वर्षायामको मौसम र विपद्‌ जोखिमको चासो 

मौसमले हाम्रो दैनिकीमा असर गर्छ । तसर्थ यसको बारेमा सधै चासो र जानकारी राख्‍नुपर्छ । अझ वर्षायामा बढी पानी परेर बाढी, पहिरोले सताउने, समयमा पानी नपरेर खेतीपाती बिग्रने जस्ता प्रकोपको सामना गरिरहनु पर्ने हुनाले यो वर्षात्‌मा के, कसो होला भन्ने थप चासो हुन्छ । उहिले देखि ग्रह गोचरबाट मौसम, ऋतुहरूका बारेमा भविष्यवाणी हुँदै आएको छ । अब वैज्ञानिक उपकरण र प्रविधिको प्रयोग गरी मौसमी अवस्था र त्यसले पार्न सक्ने सामाजिक-आर्थिक प्रभावका बारेमा अग्रिम अनुमान गर्न सकिने भएको छ । नेपालमा आउँदो वर्षायामको समग्र वर्षाको अनुमानित परिदृष्य सार्वजनिक भएको छ ।

जलवायु परिदृष्य

विभिन्न क्षेत्रमा ऋतुहरू कस्तो होलान्‌ भनेर विश्‍व मौसम सङ्गठनले यस्ता अनुमानको संयोजन गर्छ । विभिन्न क्षेत्रमा जलवायु दृष्टकोण मञ्च (Climate Outlook Forum) गठन गरिएका छन् । यी मञ्‍चले सम्बन्धित क्षेत्रको आगामी ऋतुको जलवायु परिदृष्य तयार गर्छन् । विभिन्न गणितीय मोडलहरूको प्रयोग गरी यी भविष्यवाणी गरिन्छ । सन् १९९० को दशकदेखि आगामी ऋतुमा वर्षा र तापक्रमको अवस्था कस्तो होला भनेर वैज्ञानिक विधिबाट मौसम प्रक्षेपण शुरु भएको हो । कम्प्युटर प्रविधिको विकासले जटिल हिसाब गर्न सजिलो भएको छ ।

दक्षिण एशियामा सन् २००९ देखि ‘दक्षिण एशिया जलवायु दृष्टिकोण मञ्‍च (South Asian Climate Outlook Forum- SASCOF)’ स्थापना भएको थियो । मञ्चमा दक्षिण एशियाली देशहरूका मौसम तथा जलवायुसम्बन्धी निकायहरू सहभागी हुन्छन्‌ । यसको संयोजन भारत मौसम विज्ञान विभागले गर्दछ । 

हरेक ऋतु शुरु हुनु अगावै सदस्य देशका मौसम विज्ञहरूले विभिन्न कम्प्युटर मोडेलबाट आएका नतिजाहरूको विश्लेषण गर्दछन् र सबै भन्दा बढी विश्वासिलो परिदृष्यलाई सर्वसम्मत अनुमानका रूपमा प्रकाशन गर्छन् । क्षेत्रीय परिदृष्यको थप विस्तृत विश्लेषण गरी सानो क्षेत्रफलका लागि वा आ-आफ्‍नो देशको लागि संभावित समग्र वर्षा र तापक्रमको अनुमान तयार गरिन्छ । यस वर्षको मनसुन अवधिको समग्र वर्षा र तापक्रमको अनुमान पनि यसै गरी तयार गरिएको हो । 

दक्षिण एशिया स्तरको मनसुन अनुमान सन् २००९ देखि नै गर्न लागिएको भएता पनि अनुमानको विश्वसनीयता परीक्षण गरेर सन् २०१३ देखि सार्वजनिक गर्न शुरु गरिएको थियो । हाम्रो जल तथा मौसम विज्ञान विभागले नेपालको समग्र वर्षाको अनुमानित परिदृष्य तयार गर्दछ । गत वर्ष देखि विभागले मनसुन फोरमको आयोजना गरी राष्ट्रिय स्तरको जलवायु परिदृष्य सार्वजनिक गर्न शुरु गरेको छ ।

सरदर भन्दा धेरै वर्षा हुने अनुमान

यो वर्षायाममा चित्रमा देखिए झैं हिमाली र अधिकांश पहाडी क्षेत्रमा समग्र वर्षा (हिमालमा हिमपात) औसत भन्दा बढी हुने अनुमान छ । मध्य तराई र सुदूरपूर्वी पहाडी भागमा सरदर जत्तिकै र पूर्वी तराईमा सरदर भन्दा कम पानी पर्ने देखिन्छ । पूर्वी तराईमा बाहेक अन्यत्र समग्र वर्षा सरदर वा त्यो भन्दा बढी हुने देखिन्छ । (हे. चित्र)

चित्रः नेपालमा विक्रम संवत्‌ २०७८ को वर्षायामको समग्र वर्षाको अनुमान (स्रोतः जल तथा मौसम विज्ञान विभाग)

यी परिदृष्यमा अनिश्चितता पनि उत्तिकै हुन्छ । जस्तो कि पूर्वी तराईमा सरदर भन्दा कम पानी पर्ने संभावना ३५-४५ प्रतिशत छ । त्यस्तै मध्य पहाडी क्षेत्र र सुदूर पश्चिममा सरदर भन्दा बढी पानी पर्ने सभावना पनि ३५-४५ प्रतिशत मात्रै छ ।

समुदायको विपद्‌ जोखिमका बारेमा राम्रो लेखाजोखा भएको छ भने प्रभाव केन्द्रित मौसम पूर्वानुमान गर्न संभव छ । यसका लागि कुन ठाउँमा के, कस्तो संरचना छ, त्यहाँ कुन समयमा के गतिविधि हुन्छन् र के कस्तो जोखिम छ भन्ने पहिल्यै जानकारी हुनु पर्छ ।

यी ऋतुगत अनुमानले कहिले कति पानी पर्ला, कस्तो प्रकृतिको वर्षा होला जस्तैः- एकै पटकमा ठुलो पानी पर्ला कि स-साना झरी परिरहलान्, वा कहिले घनघोर पानी पर्ने र फेरि लामो समयसम्म पानी नपर्ने भन्ने जस्ता जानकारी दिँदैनन् । 

त्यसैले यी मनसुन परिदृष्यबाट मात्रै अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदिका कारण सिर्जना हुन सक्ने बाढी, पहिरो, खडेरी जस्ता प्रकोपको जोखिम अनुमान गर्न सकिदैन । तैपनि, समग्रमा सामान्य भन्दा बढी पानी पर्दा बाढी, पहिरोको जोखिम पनि बढ्छ भन्ने तार्किक मान्यता हुन्छ । यस्तो मनसुनी अवस्थाले खेतीपाती, कोभिड महामारीको रोकथाम, यातायात आदिमा पार्न सक्ने प्रभावका बारेमा थप विश्‍लेषण गरेर विपद्‌बाट बच्‍न पूर्वतयारी गर्नु जरुरी हुन्छ । साथै, छोटो अवधिका मौसम पूर्वानुमानमा थप ध्यान दिनु पर्छ । 

अल्पकालीन मौसम पूर्वानुमान

मौसम कस्तो होला भन्ने अलि स्पष्ट अनुमानित जानकारी अल्पकालीन मौसम पूर्वानुमानबाट पाउन सकिन्छ । यी अनुमान प्रायः ३ दिनसम्मका हुन्छन् । मौसम अनुगमन गर्ने निकायहरूले कहिलेकाहीँ ७, १०, १५ दिनको मौसम पूर्वानुमान पनि सार्वजनिक गर्ने गर्छन् । मौसम असामान्य हुने देखियो भने सजग गर्न ७-१५ दिनका पूर्वानुमान गर्ने र ३ दिन वा २४ घण्टाका पूर्वानुमानमा थप स्पष्ट गर्दै जाने गरेको पाइन्छ । २४ घण्टा वा ३ दिनका पूर्वानुमानमा ठुलो पानी पर्ने देखिए सम्बन्धित क्षेत्रका जनसमुदायलाई बाढी, पहिरोको पूर्वसूचना (चेतावनी) पनि पठाइन्छ । 

जल तथा मौसम विज्ञान विभागले विक्रम सम्वत् २०७३ (सन् २०१६) देखि यस्ता मौसम पूर्वानुमान सार्वजनिक गर्दै आएको छ । विक्रम सम्वत् २०७४ मा ठुलो बाढी ल्याउन सक्ने वर्षाको पूर्वानुमान ३ दिन पहिले देखि नै आएका थिए । विभागले त्यस वर्ष विभिन्न नदीमा बाढी आउन सक्ने सूचना सम्बन्धित निकायहरू साथै नदीतटमा बसोबास गर्ने समुदायलाई पठाएको थियो । तर उचित अग्रिम कार्यहरू र सावधानी नअपनाएकोले जोगाउन सकिने जति धनमाल जोगाउन सकिएन । तैपनि ती पूर्वसूचनाका कारण बाढीबाट हुन सक्ने मृत्यु र घाइते कम भएको कुरा बाढी पछि गरिएको क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेनदमा उल्लेख छ ।

उन्नत प्रविधिले गर्दा अहिले आगामी २-३ दिनमा कुन समयमा कुन ठाउँमा कति पानी पर्न सक्छ अनुमान गर्न सकिने भएको छ । नेपालमा पनि आगामी २४ घण्टा, २ दिन वा ३ दिनमा कहाँ कति पानी पर्न सक्छ भन्ने पूर्वानुमान गरिन्छ । तर, त्यो वर्षाले कहाँ कुन वेला कुन समुदायमा के कस्तो प्रभाव पार्न सक्छ भन्ने जानकारी दिन भने प्रभाव केन्द्रित पूर्वानमान गर्नुपर्छ । 

प्रभाव केन्द्रित मौसम पूर्वानुमान 

मौसम के हुन्छ भन्ने जानकारीले मात्रै सबैलाई पुग्दैन, त्यसको संभावित प्रभाव जान्न सक्नुपर्छ । “यो मौसमी अवस्थाले कुन समयमा कहाँ के गर्न सक्छ र को कसलाई के कस्तो प्रभाव पर्न सक्छ” भन्ने जानकारी स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, सञ्‍चार जस्ता अत्यावश्यक सेवा, कृषि, सडक वा जल यातायात, हवाई सेवा, उद्योग व्यवसाय, खेलकुद आदिका लागि उपयोगी हुन्छ । त्यस्तो जानकारी भए मौसमी अवस्था (आँधीवेहरी, घना वर्षा, असिना, चट्याङ आदि) का कारण हुने वाधा अवरोध छल्न वा जोखिम कम गर्न सकिन्छ ।

समुदायको विपद्‌ जोखिमका बारेमा राम्रो लेखाजोखा भएको छ भने प्रभाव केन्द्रित मौसम पूर्वानुमान गर्न संभव छ । यसका लागि कुन ठाउँमा के, कस्तो संरचना छ, त्यहाँ कुन समयमा के गतिविधि हुन्छन् र के कस्तो जोखिम छ भन्ने पहिल्यै जानकारी हुनु पर्छ । जस्तैः- विद्यालय अलि होचो ठाउँमा छ, त्यसको परिसरबाट पानी बगेर बाहिर जाने राम्रो निकास छैन भने विद्यालय खुल्ने दिनमा बिहान वा दिउँसो पर्ने ठूलो वर्षाले ल्याउने बाढीले विद्यालय सञ्‍चालनमा वाधा पुग्न सक्छ । ढल निकास राम्रो नभएका सडकमा पानी जमेर आवागमन अवरुद्ध हुन सक्छ । 

राम्रो निकास नभएका ठाउँहरूको बारेमा पहिल्यै जानकारी छ, नक्शा तयार भएको छ भने ती ठाउँमा वर्षाको के कस्तो प्रभाव पर्न सक्छ भनेर पहिल्यै अनुमान गर्न र सम्बन्धित समुदायलाई पूर्वसूचना पठाउन सकिन्छ । सूचनाका आधारमा समुदायले अग्रिम वचावटका कामहरू गर्न र अन्य सावधानी अपनाउन सकिन्छ । पूर्वसूचना पाए पछि प्रकोप आउनु अगावै वचावटका उपाय गर्नुपर्छ । तव मात्र मौसम पूर्वानुमान र पूर्वसूचनाका यावत् प्रयाशहरू सार्थक हुन्छन् ।

वर्षायाम भरि मौसम पूर्वानुमान र प्रकोपको पूर्वसूचनामा विशेष ध्यान दिनु पर्छ । रेडियो, टेलिभिजन, इन्टरनेट आदि विभिन्न सञ्‍चार माध्यमबाट मौसमसम्बन्धी जानकारी नियमित पाउन सकिन्छ । बाढी, पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास भएका वा त्यस्ता ठाउँमा आवतजावत गर्न पर्ने मानिसहरूले वर्षाको बारेमा विशेष चनाखो हुन आवश्यक छ । मौसमी प्रकोपबाट जनधन र जीविकाको रक्षा गर्न मौसमको पूर्वानुमान र पूर्वसूचना एक महत्वपूर्ण कदम हो ।

(लेखक विगत डेढ दशकदेखि नेपालमा समुदाय केन्द्रित बाढी पूर्वसूचना प्रणालीको स्थापना र विकासमा कार्यरत छन् ।)

जेठ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्