आइसाेलेशनमा ‘जुम्बा’ ब्रेक, बच्चा देखि ७० वर्षकी आमालाई नाच्न सिकाउँदै सिर्जना

भक्तपुर – मध्यपुर ठीमी बोडेको कृषि विकास तालिम केन्द्रमा एका बिहानै म्यूजिक बज्छ। मुखमा मास्क लगाएर फरक फरक उमेर समूहका मानिसहरु भवनको खुल्ला चउरमा भेला हुन्छन्। उनीहरुको मुखमा मास्क हुन्छ, एक अर्कोबिचमा दूरी कायम गर्छन् अनि कम्मर मर्काउन थाल्छन्।

गएको ९ दिनदेखि सुनसान आइशोलेशन सेन्टरमा बिहान एकछिन् हल्ला खल्ला हुन्छ अनि हाँसो गुञ्जिन्छ । स्पीकरको ठूलो आवाजसँगै हा हु गर्छन् यहाँ कोरोना निको पार्न आएका व्यक्तिहरु। उनीहरुलाई हात खुट्टा उचाल्न र कम्मर मर्काउन प्रेरित गर्छिन्, सिर्जना थापा केसी।

चौर भन्दा ३-४ सिँढी माथि उभिएर उनी नाचका स्टेप गरेर देखाउँछिन्, चउरमा उभिनेहरु उनलाई हेरी नक्कल गर्न खोज्छन्। केहीले उस्तै गरेजस्तो गर्छन्, केहीको मिल्दैन तर पनि गर्न छोड्दैनन्। किनकी एक ठाउँमा थपक्क बसेको भन्दा जानी नजानी हल्लिँदा मन अनि दिमाग दुवैलाई आनन्द मिल्छ। कोरोना भन्दा मन पर पुग्छ।

सिर्जना थापा केसी जुम्बा प्रशिक्षक हुन्। १ वर्ष सिकेर ३ वर्षदेखि काठमाडौँ, भक्तपुरको विभिन्न ठाउँमा सिकाउँदै आएकी छन्। दिउँसो एडभान्स एकेडेमीमा प्रि–प्राइमरी तहसम्म पढाउने उनी बिहान बेलुकाको समय जुम्मा सिकाउने गर्थिन्। कोरोना महामारीले लकडाउन भएपछि यो सबै बन्द भएको थियो। अहिले फेरि अवसर जुरेको छ।

पहिलो चरणको महामारीमा बचेको उनको परिवार दोस्रो लहरमा जोगिन सकेन। सिर्जनाका देवर प्रज्वल केसी मार्केटिङ्गको काम गर्छन्। सासु ससुरा, देवर, श्रीमान र दुई सन्तानसहितको ठूलो परिवारमा देवरबाट सासु, ससुरा अनि सिर्जनालाई कोरोना भाइरस संक्रमण भयो। यी चार जना घरमा भएका अन्य ३ लाई संक्रमण नहोस् भनेर ठिमीको आइशोलेशन सेन्टरमा बस्न गए।

सिर्जनाका देवर र सासु २ दिन अगाडि आइशोलेशन सेन्टरमा आएका थिए। अनि ससुरा उनी पनि त्यहाँ पुगे।

ज्वरोले उनलाई फतक्कै गालेको थियो। ज्यानलाई गारो गरी चलाउनपर्थ्याे । आइशोलेशन सेन्टरमा उनी जस्तै संक्रमित ६० जना भन्दा धेरै थिए। १२ वर्षदेखि ७० वर्षका आमा पनि थिए। सबैलाई हेर्थिन्, बोलचाल खासै हुन्थेन।

उनी आएकै दिन आइशोलेशन सेन्टरका इन्चार्ज तुलसी ताको लागायत स्वयं सेवकहरुले उनलाई जुम्बा सिकाउन आग्रह गरे। उनका देवरले पनि त्यहाँ कुरा गरिसकेका रहेछन् त्यसैले उनलाई हौस्याउन थाले।

‘म पहिलो चरणको कोरोना भाइरस महामारीमा पनि यहाँ केही समयका लागि जुम्बा सिकाउन आएको थिए। उहाँहरुले मलाई चिन्नुहुन्थ्यो अनि आग्रह गर्नुभयो।’ थापाले भनिन्, ‘तर ज्यान गलेकोले २ दिनपछि मात्र सिकाउन सके। पहिलो दिन ज्यान गल्यो। दोस्रो दिनबाट सजिलो हुन थाल्यो।’

उनले सामान्यबाट अलि विस्तृत नाच सिकाउन थालिन्, अनि त्यहाँ भएका धेरै उनलाई पच्छाउन थाले। कतिपयले जीवनमा नाँचेका थिएनन्, नाँचे। ‘मेलै मेरो सासु आमालाई पनि कहिले नाँचेको देखेको थिइन, अनि आइशोलेशन सेन्टरकै ७० वर्षे आमा म सँग सँगै नाँच्नुभयो।’ सिर्जनाले भनिन्, ‘माहोल रमाइलो बन्यो, मुड पनि दिनभर फ्रेस भयो।’

घरमा एक साता सुतेर उनि आइशोलेशन सेन्टर गएकी थिइन्। कोठामा बस्दा बस्दा मन पनि नरमाइलो भएको थियो। आइशोलेशन सेन्टरमा खुल्ला ठाउँमा बस्दा उनलाई राम्रो अनुभव भयो त्यसपछि उनले नाच्ने, नचाउने काम सुरु गरिन्।

उनलाई सासु र देवर साथ नाचेको झनै देखेर पनि खुशी लागेको छ। ‘मेरो विवाह गरेको १५ वर्ष भयो, मैले सासूलाई नाचेको देखेकै थिइन। बाबु पनि सँगै नाच्नु भयो।’ सिर्जना खुसि भएर भन्छिन्, ‘मलाई त केही सिकेको रहेछु र सिकाउन पाए जस्तो लाग्यो। जाने पनि नजाने पनि साथ दिनुभयो। अनि उहाँहरु धेरै खुशी हुनुभयो ।’ यति भन्दा उनको अनुहार झनै उज्यालिन्छ।

उनीहरु डिस्चार्ज भएर जाँदा पनि सिर्जनालाई ‘तिमीलाई बिर्सन सक्दिन’ भनेर गए। आइशोलेशन सेन्टरमा एउटा कोठामा दुईवटा बेड छ। देवर प्रज्वल केसी व्यायाम गर्ने भएपनि नाच्ने गरेका थिएनन्। उनलाई जुम्बा गर्दा फ्रेस अुनभव भयो।

‘मान्छेको बिहानी राम्ररी सुरु भयो भने दिन पनि राम्रो हुन्छ भन्छन्। हौसला बढाउनको लागि पनि यो आवश्यक लाग्यो।’ केसी भन्छन्, ‘खुशी हुनु ठूलो कुरा रहेछ। म गितार बजाउँछु, गितार बजाउँदा अरु पनि डिस्ट्यान्स मेन्टेन गरेर गीत गाउनुहुन्थ्यो। रमाइलो भयो।’ प्रज्वलका अनुसार नाचेर मात्र हुँदैन, खाना पनि राम्ररी खानुपर्छ।

प्रज्वललाई भाउजु र बाबा २ दिनपछि आइशोलेशन सेन्टरमा आएपछि रमाइलो लाग्यो। नाच्न थालेपछि झन् राम्रो अनुभव भयो। उनले खाना पनि राम्ररी खाइरहे । त्यसैले निको भएर मंगलबार घर गए।

उनले यो समयमा अर्को कुरा पनि बुझे, मोबाइलमा व्यस्त हुनु भन्दा नाच्ने, गाउने, प्रत्यक्ष कुराकानी गर्नाले आफ्नो शरीरलाई फाइदा हुने रहेछ। उनी भन्छन्, ‘यहाँ आएपछि मैले मोबाइल धेरै चलाइन, मलाई तनाव पनि कम भएको छ।’ वरपर भएका मानिसहरुसँग व्यस्त हुँदा मोबाइल चलाउन स्मरण पनि भएन।

सिर्जना पनि परिवार र आफू निको हुन लागेकोमा खुशी छन्। यो समयमा उनले बुझिन्, , निको हुनको लागि शरीरलाई पौष्टिक आहार पुग्ने खानाका साथै, मन पनि राम्रो हुने वातावरण हुनुपर्छ। ‘सबैले जुम्बा नै गर्नुपर्छ भन्ने छैन, जे कुरामा चाख लाग्छ त्यही गर्ने हो।’ सिर्जना भन्छिन्, ‘म त नाँच्न पाउँदा खुशी हुने मान्छे, झन् अरुलाई सिकाउन पाएर निकै खुशी छु।’

जेठ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्