ४६ दशमलव ६७ प्रतिशत, माल्दिभ्सको २३ दशमलव ८३ प्रतिशत र भारतको २० दशमलव १६ प्रतिशत छ।

श्रीलंकाको संक्रमण दर पनि पछिल्लो समय निरन्तर उकालो लाग्ने क्रममा देखिन्छ भने पाकिस्तान र बंगलादेशको अवस्था केही स्थिर र नियन्त्रित देखिछ।

चित्र नम्बर ४ ले आवर वल्र्ड इन डाटा र जोन्स होप्किन्स विश्वविद्यालयले साप्ताहिक औसतको रूपमा निकालेको दक्षिण एसियाली देशको दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी देखाएको छ जसमा नेपालको संक्रमण दर निकै उच्च र तीव्र देखिन्छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरद्वारा जारी गरिएको विवरणअनुसार दक्षिण एसियामा मे १४सम्म २६३७१६२९ जनामा यो संक्रमण लागिसकेको छ भने ३०१९५३ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गत हप्ता, सन् २०२१ मे ९ देखि १५ (२०७८ वैशाख २६ देखि जेठ १ सम्म) को विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वर्ल्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि।

यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठक वर्गसमक्ष पुर्‍याउनु हो।

गत साता पनि प्यान्डेमिकका तथ्यांक विश्वभरि र नेपालमा पनि उतारचढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गत साता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं।

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। गत हप्ता नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमितको संख्या चित्र नम्बर ५मा प्रस्तुत गरिएको छ। परीक्षणको मात्राअनुसार दैनिक संक्रमणको संख्या पनि थपघट हुने क्रम जारी छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत साता शनिबारसम्म देशभरि जम्मा ६२३८२ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ४४७७०४ पुगेको छ।

विगत ६ हप्ताका साप्ताहिक संक्रमण सुरुदेखि अन्त्यसम्म क्रमशः १०१८, १९५७, ३९३३, १३४२९, ३१९०४ र ५६९९७ थिए।

यसरी नेपालमा हाल कोरोना संक्रमण गुणात्मक हिसाबले वृद्धि हुँदै छ।

त्यस्तै, गत हप्ताको साप्ताहिक मृत्युदर १२२४ पुगेको छ जबकि त्योभन्दा अगाडीका ६ हप्ताका साप्ताहिक मृत्यु सुरुदेखि अन्त्यसम्म क्रमशः ५, ७, ३६, ६१, १६२ र ३३४ थिए। विगतभन्दा गत हप्ताको जम्मा मृत्यु निकै उच्च भएको छ।

यसबाट नेपालमा पछिल्लो समय कोरोना संक्रमण निकै तीव्र गतिमा बढ्दै गई दक्षिण एसिया मात्र होइन नेपाल पनि कोरोना संक्रमणको केन्द्र बन्दै गएको देखिन्छ।

चित्र नम्बर ६ ले नेपालको देशभरिको दैनिक संक्रमण र काठमाडौँ उपत्यकाको दैनिक संक्रमणको तुलनात्मक विश्लेषण देखाएको छ। चित्रमा देखाइएजस्तै गत साता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको ४१ प्रतिशत देखिन्छ अर्थात् आधाभन्दा निकै कम देखिन्छ।

गत वर्षको पहिलो लहरको बेला यो अनुपात उल्टो थियो अर्थात् करिब ६० प्रतिशतभन्दा धेरै काठमाडौँ उपत्यकाभित्र हुन्थे।
यसले हालको संक्रमण देशभरि फैलिएको पुष्टि हुन्छ।

दैनिक संक्रमण पोजिटिभिटी दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी दर (संक्रमण दर) सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र नम्बर ७ ले नेपालको गत साताको दैनिक संक्रमण दर देखाएको छ। गत साता नेपालको प्यान्डेमिक उकालो लाग्ने क्रम जारी रहेको देखिन्छ।

गत साता पोजिटिभिटी दर न्यूनतम ४० दशमलव ४२ प्रतिशतदेखि अधिकतम ५० दशमलव ३६ प्रतिशतसम्म रही साताभरिको औसत पोजिटिभिटी दर ४५ प्रतिशत रह्यो।

विगत ६ हप्ताको औसत पोजिटिभिटी दर सुरुदेखि अन्त्यसम्म क्रमशः ४ दशमलव ५ प्रतिशत, ७ दशमलव ०४ प्रतिशत, १२ दशमलव ४२ प्रतिशत, २३ दशमलव ९७ प्रतिशत, ३४ दशमलव २९ प्रतिशत र ४४ दशमलव ८७ प्रतिशत थिए। स्मरण रहोस्, डब्लुएचओका अनुसार पोजिटिभिटी ५ प्रतिशतभन्दा धेरै हुनु प्यान्डेमिक अनियन्त्रित भएको लक्षण हो।

दैनिक संक्रमण दर ५० दशमलव ३६प्रतिशत पुग्नु भनेको दक्षिण एसियामा मात्र होइन, विश्वकै अति उच्चमध्ये एक हो।

नेपालमा प्यान्डेमिकको इतिहासमा गत सोमबारको यो पोजिटिभिटी हालसम्मकै सबैभन्दा उच्च हो र यसरी हरेक दिन नयाँ कीर्तिमान बन्ने क्रम जारी छ।

माथिका तथ्यांकबाट अधिकांश दक्षिण एसियाली देशमा प्यान्डेमिकको अवस्था तीव्र गतिमा वृद्धि हुँदै गएको देखिन्छ र पछिल्लो समय यस क्षेत्रको प्यान्डेमिकको दोस्रो लहर पहिलोभन्दा चार गुणा ठूलो भइसकेको छ।

नेपाल विश्व सर्व महामारीको यस घडीमा विश्वकै चुचुरोमा पुगिसकेको छ। नेपालको अवस्था हाल विश्वमा सबैभन्दा खतरापूर्ण र जोखिमपूर्ण देखिन्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउन जरुरी छ।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ।

यसमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

जेठ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्