बन्यो अति लोपोन्मुख २८ भाषाका शब्दकोष

शब्दकोषको टेको दिएर बाँच्लान् मृत हुन लागेका भाषा?

भाषा बोल्ने वक्ता पाउन मुश्किल। खोजेर केही वक्ता यदाकदा मुश्किलले भेटिहाले पनि उमेर लगायतका कारणले आफ्नो भाषाबाटै सबै कुरा अभिव्यक्त (सञ्चार) गर्न नसक्ने अवस्था। भाषाको वक्ता संख्या बढाउन विद्यालयमा पठनपाठन तथा पाका व्यक्तिका लागि समेत भाषा कक्षा सञ्चालनका लागि सन्दर्भ सामाग्री र मूल स्रोत शब्दकोषकै अभाव। अति संकटमा पुगेका भाषाको वास्तविक अवस्था हो यो। मृत हुनै लाग्दा पनि भाषा जोगाउने कुनै उपाय खोजी नै भएन केही बर्ष अगाडिसम्म पनि। तत्काल संरक्षण र संवर्धनका लागि उचित कदम चाल्ने भन्दा पनि संकटमा पुगेका भाषाबारे स्थानीय सरकार र राज्यका संयन्त्र नै बेखबरझैँ बनिरहे।

संकटमा परिसकेका भाषाको विस्तार र संवर्धन गर्न मूल स्रोत शब्दकोष निर्माण बेलैमा नगरिएकन सम्भव नहुने भाषाशास्त्रीहरुले एउटा तरिका निकाले। भाषाशास्त्रीले सुझाए अनुरुप भाषा आयोगको एकल प्रयासमा दुई बर्ष यता लोप हुन लागेका भाषाहरुको शब्द कोष निर्माण भइरहेको छ। भाषाको अभिलेखको रुपमा मानिने शब्दकोष भाषा सिक्न, विस्तार गर्नका लागि ऐतिहासिक र उपयोगी सामाग्री बन्न सक्ने भाषाशास्त्रीको अनुसन्धानले देखाइसकेकोले आयोगले स्रोत, समय र बजेट खर्च गरिरहेको छ।

आठपहरे, उराँव, चाम्लिङ, छन्ल्याल, दराई, बोटे, बज्जिका, याक्खा, लुङ्खिम, सन्थाली, साम्पाङ, बेलहारे, कठरिया थारु, डोने, जुम्ली, थुलुङ, लिम्बू, ताजपुरिया, डङ्गोरा थारु, राना थारु, सुनुवार, मैथिली, दुरा, तिलुङ, राउटे, लाप्चा, राजी र किसान गरी २८ भाषाका शब्दकोष तयार भएका हुन्।

मौलिक परम्परामा आधारित र अत्यन्तै थोरै वक्ता भएका दुरा, कुसुण्डा, तिलुङ जस्ता भाषा लोप हुने अवस्थामै पुगिसकेका छन् । निकै थोरै वक्ता भएपनि उनीबाटै शब्दहरु संकलन गरि अभिलेख राख्न सकेमा नयाँ पुस्तालाई आफ्नो भाषा के कस्तो छ जानकारी लिन सजिलो हुन्छ । साथै नयाँलाई सिकाएर वक्ता तयार गर्न मूल स्रोत नै बन्ने ठानेर आयोगले शब्दकोष निर्माणको कार्यलाई अगाडि बढाएको हो । ‘शब्दकोष मूल स्रोत हो । मूल स्रोत जोगाए भाषा संरक्षण हुन सक्छ भनेर शब्दकोष निर्माणको काम अगाडि बढाइएको हो,’ आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भने।

मूल स्रोत जोगाए भाषाको विस्तार सम्भव हुन्छ भन्ने हेतुले शब्दकोष निर्माणको काम अगाडि बढाइएको हो। १ हजार भन्दा कम वक्ता भएका र अति संकटमा परेका ३७ भाषाबाट सुरु गरि संकटउन्मुखसम्मका भाषाहरुको आयोगले शब्दकोष निर्माण गर्ने रणनीति बनाएको छ। उनका अनुसार शब्दकोष निर्माण प्रयोजनका लागि नै अन्य ३१ वटा भाषाको शब्द संकलन भइसकेको छ।

नेपालमा विविधताको प्रतिनिधित्व भाषा र संस्कृतिले गर्दछन्। बहुभाषा र त्यससंग जोडिएर आउने बहुसंस्कृतियुक्त समाज नेपालको मूल विशेषता हो। भाषा नै लोप भए न त कुनै जातिको पहिचान बाँकी रहन्छ न संस्कृति। राज्यले समयमै यी भाषा संरक्षणमा ध्यान नदिँदा छोटो समयमै लोपको संघारमा पुगिसकेका हुन्।

नेपालमा चिन –तिब्बती, भारोपेली, आग्नेली, द्रविड, र परिवार नै नखुलेको कुसुण्डा भाषा गरी पाँच भाषिक परिवारका भाषाहरु प्रचलनमा रहेको पाइन्छ। नेपालको जनगणना अनुसार १ सय २३ वटा भाषा बोलिने आँकडा छ । तर पछिल्लो समय अधिकाँश भाषाको वक्ता उल्लेख्य संख्यामा घटिरहेको भाषा आयोगको अध्ययनबाट देखिएको छ । नेपालका ३७ वटा भाषाको वक्ता त केवल एक हजार भन्दा कममा सीमित भइसकेका छन्।

भाषा आयोग प्रमुख डा. लवदेव अवस्थी

राज्यले बेलैमा यी भाषा संकटमा पुग्दै छन् भन्नेमा चासो दिएन । सानो जनसंख्या भएको समुदायमा पुस्तान्तरण हुन सकेन । पुस्ता पुस्तामा सम्वन्ध नै भाषाबाट नहुने अवस्था सृजना भयो । पुस्ताको बसाइसराइ भयो वा अन्तरजाीय विवाह भएपछि आफ्नो भाषामा आकर्षण भएन । छाड्दै गए । ‘कुनै जातीय पहिचान बनेका मातृभाषा छोटो समयमै मृत अवस्थामा पुग्न लाग्यो । एउटा पुस्ताबाट अर्काे पुस्तामा सर्दै जानुपर्नेमा एउटा पुस्तामा पुस्ताअन्तर भयो’, अध्यक्ष डा. अवस्थीले भने।

आर्थिक रुपमा कमजोर र सानो जनसंख्याको समुदाय, अन्तरजातीय विवाह वसाइसराइँ राज्यको भाषिक नीति जस्ता कुराले भाषा संकटमा पुगेको त्रिवि केन्द्रीय भाषा विज्ञानका प्रमुख डा. बलराम प्रसाइँ बताउँछन् । ‘हिजो आर्थिक रुपमा कमजोर समुदाय र जाती आफ्नो भाषा र पहिचानको वेवास्ता गर्दै गए । सम्पन्न हुँदै गएपछि बल्ल आफ्नो भाषाप्रति चासो राख्न थालेका छन्।’

‘अमेरिकामा बस्ने नेपालका शेर्पा समुदायले अहिले आफ्ना सन्ततीलाई भाषाका जानकार खोजेर मातृभाषा पढाइरहेका भेटिएको छ । यो सकारात्मक कुरा हो’ डा. प्रसाईले भने । तर केही सम्पन्न रहेका जात जातीले भाषालाई अझ पनि वेवास्ता गरिरहेको पाइएको प्रसाइँको भनाइ छ ।

यसरी बन्यो शब्दकोष

भाषा आयोगको अगुवाइमा भाषाविज्ञ र भाषाका अनुसन्धानकर्ताबाट संकटमा पुगिसकेका भाषाको शब्दकोष निर्माण भएको हो । आयोगले दुई बर्ष अगाडिदेखि त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञानका भाषाशास्त्रीलाई विज्ञको रुपमा, जुन भाषाको शब्द संकलन गर्ने त्यही भाषा बोल्न र समुदायसँग निकट व्यक्तिलाई स्रोतव्यक्ति र अर्का एक जना सोही भाषाकै अनुसन्धानकर्ता सम्मिलित तीन सदस्य टोली बनाएर शब्दकोष निर्माणको जिम्मेवारी दिएको हो । उक्त टोलीे शब्द संकलनका लागि समुदायमा पुग्यो ।

स्थानीय समुदायसम्म पुगेर सम्वन्धित मातृभाषा बोल्ने वक्ता संयोजकले समुदायका व्यक्ति भेट्ने, औपचारिक र अनौपचारिक भेला गर्ने महिनौ समुदायमै बसेर नेपाली भाषासँग ती शब्द मेल गराउँदै संकलन गरेका हुन् । आयोगले भाषाशास्त्रीहरु राखेर यसरी संकलित शब्दहरुको सत्य जाँच र संशोधन गरेपछि मात्रै शब्दकोषको आकार दिएको हो ।

सो टोलीले तीन महिनादेखि एक बर्षसम्म समय लगाएर शब्दकोष तयार पारेको हो । शब्दकोषमा कम्तीमा ३ हजार पाँच सयदेखि पाँच हजार शब्द समावेश छन् । शब्दकोष नेपाली र सम्बन्धित लोपोन्मुख भाषा गरी दुई भाषामा छन् ।

शब्दकोष एक पटकमै पूर्ण हुँदैनन् । निरन्तर शब्दहरु भेटिन्छन् थप गदै बहृत बनाउन पर्ने हुन्छ । त्यसका लागि सम्बन्धित भाषाविज्ञ मात्रै नभइ समुदायको सक्रियता उतिकै आवश्यक पर्ने हुँदा आयोगले त्यस्तो समन्वय पनि गरिरहने भएको छ ।

भाषाहरुको संरक्षण, संवर्धन र विकास गर्ने संवैधानिक दायित्व पाएको आयोगले लोपोन्मुख भाषालाई जीवित राखिराख्ने प्रयासमा जुटेको हो ।

साढे दुई लाख बजेट प्रत्येक संकट उन्मुख भाषाको शब्दकोष निर्माणको लागि खर्च भएको छ । झट् हेर्दा सानो काम र थोरै बजेट खर्च भएको देखिएपनि लोपोन्मुख भाषा अभिलेख गर्ने कार्यले भाषा संरक्षणका साथै दीर्घकालिन रुपमा समुदाय र राज्यका लागि समेत लाभ पुग्ने देखिन्छ ।

वक्ता पाउन सकस

जुन भाषामा पनि त्यही भाषीकै माटो र मुटु मिसिएको हुन्छ । भाषालाई जिवन्तता दिन लोकले प्रयोग गरेका शब्द आवश्यक पर्दछ । लोकले प्रयोग गरेका भाषाका शब्द खोज्न त्यति सहज छैन ।

जुन भाषामा शब्द धेरै पाइन्छ त्यो भाषा भाषिक हिसावमा उन्नत र सवृद्ध मानिन्छ । जुन भाषाका शब्द बढी अभिव्यक्ति क्षमता पाइन्छ त्यो भाषा त्यति नै समृद्ध र अर्थपूर्ण मानिन्छ ।

संकटको स्थितिमा पुगेका भाषाको शब्दकोष निर्माण सजिलो छैन । आयोगले सुरु गरेको यो कार्यमा मातृभाषा बोल्ने वक्ता पाउनै सकस परिरहेको छ । बढीमा ५ हजार शब्दसम्मको भाषिक शब्दकोष भएको भाषा भाषिक हिसावले संवृद्ध भाषा मानिन्छ । तर वक्ता निकै थोरै बोल्ने कारणले १२ देखि २५ सम्मका शब्द पाउन गाह्रो भइरहेको आयोगको भनाइ छ । त्यसैले २८ वटा भाषा मध्ये सात वटा भाषाको शब्दकोषमा त जम्मा शब्द संख्या नै २१० मात्रै छन् । ‘तिलुङ भाषामा तीन जना मात्रै वक्ता रहेकोमा एक जना मात्रै भाषा बोल्न जानेको व्यक्ति आयोगले भेटायो । त्यस्तै कुसुण्डामा दुई जना मात्रै । यी भाषाका शब्दकोष निर्माण गर्न निकै कठिन भयो,’ आयोगका उपसचिव गेहनाथ गौतमले अनुभव सुनाए ।

कुसुण्डाको शब्दकोश चार वर्ष लगाएर अनुसन्धानकर्ता उदय आलेले बनाएका हुन् । ‘ कुसुण्डाहरु जंगली जीवनमा ३ सय शब्दले काम चलाइरहेका पनि छन्’ उनले भने, ‘शोध गर्दा २ हजार ५ सय शब्द संकलन भयो ।’ उनका अनुसार कृषि, वन, जनावरका नाम, शरीरका अंग, मानवीय संवेदना प्रकट गर्न उनीहरूले आफ्नो शब्द प्रयोग गर्दारहेछन् ‘अरू नेपाली शब्दलाई सापटी लिएको पाइयो’ उनले भने ।

त्यस्तै दुरा भाषामा पनि त्यस्तै समस्या आयोगले व्यहोर्नुपर्‍यो। वि. सं.२०६८ जनगणना अनुसार २ हजार ५६ रहेको जनाइएको छ । ‘दुरा भाषा बोल्ने एक/दुई जना वक्ता पाउन गाह्रो भयो ’ आयोग उपसचिव गौतमले भने ।

त्रिवि केन्द्रीय भाषा विज्ञान प्रमुख डा. बलराम प्रसाइँ

थोरै वक्ता भएका मातृभाषामा भाषिक परिवारमा परेका शब्द पाउन निकै कठिन हुँदा आयोगले निकै मिहिनेत गरेर शब्दकोष तयार गरेको हो ।

‘प्रयोग गदै आएका शब्द खोजी गरी समुदायको संग्लनतामा बैज्ञानिक हिसावले शब्दकोष निर्माण गर्ने आयोगको प्रयास हो’, अध्यक्ष अवस्थीले भने ।

‘यो काम एक पटक गरेर पूर्ण हुँदैन । समुदायलाई उत्प्रेरित गर्ने र संलग्न बनाउने जिम्मेवारी दिने त्यसको स्वामित्व पनि उनीहरुले नै लिने गरी आयोगले काम गरेको हो’, डा. अवस्थीले थपे ।

संकटमा परिसकेका अन्य भाषालाई पनि यसरी नै शब्दकोष निर्माण गरि संवर्धनको प्रयास गरिने रणनीति आयोगले बनाएको उनले बताए ।

भाषासँग हिड्नका लागि बाटो शब्दकोषले तय गर्दछ । ‘मौलिक र स्तरीकरण लवज र लोकले प्रयोग गरेका शब्द समयमै शब्दकोषमा समेट्न सक्यो भने भाषालाई जिवन्तता दिन सकिन्छ,’ अध्यक्ष अवस्थीले भने ।

शब्दले भाषालाई स्तरीकरण गर्दछ । प्रयोग र उच्चारणमा एक रुपता कामय गर्न शब्दकोषको मुख्य भूमिका रहन्छ । भाषा जहाँ लेखेपनि शब्दलाई त्यही रुपमा लेख्न, बोल्न, बुझ्नको निम्ति उपलब्धि शब्दकोषले मात्रै दिन्छ ।

फरक– फरक ठाउँमा बसोबास गर्ने उही समुदाय वा जातिले फरक – फरक समयमा उही भाषा बोल्छन् । शब्दकोष एउटा मानक हो । सही उच्चारण लेखन, वाक्य निर्माण व्याकरणको प्रयोगमा मानक मानिन्छ । तर भाषा जोगाउन वक्ता विना सम्भव देखिन्न ।

नेपाली शब्दकोष इतिहास त्यति लामो छैन । नेपाली भाषा लेख्य भाषाको रुपमा देखा पर्न थालेको एक हजार बर्ष भएको छ । यसमा सबभन्दा पहिले साहित्य, व्याकरण र त्यस पछि मात्र शब्द कोषको निर्माण भएको हो । आधा शताब्दी अधि टर्नरको नेपाली शब्दकोष प्रकासित भएको हो ।

‘भाषालाई जिवन्तता दिन मानक एउटा पाटो हो त्यो शब्दकोषले दिन्छ । यसले भाषिक द्धिविधता हटाउँछ । समयमै अभिलेख गरिएन भने अन्य भाषाको चापले प्रचलित शब्दलाई विस्थापित गर्दछ । वक्ता बढाउन र फैलाउन शब्दकोष मूल स्रोत भएकोले क्रमश बढाउँदै लैजाने गरी काम गर्नु पर्छ,’ अध्यक्ष अवस्थीले भने।

शब्दकोषपछि भाषिक कक्षा

केही वक्ता समेत रहेका भाषामा शब्दकोष पनि उपलब्ध भएपछि भाषा आयोगले भाषाको विस्तार गर्न भाषिक कक्षा सञ्चालन पनि गर्यो । त्यो प्रभावकारी पनि देखिएको छ । कुसुण्डा, बराम र तिलुङ भाषाका कक्षा आयोगको समन्वयमा सञ्चालन भएको हो । शब्दकोष बनेपछि बराम भाषाको कक्षा गोरखाको डाँडागाउँमा सञ्चालन गरिएको थियो । २५ देखि ३० जनाले बराम भाषाको कक्षा पढ्ने अवसर पाए । समुदायलाई उत्पेरित गरेमा शब्दकोषले पनि भाषा विस्तार गर्न सजिलो हुने देखिएको बराम भाषाको कक्षा सञ्चालनमा अगुवाइ गरेका केन्द्रिय भाषा विज्ञान विभागका प्रमुख डा. बलराम प्रसाइँले बताए । ‘भाषा बचाउनका लागि समुदायकै नेतृत्व मुख्य कुरा हुने रहेछ ।’ उनले भने । भाषा आयोगको पहलमा तिलुङ र कुसुण्डा भाषाको पनि कक्षा चलेको थियो । कोभिडको कहरपछि ती कक्षाले निरन्तरता पाउन नसकेको आयोगको भनाइ छ ।

यसरी अन्यत्र पनि स्थानिय तहले पनि चासो लिऊन् भनेर स्रोत समाग्री तयार गरिदिन लागेका हौ । भाषाको विस्तार गर्न स्थानीय तहले पनि पहल गर्नुपर्छ । आयोगका अध्यक्ष अवस्थीले भने ।

विद्यालयमा मातृभाषाबाट पठनपाठन गराउन र भाषिक कक्षा सञ्चालन गर्न पनि शब्दकोष महत्वपूर्ण हुन्छ । प्रविधिसंगै लगे मात्रै शब्दकोषको प्रयोग र उपयोगिता बढाउन सकिन्छ । त्यही भएर संकलन गरेका २८ भाषाका शब्दकोषहरुलाई बहुभाषिक भाषाकोशमा विद्युतीय प्रविष्टि गरिएको आयोगले जानकारी दिएको छ ।
‘बनेका शब्दकोषको समाज र सम्बन्धित समुदायको चलनचल्तीमा र प्रयोग कसरी ल्याउने भन्ने अभ्यास र त्यस खालका गतिविधिमा विशेष जोड दिनु पर्ने अहिलेको तड्कारो आवश्यकता भएको छ ।’ आयोगका सूचना अधिकारी तथा भाषाशास्त्री डा. लोक बहादुर लोप्चनले भने ।

स्थानीय तहमा कक्षा ८ सम्म मातृभाषाका माध्यमबाट शिक्षण गराउन सकेमा मातृभाषा संरक्षणमा सघाउ पुग्ने भाषाशास्त्रीहरुको ठम्याइँ छ । विद्यालयमा सम्बन्धित भाषाको जानकार शिक्षक अहिले मुख्य चुनौती देख्रिएको छ । ‘कक्षा ८ सम्म मातृभाषामा शिक्षा दिएमा बालबालिका सम्बन्धित मातृभाषा बोल्न सक्छन् । मातृभाषा शिक्षाका लागि केही स्थानिय तह जागरुक भएपनि अधिकाँशले झमेलाका रुपमा लिएका छन् । भाषिक नीति त बनेको छ । तर कार्यान्वयनमा भने चासो देखिन्न ।’ भाषाशास्त्री डा. बलराम प्रसाइँले भने ।

जेठ ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्