सम्पादकीय

‘शपथ’को अवमूल्यन

शुक्रबार तेस्रोपल्ट प्रधानमन्त्रीका रुपमा राष्ट्रपति समक्ष ‘शपथ’ लिँदा केपी ओलीको व्यवहारले सर्वत्र आलोचना आकर्षित गरेको छ। ‘शपथ’को परम्परा र शैलीलाई अहंकारपूर्ण तरिकाले उनले उपेक्षा गरेका छन् भने सार्वजनिक रुपमा राष्ट्राध्यक्षको हैसियतलाई पनि उनले अवमूल्यन गरेका छन्।

शपथका केही शब्दहरु राष्ट्रपतिपछि उनले नदोहोर्‍याउँदा त्यसलाई दोहोर्‍याउन राष्ट्रपतिले अवसर दिइन्, तर ‘त्यो पर्दैन’ भनेर ओलीले राष्ट्रपतिको अवज्ञा गरे। सार्वजनिक थलो र ‘लाइभ’ टेलिकास्ट त्यो राजकीय समारोहपछि राष्ट्राध्यक्षको हैसियत विवादस्पद र अपमानजनक बन्न पुगेको छ, आम नेपालीको नजरमा।

ओलीलाई पुनः शपथ दिलाउनुपर्ने माग अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। तर ओलीको आचरण र प्रदर्शित व्यवहारले उक्त विषयले प्रधानमन्त्रीको राजनैतिक, संवैधानिक र नैतिक हैसियतमा प्रश्न उठाएको छ।

जनता जनार्दन मानिने मान्यता बोकेको समाज र मुलुकमा उनीहरुप्रतिको बफादारीको शपथ लिनै पर्छ। प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ अभिव्यक्ति र त्यसले उनी तथा राष्ट्रपतिबारे निर्माण भएको भ्रम मेटाउन उनले क्षमायाचनाका साथ ताजा शपथ लिनै पर्छ।

संसदको विश्वास गुमाएको चौथो दिनमा प्रधानमन्त्री पदमा राष्ट्रपतिद्वारा पुनः नियुक्ति पाउने ‘भाग्यमानी’ व्यक्ति विरलै होलान् विश्व इतिहासमा, अझ लोकतान्त्रिक व्यवस्थामा। तर प्रधानमन्त्री र राष्ट्रपतिबीचको सम्बन्धलाई संविधान, असल परम्परा र पूर्व दृष्टान्त तथा असल नियतले निर्देशित गर्नुपर्छ र त्यसमा परस्पर सम्मानको पर्याप्तता देखिनुपर्छ। शुक्रबारको समारोहबाट ठीक त्यस विपरीतको सन्देश प्रवाह भएको छ।

‘शपथ’ले संवैधानिक र कानुनी तथा परम्परागत अनुमोदन पाउनका साथै कुनैपनि संवैधानिक तथा राजकीय जिम्मेवारी बहन गर्नुपूर्व त्यसको अनिवार्यताको व्यवस्था गरिएको छ। हो, हरेक राजकीय ‘शपथ’का अर्थ र भाषा मूलतः प्रचलित र धर्मसँग, त्यसको मान्यतासँग जोडिएका छन्।

इसाई, इस्लाम, हिन्दु सबै धर्म अनुरुप तिनीहरुको वर्चस्व रहेका मुलुक तथा राजनीतिक व्यवस्थामा तदनुरुप नै शपथका भाषा र सन्देशलाई सहमतिद्वारा दस्तावेजीकरण गरिएको हुन्छ। त्योअनुरुप ‘शपथ’ नखाई ‘जनताप्रति बफादार’को अंशलाई ‘त्यो पर्दैन’ भनेर राष्ट्रपतिले बोलेको भाषा नदोहोर्‍याउने वैधानिक र नैतिक हैसियत प्रधानमन्त्रीसँग हुँदैन।

सन् २००९ जनवरी २० मा अमेरिकामा नवनिर्वाचित राष्ट्रपति बाराक ओबामाले शपल लिँदा भएको त्रुटिलाई सच्याउँदै पुनः शपथ लिएर स्थापित गरेको असल परम्पराबाट ओली प्रेरित किन हुन सक्तैनन्?

जनता जनार्दन मानिने मान्यता बोकेको समाज र मुलुकमा उनीहरुप्रतिको बफादारीको शपथ लिनै पर्छ। प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ अभिव्यक्ति र त्यसले उनी तथा राष्ट्रपतिबारे निर्माण भएको भ्रम मेटाउन उनले क्षमायाचनाका साथ ताजा शपथ लिनै पर्छ।

जेठ ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्